• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

लोमस र क्युरेक्सको ‘प्यारासिटामोल’ गुणस्तरहीन, फिर्ता गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा गुणस्तरहीन भेटिएका दुई नेपाली कम्पनीद्वारा उत्पादित प्यारासिटामोल (सिटामोल) ट्याब्लेटको बिक्री वितरणमा रोक लगाएको छ। विभागले छुट्टाछुट्टै सूचना जारी गर्दै ती औषधिको विशिष्ट ब्याचहरू बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको हो।

विभागका अनुसार राष्ट्रिय औषधि प्रयोगशालामा नमुना परीक्षण गर्दा लोमस फर्मास्युटिकल्स र क्युरेक्स फर्मास्युटिकल्स द्वारा उत्पादित सिटामोलका ट्याब्लेटहरू तोकिएको मापदण्ड अनुसार नभएको पाइएको हो ।

बिक्री वितरणमा रोक लगाइएका औषधिहरू:

१. ब्रान्डको नाम: सेटोफेन (CETOPHEN) – ५०० एमजी
उत्पादक: लोमस फर्मास्युटिकल्स प्रा. लि., काठमाडौँ
ब्याच नम्बर: CT-2723
उत्पादन मिति: जुन २०२३
म्याद सकिने मिति: मे २०२६

२. ब्रान्डको नाम: रेक्सामोल (REXAMOL) – ५०० एमजी
उत्पादक: क्युरेक्स फर्मास्युटिकल्स प्रा. लि., बनेपा, काभ्रे
ब्याच नम्बर: TRX-695
उत्पादन मिति: नोभेम्बर २०२४
म्याद सकिने मिति: अक्टोबर २०२६

सम्बन्धित ब्याचको औषधिको म्याद सकिने मिति २०२६ मे र अक्टोबर रहेको छ । अर्थात्, म्याद गुज्रन अब करिब ६ महिना र वर्षदिन मात्र बाँकी छ तर यो औषधि बजारमा करिब डेढ–दुई वर्षदेखि निर्वाध बिक्री–वितरण भइरहेको थियो ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम विभागले यी ब्याचका औषधिहरूको बिक्री वितरण रोक्का गरेको छ। विभागले सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई बजारमा रहेका उक्त ब्याचका औषधि तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न निर्देशन दिएको छ।

साथै, विभागले फार्मेसी, अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई उक्त ब्याच नम्बरका औषधिहरू सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन समेत आग्रह गरेको छ। उपभोक्ताहरूलाई पनि औषधि खरिद गर्दा ब्याच नम्बर हेरेर मात्र खरिद गर्न सचेत गराइएको छ।