Category: समाज

समाज

  • भक्तपुरमा आगलागी, १ जनाकाे मृत्यु

    भक्तपुरमा आगलागी, १ जनाकाे मृत्यु

    काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिक बुधबार बिहान आगलागी हुँदा १ जनाको मृत्यु भएकाे छ ।

    मृत्यु हुनेमा २५ वर्षकी अस्मिता केसी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ । आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको थियो ।

    आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मरामकी छोरी हुन् ।

    सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

  • पशुपतिनाथ मन्दिरमा भारतीय राजदूतावासको ‘शिव पूजा’ कार्यक्रम

    पशुपतिनाथ मन्दिरमा भारतीय राजदूतावासको ‘शिव पूजा’ कार्यक्रम

    काठमाडाैं । भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पशुपतिनाथ मन्दिरको एक पूज्य स्थलमा कार्तिक २८ साँझ ‘शिव पूजा’ कार्यक्रम गरेकाे छ ।

    पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा यो कार्यक्रमको आयोजना गरिएको हो । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरुले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गरेका थिए ।

    कलाकारहरुले भरतनाट्यम विधाको पुष्पाञ्ली नृत्य पनि गरेका थिए । यस नृत्यमा फूल अर्पण गरी परम्परागत शैलीमा अभिवादन गर्ने गरिन्छ । करिब एक घण्टा लामो कार्यक्रममा कलाकारहरुले नृत्यमार्फत शिव र पार्वतीको एउटै रुप अर्धनारीश्वर र शिवको नटेश स्वरुप प्रस्तुत गरे ।

    कार्यक्रममा शिव नृत्यसँगै देवी र गणेशको पनि नृत्य प्रस्तुत गरियो र सम्पूर्ण शिव परिवारप्रति भक्तिभाव प्रकट गरिएकाे थियाे । देवीको आराधना गर्दै नेपाली शास्त्रीय प्रस्तुति समेत भएकाे थियाे ।

    उक्त कार्यक्रमकाे उद्घाटन पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश रावलले गरेका थिए ।

    कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अधिकारी र प्रतिष्ठित व्यक्तित्वसहित २०० जनाभन्दा बढी उपस्थित थिए ।

  • सरकारले दियाे ४ र ५ गते बिदा

    सरकारले दियाे ४ र ५ गते बिदा

    काठमाडाैं । सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ ।

    मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विद्यालयलाई भने दुई गतेदेखि नै विदा दिइने सूचनामा उल्लेख छ ।

    गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरदेखि ५ मंसिरसम्म विद्यालय बिदा दिने निर्णय भएको उल्लेख छ ।

    निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो ।

    गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।

     

  • भक्तपुरमा पानी ट्याङ्कर र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

    भक्तपुरमा पानी ट्याङ्कर र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

    भक्तपुर । भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

    बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

    मोटरसाइकलमा सवार झापा घर भइ हाल मध्यपुरथिमि –३ बस्ने २३ वर्षीय अनिल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

    प्रहरीले दुर्घटना भएका दुवै सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

     

  • पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एअरले गर्ने, बनारस, दिल्ली र देहरादुन हुनेछ गन्तव्य

    पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एअरले गर्ने, बनारस, दिल्ली र देहरादुन हुनेछ गन्तव्य

    काठमाडाैं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ ।

    आउँदो जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडान आफ्नो कम्पनीले गर्ने घोषणा गर्न पाउँदा गौरवान्दित महसुस गरेको कम्पनीले जनाएको छ ।

    आइतवार, मङ्गलवार र बिहीवार गरी हप्तामा तीन दिन पोखरा–बनारस उडान गर्ने बुद्धले जनाएको छ । यस्तै, पोखरा–दिल्ली र पोखरा देहरादुन उडानका लागि एअर ट्राफिक सर्भिसेस अर्थात् एअर रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको र बनारसको विमानस्थलमा स्लटका लागि भारतीय सरकारसँग छलफलमा रहेको बुद्धले जनाएको छ ।

    अहिले बुद्ध एअरलाइन्सले काठमाण्डौ–बनारस नियमित उडान गर्दै आएको छ ।

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा छ । मङ्सिर १४ गतेदेखि यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ हुनेछ । आउँदो जनवरीदेखि विमानस्थलबाट व्यावसायिक उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

  • बढ्दै विदेश जानेकाे संख्या, गत असाेजमा ६२ हजार बढीले लिए श्रम स्वीकृति

    बढ्दै विदेश जानेकाे संख्या, गत असाेजमा ६२ हजार बढीले लिए श्रम स्वीकृति

    काठमाडौं । देशमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा रोजगारीको खोजीमा देश छोडेर विदेश जानेको संख्या बढ्दै गएको छ ।

    मंसिर ४ गते देशभर एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । तर मतदाता भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

    वैदेशिक रोजगार विभागका अनुसार गत असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जानको लागि ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएका छन् ।

    श्रम स्वीकृति लिनेमध्ये ५७ हजार २९६ जना पुरुष छन् भने ५ हजार ४१० जना महिला । वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढीले मलेसिया जानको लागि असोज महिनामा श्रम स्वीकृति लिएका छन् । असोजमा मलेसिया जान २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

    यस्तै युनाइटेड अरब इमिरेट्स जान ७ हजार ८४५, साउदी अरेबिया जान ६ हजार ५३६, कतार जान ९ हजार ८४५, दक्षिण कोरिया जान १ हजार ९१८, रोमानिया जान १ हजार १८०, माल्टा जान १ हजार १२ र कुवेत जान ३ हजार ४९७ जनाले श्रम स्वीकृति लिएका छन् ।

    आर्थिक वर्ष २०७९-८० सुरु भएपछि वैदेशिक रोजगारीमा जान साउनमा ३८ हजार २००, भदौमा ७६ हजार ४०३ र ६२ हजार ७०६ गरी कुल १ लाख ७७ हजार ३०९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

  • झापाको मेचीनगरमा पुलबाट खसेर एक जनाकाे मृत्यु

    झापाको मेचीनगरमा पुलबाट खसेर एक जनाकाे मृत्यु

    झापा । झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति–५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ ।

    दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर उनकाे मृत्यु भएकाे हाे ।

    पोखरेलको शनिबार राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

  • १० दिन भित्र नहटे काठमाडौं उपत्यका नदी किनारका सुकुम्बासी बस्ती भत्काउने चेतावनी

    १० दिन भित्र नहटे काठमाडौं उपत्यका नदी किनारका सुकुम्बासी बस्ती भत्काउने चेतावनी

    काठमाडौं । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति काठमाडौं उपत्यका नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेको छ ।

    शुक्रबार एक सुचना जारी गर्दैै समितिले नदी किनारामा अनाधिकृत रूपमा निर्माण भएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन १० दिन समय दिएको जनाएको छ ।

    ‘काठमाडौं उपत्यका भित्रका बागमती र यसका सहायक नदी किनाराहरुमा तोकिएको मापदण्डभित्र अनाधिकृत रुपले बनाइएका घर/टहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरुका कारण नदीको दुबै किनारातर्फको सौन्दर्यीकरण कार्यमा गम्भीर अवरोध पर्न गएको हुँदा पटक–पटक सार्वजनिक सूचना मार्फत सूचित गर्दा पनि उक्त सूचनाको वेवास्ता गरी हालसम्म पनि नदीको दायाँ बायाँ किनारा खाली गरेको नपाइएको हुँदा सूचना मिति २०७९ मङ्सिर ४ गतेसम्म अनिवार्य रुपमा त्यस्ता घर/टहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरु हटाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

    समितिले उक्त अवधि भित्र नदी किनारा खाली गरेको नपाइएमा सकिएको मिति पश्चात् काठमाडौं महानगरपालिका तथा अन्य सरोकारवाला निकायहरुसँगको सहयोग लिएर भत्काउने बताएको छ । सूचना अनुसार अनधिकृत संरचना भत्काउन क्षेत्र खाली गर्दा गराउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने चेतावनी पनि दिइएको छ ।

  • सेवा इन्टरनेशनल नेपाल एवं जनजाति कल्याण आश्रम नेपालले मनायो फाल्गुनन्द जयन्ती

    सेवा इन्टरनेशनल नेपाल एवं जनजाति कल्याण आश्रम नेपालले मनायो फाल्गुनन्द जयन्ती

    पाँचथर । पाँचथरकाे फिदिममा सेवा इन्टरनेशनल नेपाल एवं जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित सीप विकास केन्द्रले महागुरु फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाएको छ ।

    १६औं राष्ट्रिय विभूति महागुरु फालगुनन्दको १३८औं जन्म जयन्तीका अवसरमा सीप विकास केन्द्रले एक कार्यक्रम गरी उत्सव मनाएको हो ।

    फिदिम नगरमा निकालिएको शोभा यात्रामा सहभागीहरूले महागुरुका महान वाणीहरू उल्लेख भएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    शोभा यात्राका क्रममा फिदिम शिवालय मन्दिर नजिकै फाल्गुनन्द चोकमा स्थापित महागुरुको प्रतिमाको परिक्रमा गरी पुष्प गुच्छा एवं माल्यार्पण गरिएको सीप बिकास केन्द्र फिदिमकी संयोक अनिशा राईले जानकारी दिइन् ।

    सीप विकास केन्द्रको हलमा आयोजित कार्यक्रममा स्थानीय मित्रप्रसाद अधकारीले राखेका थिए भने प्रमुख अतिथि राजेन्द्र कुमार जबेगुले समेत महागुरुको सामाजिक योगदानबारे चर्चा गरेका थिए ।

  • कुवेतमा अलपत्र सात कामदारको उद्धार

    कुवेतमा अलपत्र सात कामदारको उद्धार

    काठमाडाैं । वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

    नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रा.लि र सञ्चारकर्मी जीवन शर्माको पहलमा बिहीबार राति स्वदेश ल्याइएको हो ।

    उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन् ।

    सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरुलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटकपटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ ।

    सातैजनालाई हाल चाबहिलस्थित पासा होटलमा राखिएको छ । सम्बन्धित मेनपावरले उनीहरुको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ ।