• २०८३ असार १८
  • 2026 July 02, Thursday

१० दिन भित्र नहटे काठमाडौं उपत्यका नदी किनारका सुकुम्बासी बस्ती भत्काउने चेतावनी

काठमाडौं । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति काठमाडौं उपत्यका नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेको छ ।

शुक्रबार एक सुचना जारी गर्दैै समितिले नदी किनारामा अनाधिकृत रूपमा निर्माण भएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन १० दिन समय दिएको जनाएको छ ।

‘काठमाडौं उपत्यका भित्रका बागमती र यसका सहायक नदी किनाराहरुमा तोकिएको मापदण्डभित्र अनाधिकृत रुपले बनाइएका घर/टहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरुका कारण नदीको दुबै किनारातर्फको सौन्दर्यीकरण कार्यमा गम्भीर अवरोध पर्न गएको हुँदा पटक–पटक सार्वजनिक सूचना मार्फत सूचित गर्दा पनि उक्त सूचनाको वेवास्ता गरी हालसम्म पनि नदीको दायाँ बायाँ किनारा खाली गरेको नपाइएको हुँदा सूचना मिति २०७९ मङ्सिर ४ गतेसम्म अनिवार्य रुपमा त्यस्ता घर/टहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरु हटाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

समितिले उक्त अवधि भित्र नदी किनारा खाली गरेको नपाइएमा सकिएको मिति पश्चात् काठमाडौं महानगरपालिका तथा अन्य सरोकारवाला निकायहरुसँगको सहयोग लिएर भत्काउने बताएको छ । सूचना अनुसार अनधिकृत संरचना भत्काउन क्षेत्र खाली गर्दा गराउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने चेतावनी पनि दिइएको छ ।