Category: खेल

खेल

  • लिओनल मेस्सी डिसेम्बरमा भारत आउने, मोदीलाई भेट्ने

    लिओनल मेस्सी डिसेम्बरमा भारत आउने, मोदीलाई भेट्ने

    अर्जेन्टिनी फुटबल महानायक लिओनल मेस्सी सन् २०११ पछि पहिलो पटक भारत भ्रमणमा आउन लागेका छन्। ‘GOAT Tour of India 2025’ अन्तर्गत उनको भ्रमण डिसेम्बर १२ मा कोलकाताबाट सुरु हुनेछ।

    मेस्सीको यस ऐतिहासिक भ्रमणमा उनी कोलकाता, अहमदाबाद, मुम्बई र नयाँ दिल्ली पुग्ने कार्यक्रम छ। भ्रमणको क्रममा उनले फुटबलप्रति बालबालिकाको रुचि बढाउने उद्देश्यले फुटबल मास्टरक्लास दिने योजना बनाएका छन्।

    कोलकाता अवतरणको दिन अर्थात् डिसेम्बर १२ को राति मेस्सी त्यहाँ पुग्ने छन् र दुई दिन बस्नेछन्। त्यहाँ उनलाई सम्मानस्वरूप प्रतिमा अनावरण, विशाल भित्तेचित्रको लोकार्पण, GOAT Concert, र GOAT Cup नामक सात–साइडेड फुटबल प्रतियोगिता आयोजना गरिनेछ।

    कोलकातापछि मेस्सी अहमदाबाद पुग्नेछन्, जहाँ अडानी फाउन्डेसनको कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि मुम्बईमा डिसेम्बर १४ मा वानखेडे स्टेडियममा पुनः GOAT Concert र GOAT Cup आयोजना हुनेछ। त्यहाँ उनले बलिउड तथा खेल क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूसँग प्याडल टेनिस समेत खेल्ने कार्यक्रम छ।

    भ्रमणको अन्तिम दिन डिसेम्बर १५ मा मेस्सी नयाँ दिल्ली पुग्नेछन्, जहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

    यस भ्रमणलाई भारतमा फुटबलको प्रचार–प्रसारका हिसाबले महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।

  • नेपाल र बंगलादेश ‘ए’ बीचको खेल आज

    नेपाल र बंगलादेश ‘ए’ बीचको खेल आज

    नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज बंगलादेश ‘ए’ टोली विरुद्धको खेल खेल्दैछ। टप एन्ड टी२० सिरिज अन्तर्गतको यो खेल आज डार्विन, अष्ट्रेलियामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

    नेपालले अघिल्लो खेलमा हार बेहोरेपनि आजको खेलमा जित निकाल्दै आत्मविश्वास बढाउने लक्ष्य लिएको छ।

  • डि’आर्सी सर्टको अर्धशतक, नर्दर्न टेरिटोरी स्ट्राइकले दियो नेपाललाई १७८ रनको लक्ष्य

    डि’आर्सी सर्टको अर्धशतक, नर्दर्न टेरिटोरी स्ट्राइकले दियो नेपाललाई १७८ रनको लक्ष्य

    अष्ट्रेलियाको डार्विनमा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आजको खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकले नेपालविरुद्ध पहिलो ब्याटिङ गर्दै २० ओभरमा १७७ रन बनाएको छ। स्ट्राइकले ८ विकेटको क्षतिमा उक्त योगफल तयार पारेको हो।

    स्ट्राइकका कप्तान डि’आर्सी सर्टले ५१ रनको आकर्षक अर्धशतक प्रहार गरे। उनले ३४ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै थोमस एन्ड्र्युजले ३२ रन, जॉर्डन सिल्कले १९, कनर क्यारोलले १८, जेक वेदराल्डले ११, क्रिस्टोफर म्याकमाहोनले १२, र म्याट ह्यामण्डले ५ रनको योगदान दिए।

    नेपालले बलिङतर्फ ८ विकेट लिन सफल भयो। सन्दीप लामिछानेले सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। यस्तै शहाब आलमले २ विकेट, र रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी, तथा कप्तान रोहित पौडेलले समान १–१ विकेट हात पारे।

  • नासा सेक्युरिटिज र क्रिकेट संघबीच प्रायोजन सम्झौता

    नासा सेक्युरिटिज र क्रिकेट संघबीच प्रायोजन सम्झौता

    काठमाडौं । नासा सेक्युरिटिज र नेपाल क्रिकेट संघ (क्यान) बीच प्रायोजन सम्झौता भएको छ। आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

    ‘यस गतिशील सहकार्यमार्फत खेलाडी र लगानीकर्तालाई सशक्त बनाउँदै’ भन्ने नारासहितको यो साझेदारीले नेपाली क्रिकेट खेलाडी तथा लगानीकर्तालाई सशक्त बनाउने उद्देश्य राखेको छ। कार्यक्रमका क्रममा दुवै संस्थाका प्रतिनिधिहरूले यो सम्झौता खेलकुद र वित्तीय क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे।

  • उत्तर कोरियासँग ११ गोल खाएसँगै एसिया कपको दौडबाट बाहिरियो नेपाल

    उत्तर कोरियासँग ११ गोल खाएसँगै एसिया कपको दौडबाट बाहिरियो नेपाल

    काठमाडौँ । अन्तिम खेलमा उत्तर कोरियासँग ११-० गोलअन्तरले पराजित हुँदा नेपाल एएफसी यू-२० महिला एसियन कपमा छनोट हुन असफल भएको छ ।  भुटानमा जारी छनोटमा नेपाललाई ११-० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको हो ।

    समूह ‘ए’ बाट ९ अंक जोड्दै उत्तर कोरिया एसिया कपमा पुगेको हो । पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा थप ६ गोल गर्‍यो । खेलको तेस्रो मिनेटमा नै उत्तर कोरियाले पहिलो गोल गरेको थियो ।

    त्यसपछि १२औँ मिनेटमा दोस्रो, २४औँ मिनेटमा तेस्रो, ३७औँ मिनेटमा चौथो र ४१औँ मिनेटमा पाचौं गोल गर्‍यो । दोस्रो हाफमा ४८औँ, ५३औँ, ८८औँ, इन्जुरी समयको पहिलो, छैटौँ र अन्तिम मिनेटमा गोल गर्न सफल रह्यो । नेपालले पहिलो खेल भुटानसँग १–१ को बराबरी खेल्दा साउदी अरेबियालाई १-० ले पराजित गरेको थियो ।

  • फिफा वरियतामा नेपाली महिला टोलीको ऐतिहासिक उच्च स्थान

    फिफा वरियतामा नेपाली महिला टोलीको ऐतिहासिक उच्च स्थान

    काठमाडौं ।  विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाली महिला टोलीले छलाङ मारेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान छलाङ मारेको हो ।

    यसअघि एक सय औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा ८७औं स्थानमा उक्लिएको छ । १२४८.८९ अंक जोड्दै नेपाल ऐतिहासिक रुपमा हालसम्मकै उच्च वरियतामा उक्लिएको हो ।

    केही समयअघि भएको एएफसी छनोटमा लाओसलाई ९–०, श्रीलंकालाई ८–० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग निर्धारित समयमा ३–३ को बराबरी खेलेको थियो । टाइब्रेकरमा भने ४–२ ले पराजित भएको थियो ।

  • एपीएफ छाडेर भलिबल खेलाडी कविता भट्ट अष्ट्रेलिया प्रस्थान

    एपीएफ छाडेर भलिबल खेलाडी कविता भट्ट अष्ट्रेलिया प्रस्थान

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी खेलाडी कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छन् । एपीएफ क्लबबाट राजीनामा दिएर मिडल ब्लकर कविता अष्ट्रेलिया पलायन भएकी हुन् ।

    केही समयअघि मात्र स्पाइकर सरस्वती चौधरी एपीएफबाट राजीनामा दिँदै अष्ट्रेलिया पलायन भएकी थिइन् ।

    सहायक हवल्दार पदमा कार्यरत कविताले विदेश जाने भन्दै राजीनामा दिएकी हुन् ।

  • क्रिकेट कुटनीतिः नेपाल–भारत सम्बन्धको नयाँ आयाम

    क्रिकेट कुटनीतिः नेपाल–भारत सम्बन्धको नयाँ आयाम

    नेपाल–भारतबीचको सम्बन्ध बहुआयामिक छ । लोकतन्त्रप्रतिको गहिरो प्रतिवद्धता, सांस्कृति र भाषिक समानता, आर्थिक–व्यापारिक सहकार्य, धार्मिक, सीमा क्षेत्रमा खुला र सहज आवागमन, सीमा वारपार, रोजगारीको सहज सुविधा, पर्यटन प्रवद्र्धनमा परस्परको सहयोग लगायत धेरै धागाहरुले दुई सार्वभौभ देशलाई एकअर्कासँग जोड्छन् ।

    पछिल्ला वर्षहरुमा खेलकुद क्षेत्रले सम्बन्धलाई नयाँ उचाई दिएको छ । दुबै देशमा क्रिकेट सबैभन्दा रुचाइने खेल हो । १९८३ मा कपिल देवको कप्तानीमा एकदिवसिय क्रिकेट जितेयता नै विश्व क्रिकेटको शक्ति राष्ट्रका रुपमा भारत परिचित छ । त्यसयता, नै भारतीय टिमका हरेक खेलाडीहरुको खेल नेपालीहरुले नियाल्दै आएका छन् । सचिन तेन्दुलकर, राहुल द्रविड, महेन्द्र सिंह धोनी, विराट कोहलीलगायत भारतीय स्टारले नेपालका विभिन्न पुस्तामा अलग छाप छाड्ने गरेका छन् । पुराना र नयाँ पुस्ताबीच बहस नै चल्ने गर्छ : सचिन उत्कृष्ट कि विराट ।

    २००७ मा इन्डियन प्रिमियर लिग आईपिएल सुरु भएयता क्रिकेट खेलको राजधानी जस्तै बनेको छ , भारत । नेपालमा पनि पछिल्लो केही दशकयता क्रिकेटले उल्लेख्य प्रगति गरेको छ । सन् २०१४ टी–ट्वान्टी विश्वकप खेलेर नयाँ इतिहास रचेको नेपालले त्यसको चार वर्षभित्रै एकदिवसीय मान्यता पाएको थियो । सन् २०२४ मा फेरि एकपटक नेपालले टी–ट्वान्टी विश्वकपमा छनोट भएर आफ्नो प्रगति विश्वसामु प्रस्तुत गर्‍यो । नेपाली खेलाडीहरुको प्रदर्शन पनि वैश्विक जगत्मै सराहनीय छ । जस्तो, २०२४ मा कतारविरुद्ध टी २० अन्तर्राष्टिन्य खेलमा दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ वटा छक्का प्रहार गरेर नयाँ विश्वकिर्तिमान बनाए ।

    त्यस्तै नेपालले चीनमा भएको १९ औं एशियाली खेलकुदमा मंगोलियाविरुद्ध २ सय ७३ रनको विजय हासिल गर्दै टी–ट्वान्टी खेलमा फराकिलो अन्तरको जीतको रेकर्ड बनायो । नेपालका सन्दीप लामिछानेले आईपिएलमा चर्चित क्लबहरुबाट खेल्दै लोकप्रियता बनाएका छन् । अब हाम्रा खेलाडीलाई पनि भारतीय दर्शकले फलो गर्न थालेका छन् । यी सम्बन्धहरुले दुई देशका जनतालाई क्रिकेट खेलमार्फत थप प्रगाढ हुन प्रेरित गरिरहेको छ ।

    दशक लामो सहकार्य
    काठमाडौं स्थित भारतीय दुतावास विशेष आग्रहमा बीसीसीआईले नेपाली राष्ट्रिय क्रिकेट टोली (पुरुष) लाई अहिले भारतमा प्रशिक्षण दिईरहेको छ । यो प्रशिक्षण अभियान आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण सावित हुनेछ । यसअघि प्रशिक्षण शिविरका क्रममा महाराष्ट्रको बरोडा र गुजरात क्रिकेट संघसँग त्रिकोणात्मक अभ्यास शृंखलामा नेपाल सहभागी भइसकेको छ । यस्ता कदमहरूले नेपाललाई क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उकास्न ठूलो सहयोग गर्छन् ।

    भारतले छिमेक पहिलो नीतिअनुसार नेपालसँगको सम्बन्ध सुदृढ गर्ने दीर्घकालीन रणनीतिक पहल गरिरहेका बेला क्रिकेट खेलले पनि यसको लाभ उठाउनसक्छ । नेपालका विभिन्न क्रिकेट टोलीहरू—पुरुष, महिला तथा यू–१९—ले भारतीय शहरहरूमा प्रशिक्षणका अवसर पाइरहेका छन् । नेपाल क्रिकेट संघले आवश्यक पहल गर्दा यो सुविधा थप बढ्नसक्छ ।

    नेपालको क्रिकेट हाल स्थायीत्वको चरणमा प्रवेश गरिरहेको छ । सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पायो । सन् २०२४ मा फेरि एकपटक विश्व टी–२० मा सहभागी हुँदै नेपालले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति पुनः प्रमाणित गर्‍यो ।

    नेपालले २०२३ को एशियन गेम्समा ऐतिहासिक २७३ रनको जित हासिल गर्दै अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको इतिहासमै उच्च जित हासिल गर्‍यो । दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का हानेर कीर्तिमान बनाउनु, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी जस्ता खेलाडीले निरन्तर राम्रो प्रदर्शन गर्नु नेपाली क्रिकेटको उज्यालो भविष्यका संकेत हुन् । तर, यी उपलब्धिहरूको पृष्ठभूमिमा भारतको सहयोगलाई बेवास्ता गर्न सकिंदैन ।

    सन् २०१३ मा भारत सरकारले नेपाली क्रिकेट संघलाई बस हस्तान्तरण गरेको थियो । त्यस्तै २०२३ को अक्टोबरमा भारतीय दूतावासले नेपाल क्रिकेट संघलाई व्यवसाहिक खेल उपकरण गराएको थियो । २०२४ को जनवरीमा भारतका विदेशमन्त्री उस जयशंकरले नेपाली टोलीलाई भेटेर सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए । त्यही वर्ष अगस्टमा नेपाली टिमले बंग्लोरस्थित रंगशालामा अभ्यास गरेको थियो । नेपाल–भारतबीच पछिल्ला वर्षहरुमा यस्तो सद्भाव र आपसी समन्वय चलिरहेको छ ।

    नेपाल प्रिमियर लिगमा शिखर धवन जस्ता भारतका प्रथम श्रेणीका खेलाडीहरू सहभागी भईसकेकाछन् । यस्ता माझिएका अनुभवी खेलाडीको सहभागिताले नेपाली खेलाडीको अनुभव बृद्धि गर्नुका साथै प्राविधिक सशक्तिकरणमा टेवा पुर्‍याएको छ ।

    अर्कातर्फ, नेपाली खेलाडी सन्दीप लामिछानेले आइपीएलबाट अन्तर्राष्ट्रिय ख्याति कमाए । उनीले दिल्ली क्यापिटल्स (त्यतिबेला दिल्ली डेयरडेभिल्स) बाट खेलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याए । यो आदानप्रदान केवल खेलाडीको स्तरमा सीमित छैन । यसले दुई देशबीचको आम–जनताको बिचको आत्मीयता र मनको दूरी घटाउने काम पनि गरिरहेको छ ।

    भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी र सचिन तेन्दुलकरले नेपाल भ्रमण गर्दै नेपाली खेलाडीहरुमा रहेको प्रतिभाको प्रंशसा समेत गरेका थिए । यी घटनाक्रमले दुई देशबिचको आत्मीय सम्बन्धमा क्रिकेटको मिठास थपेकाछन् ।

    अबको बाटो ?
    प्रगतिको बाटो लम्किरहेको नेपाली क्रिकेटले विश्व क्रिकेटकै पावर हाउस मानिएको भारतसँगको समन्वयलाई निरन्तरता दिन जरुरी छ । यसका लागि नेपाल क्रिकेट संघमात्रै नभएर नेपाल सरकारले नै विशेष पहल गर्न जरुरी छ । दक्षिण एशियाली भूगोलमा क्रिकेट सबैभन्दा धेरै रुचाइएको खेल हो ।

    विगतमा श्रीलंका र बंगलादेशको क्रिकेटको स्तर उकास्नका लागि सहयोग गरेको भारतले पछिल्ला वर्षहरुमा अफगानिस्तानलाई पनि दिल खोलेरै सहयोग गरेको छ । अफगानिस्तानको क्रिकेट टिमलाई सहयोग गर्नका लागि उसले उत्तर प्रदेशस्थित ग्रेटर नोयडा स्पोर्टस् कम्प्लेक्स ग्राउन्ड उपलब्ध गराएको छ ।

    जसलाई अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिमले आफ्नो गृहमैदानका रुपमा प्रयोग गर्छ । सिमित स्रोत र त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा अभ्यास गरेकै भरमा अन्तर्राष्ट्रिय स्तरको छवि बनाएको नेपाली क्रिकेट टिमले भारतबाट यस्ता सहयोग पाउन सक्छ , तर त्यसका लागि सरकारले विशेष पहल गर्न आवश्यक देखिन्छ ।

    नेपालको क्रिकेट हब मानिएका विराटनगर, वीरगन्ज, नेपालगन्ज, धनगढी र बैतडीजस्ता शहरबाट भारतसँगको दूरी निकै नजिक छ । त्यसैले, सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहार राज्यका टिमहरुसँग नेपालका क्षेत्रीय र स्थानीय टिमहरुबीच प्रतिस्पर्धा गराउने वातावरण पनि बनाउन जरुरी छ । यसले खेलाडीहरुमा नियमित अभ्यास गर्ने उर्जासँगै नयाँ कुरा सिक्ने अवसर पनि निर्माण गर्छ ।

    हामीले क्रिकेट प्रगतिका प्रत्येक पाइला चालिरहेका छौं । विश्व क्रिकेटको पावर हाउस मानिएको छिमेकीसँग जति धेरै सहयोग लिनसक्यो, पाइला त्यति नै रफ्तारमा अघि बढ्नेछ ।

  • गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माणमा ढिलाइ हुँदा १० करोडभन्दा बढी बजेट फिर्ता

    गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माणमा ढिलाइ हुँदा १० करोडभन्दा बढी बजेट फिर्ता

    भरतपुरको चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काममा ढिलाइ भएपछि संघीय र प्रदेश सरकारले विनियोजन गरेको १० करोडभन्दा बढी रकम फिर्ता भएको छ।

    भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको बजेट निर्माण कम्पनीको लापरबाहीका कारण खर्च हुन नसक्दा फिर्ता गरिएको हो। संघीय सरकारले छुट्याएको २५ करोडमध्ये करिब ७ करोड ३४ लाख र प्रदेश सरकारले छुट्याएको १० करोडमध्ये ३ करोड २० लाख फिर्ता भएको डिभिजनल इञ्जिनियर सन्तोष आचार्यले बताए।

    हिमालयन–कालिञ्चोक–बिबिआर जेभीसँग ७८ करोड ५० लाखमा निर्माण सम्झौता भए पनि आर्थिक प्रगति २.४९ प्रतिशत मात्र पुगेको छ। जसका कारण रकम फिर्ता भएकोछ ।

    हालसम्म ५ हजार दर्शक क्षमताको प्याराफिटको ढलान, टावरको भुइँतला निर्माण, कम्पाउन्ड, नाली र ट्रान्सफर्मर जडान जस्ता काम मात्र सम्पन्न भएका छन्।

    महानगर प्रमुख रेनु दाहालले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई दबाब दिएकी छिन्। तर यसरी बजेट फिर्ता हुँदा रङ्गशाला निर्माण झन् अन्योल देखीएको छ ।

     

  • एनपीएलको अक्सन ९ अगस्टमा

    एनपीएलको अक्सन ९ अगस्टमा

     

    काठमाडौं । आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को अक्सन ९ अगस्टमा आयोजना गरिने भएको छ। यस अक्सनमा सहभागि टोलीहरूले नयाँ खेलाडीहरू छनोट गर्नेछन्।

    एनपीएल आयोजक समितिका अनुसार, अक्सनमा विभिन्न स्थानिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता रहनेछ। यस वर्षको लिगलाई अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने लक्ष्य राखिएको छ।

    एनपीएलले नेपालमा क्रिकेटको स्तर उकास्न र युवाहरूलाई अन्तर्राष्ट्रिय मंचमा चम्काउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। आगामी सिजनका लागि टीमहरू आफ्नो टिम बलियो बनाउन उत्साहित छन्।

    अक्सन ९ अगस्ट काठमाडौंमा हुने भएकाले सबै क्रिकेटप्रेमीहरू यसका लागि उत्सुक छन्।