• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बिस्तारै मर्दै छ पृथ्वीको फोक्सो मानिने अमेजन : विश्वको लागि खतराको घण्टी

ब्राजिलको उत्तरी सहर बेमेलमा यस वर्षको संयुक्त राष्ट्र जलवायु सम्मेलन (COP30) भइरहेको छ। बेलेमलाई प्रायः विश्वकै सबैभन्दा ठुलो वर्षावन ‘अमेजन’ को प्रवेशद्वार मानिन्छ।

दस वर्षअघि पेरिसमा भएको ऐतिहासिक जलवायु सम्मेलनपछि देशहरू फेरि एक ठाउँमा भेला हुँदै छन्। त्यो सम्मेलनको उद्देश्य पृथ्वीलाई तातो बनाउने ग्यासहरूको उत्सर्जनलाई सुरक्षित सीमामा रोक्नु थियो। तर अहिले पनि उत्सर्जन कम हुनुको सट्टा बढ्दै गएको छ।

यही कारण अमेजन जङ्गल, जसले प्राकृतिक रूपमा ठुलो मात्रामा कार्बन डाइअक्साइड सोस्छ, अब जलवायु सङ्कट नियन्त्रणका उपायहरूमा सबैभन्दा महत्त्वपूर्ण बनिरहेको छ।

तर वैज्ञानिकहरू चेतावनी दिन्छन् कि दशकौँदेखि भइरहेको वन विनाश र अहिलेका जलवायु प्रभावका कारण अमेजनको भविष्य नै अनिश्चित बनेको छ। पारा राज्य, जहाँ बेलेम पर्छ, पूरै अमेजन क्षेत्रमा सबैभन्दा धेरै वन विनाश भएको ठाउँ हो।

ब्राजिलसँग अमेजनको लगभग ६० प्रतिशत भूभाग छ। ब्राजिलको भनाइ अनुसार, ऊ वर्षावनहरूको दिगो सुरक्षा गर्न नयाँ वैश्विक सम्झौता ल्याउन प्रयासरत छ।

अमेजन क्षेत्रमा रहेको बस्ती

दुर्लभ प्रजातिको आश्रय

अमेजन, केवल जङ्गल मात्र नभएर दलदल, घाँसे मैदान, धेरै थरीका  प्रणालीहरू मिलेर बनेको विशाल क्षेत्र हो। दक्षिण अमेरिकाका ६.७ मिलियन वर्ग किलोमिटर भूभागमा फैलिएको यो क्षेत्र भारतभन्दा झन्डै दुई गुणा ठुलो छ। पृथ्वीका सबैभन्दा समृद्ध र जैविक विविधता भएको क्षेत्रमा अमेजन अग्रस्थानमा पर्छ।

यहाँ पाइने प्रमुख प्रजातिहरू

कम्तीमा ४०,००० वनस्पति प्रजाति, ४२७ स्तनधारी, १,३०० भन्दा बढी चराचुरुङ्गी, ३७८ प्रजाति सर्प र सरीसृप, ४०० भन्दा बढी उभयचर, लगभग ३,००० प्रकारका मिष्ठान्न पानीका माछा(जसमध्ये २०० किलोसम्म तौलको विशाल अरापाइमा पनि) । यीमध्ये धेरै प्रजातिहरू संसारमा अरू कतै पाइँदैनन्। यस क्षेत्रमा सयौँ आदिवासी समुदाय बसोबास गर्छन्।

विश्वकै सबैभन्दा ठुलो नदी–प्रणाली

अमेजन विश्वकै सबैभन्दा ठुलो नदी हो। यसका १,१०० भन्दा बढी सहायक नदीहरू छन्, जसले पृथ्वीमा सबैभन्दा धेरै मिष्ठान्न पानी बोकेको प्रणाली बनाउँछ। यो विशाल पानी अटलान्टिक महासागरमा मिसिन्छ र समुद्री धाराहरू नियमन गर्न मद्दत गर्छ।

तर अमेजनका केही भागमा अत्यधिक वन कटान र भूमि क्षरणका कारण अब यस्तो अवस्थामा पुगेको छ कि जङ्गलले सोस्नेभन्दा बढी कार्बन बाहिर निकाल्न थालेको पाइन्छ।

अमेजन

के भइरहेको छ अमेजनमा ? जङ्गलको सन्तुलन भत्किँदै !

तापक्रम बढ्दै जानु र लामो समयसम्मको खडेरीले अमेजनको प्राकृतिक चक्रलाई गम्भीर रूपमा बिगारेको छ। पहिले वर्षैभरि भिजेको रहने यो जङ्गल अहिले सुख्खा हुँदै गएको छ, जसले गर्दा जङ्गलमा आगलागी झनै तीव्र र सामान्य बन्दै गएको छ।

ब्राजिलको अन्तरिक्ष संस्था आईएनपीई (INPE) का अनुसार सेप्टेम्बर, २०२४ मा अमेजनमा ४१,४६३ स्थानमा आगलागीका हटस्पट दर्ता भए। यो  २०१० पछिको सबैभन्दा ठुलो सङ्ख्या हो।

अमेरिकाको येल विश्वविद्यालयका विशेषज्ञ पाउलो ब्रान्डो भन्छन्, “सुख्खा र आगलागी बढ्दै जाँदा अमेजनको धेरै क्षेत्रमा क्षरणको खतरामा छ।”

सुकेको नदीमाथि उभिएकी एक महिला

“फ्लाइङ रिभर्स” को विघटन सबैभन्दा ठुलो समस्या

अमेजनको मौसम प्रणाली आफ्नै प्रकारको छ। अटलान्टिक महासागरबाट आउने नमी (चिस्यान) अमेजनका जङ्गलले सोस्छन् र फेरि बाफका रूपमा आकाशमा पठाउँछन्। यही चक्रलाई ‘फ्लाइङ रिभर्स’ अथार्त आकाशमा बग्ने पानीका नदीहरू भनिन्छ।

पहिले यस्ता नदीहरूले अमेजनका पूर्वी भागमा वर्षा गर्थे, अनि बाफ बनेर पश्चिमतिर घुमेर फेरि वर्षा गर्थे। यसरी अमेजनले आफूसँगै आफ्नै वर्षा बनाइरहेको थियो।

तर अहिले जङ्गल काटियो, भूमि उजाड बनाइयो। त्यसले त्यस्तो चिस्यान पुनः आकाशमा पठाउने क्षमता हराउँदै गएको छ। फलस्वरूप, फ्लाइङ रिभर्सको चक्र बिग्रिएको छ। यसको सबैभन्दा ठुलो असर पश्चिमी अमेजन, दक्षिणी पेरु र उत्तरी बोलिभियामा देखिएको छ।

यति मात्र होइन, सुख्खा महिनाहरूमा (जुनदेखि नोभेम्बरसम्म) यसले गम्भीर सङ्कटको रूप लिन्छ।

निर्णायक मोड: अमेजन कहिल्यै पुनर्जीवित नहुने अवस्थामा ?

पहिले अमेजन आगो–प्रतिरोधी थियो। तर वर्षा घटेपछि र सुख्खा मौसम बढेपछि यो क्षमता क्षीण हुँदै गएको छ। केही वैज्ञानिकहरू भन्छन्—वर्षावन “टिपिङ प्वाइन्ट” मा पुगेको छ। अर्थात्, एक पटक यी जङ्गल ढल्यो भने फेरि कहिल्यै फर्केर आउँदैन।

पानीको अभाव, नदीहरू ऐतिहासिक रूपमा सुक्दै

अमेजन बेसिनमा पछिल्ला वर्षहरूमा नदीको जल स्तर ऐतिहासिक रूपमा तल झरेको छ। २०२३ मा ४५ वर्षकै सबैभन्दा ठुलो खडेरी परेको थियो।

यसमा ‘एल निन्यो’ (पूर्वी प्रशान्तमा समुद्रको तापक्रम बढेपछि वर्षाचक्र बिग्रने प्राकृतिक प्रक्रिया) को पनि हात थियो।

अवैध उत्खनन- जङ्गल र नदीका लागि दोहोरो प्रहार

पहिले नै जलवायु सङ्कटले थिचिरहेको अमेजन अहिले अवैध उत्खननको डरलाग्दो दबाबमा छ। विशेष गरी सुन उत्खनन । यसले नदीमा पारा मिसाउँछ, माटो प्रदूषित बनाउँछ, रुख बिरुवालाई मार्छ अनि जनावर र मानिस तुरुन्तै प्रभावित हुन्छन्।

आपराधिक समूह, तस्करी र अवैध खनिज कारोबारले प्रशासनका लागि नियन्त्रण झनै असम्भव बनाएको छ। २०२२–२०२४ बिच ५.३ अर्ब ब्यारेल बराबरको नयाँ तेल भण्डार भेटिएको अनुमान छ। यसले यो क्षेत्रलाई जीवाश्म इन्धन उद्योगको नयाँ आकर्षण बनाइरहेको छ। यसले १०,००० भन्दा बढी प्रजाति विलुप्त हुने जोखिममा परेको रिपोर्टहरूले चेतावनी दिइसकेका छन्।

अमेजन किन विश्वका लागि अनिवार्य छ ?

अमेजन अहिले पनि विशाल ‘कार्बन सिङ्क’ हो। २०२२ सम्म ७१.५ अर्ब मेट्रिक टन कार्बन यसले थामेर राखेको थियो।

यदि अमेजन नष्ट भयो भने पृथ्वी केही वर्षमै अत्यधिक तातो हुनेछ। कार्बन सोस्ने क्षमता हराउँछ। तातो बढाउने ग्यास झनै बढ्ने छ। अटलान्टिक महासागरका धाराहरू बिग्रनेछन्। विश्वभर वर्षाचक्रमा प्रभाव पर्नेछ।

ब्राजिली वन विज्ञ टासो अजेभेदोका अनुसार, “अमेजन पृथ्वीको ठुला प्राकृतिक एसी मध्ये एक हो।”

-बीबीसी हिन्दीबाट