काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईँले भएकै भिडिओ सार्वजनिक गरेको दाबी गर्दै तत्काल छाड्न माग गरेका छन् । बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उनले सरकारसँग दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन ? भनेर प्रश्न गर्दै जवाफ माग गरे ।
उनले भने, ‘दुर्गा प्रसाईँले दिउँसो भिडिओ सार्वजनिक गरे, राति पक्राउ गर्यो। म सोध्न चाहन्छु यो सरकारसँग त्यस भिडिओको जवाफ छ कि छैन ? दुर्गा प्रसाईँलाई दिने जवाफ प्रधानमन्त्रीसँग छ कि छैन ? गृहमन्त्रीसँग छ कि छैन?यतिकै पुलिस पठाएर समातेर समस्याको समाधान हुन्छ ? दुर्गा प्रसाईँले सोध्दैनन् होलान् त्यसको जवाफ, अरूले त देशभरीका जनताले दुनियाँले सोध्छन् नि। के हो त्यो एआई त होइन होला ?भएकै भिडियो त देखाएको हो ला नि । मुख बन्द गराएर गिरफ्तार गरेर समस्याको समाधान खोज्ने ? म सरकारलाई भन्छु दुर्गा प्रसाईँलाई तुरुन्तै छोड्नु ।’
त्यस्तै उनले मानवअधिकार आयोगले बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघन हो भनिसक्दापनि दुर्गा प्रसाईँलाई नछोडेकोप्रति असन्तुष्टि व्यक्त गरे । ‘मानवअधिकार आयोगले भनिसकेको छ, बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघन हो भनेर, सरकारलाई मानव अधिकारको उल्लंघन गर्ने अधिकार छैन भनेर आयोगले भनिसक्यो बुझ्नुपर्छ सरकारले’ उनले भने ।
त्यस्तै उनले ओलीले सरकारले आफ्नो पार्टीलाई सभा, सम्मेलन गर्न नदिएको भन्दै आक्रोश पोखेका छन् । बाराको सिमरा एयरपोर्टमा पार्टीका महासचिव शङ्कर पोखरेल लगायतका नेताहरूलाई युवा भेलामा जानबाट रोकेको घटनालाई लिएर आक्रोश व्यक्त गरेका हुन् ।
उनले भने, बोल्न नदिने, सभा, सम्मेलन गर्न नदिने? सिमरा एयरपोर्ट नै बन्द भयो। गुण्डा भन्दा अलि शब्द नराम्रो होला । ५०/६० जना मान्छे आएर ढुङ्गामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने? अनि सरकार भन्छ चुनाव गर्ने रे। सभा गर्न नदिनेले चुनाव कसरी गर्छ?’