इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करण उत्कर्षमा पुगेको छ र प्ले-अफ चरणका चार टोलीको छनोट भइसकेको छ। गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु, पञ्जाब किङ्स र मुम्बई इन्डियन्सले प्ले-अफमा स्थान बनाएका छन्।
आईपिएलमा लिग चरणका अझैं सात खेल खेल्न बाकि नै छ ,तर प्लेअफ समिकरण भने पुरा भैसकेको छ । आईपिएल इतिहासमा ७ खेल पहिले नै प्लेअफ समिकरण पुरा भएको यो पहिलो पटक हो ।
यस सिजन चेन्नई सुपर किङ्स,राजस्तान रोयल्स, सनराइजर्स हैदराबाद , लखनउ सुपर जायन्ट्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सका लागि भने निराशाजनक रह्यो । चेन्नईले १३ खेलमध्ये ३ मात्र जित्न सकेको छ भने साविक बिजेता कोलकाताको प्रदर्शन पनि कमजोर रहेको छ । वर्षाको असरले यसपाली थप कठिनाइ बनाएको छ।
अब समूह चरणका केवल सात खेल बाँकी रहेका छन्। प्ले-अफमा पुगिसकेका टोलीहरू ‘लिग लिडर’ बन्ने होडमा छन् भने बाहिरिएका टिमहरूले बाँकी खेलमा उलटफेर गर्ने प्रयास गरिरहेका छन्।
यसबीच, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएलबाट हुने आम्दानीसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ। आईपीएलको प्रमुख आम्दानी स्रोतहरूमा मिडिया अधिकार, प्रायोजक, फ्रेन्चाइज शुल्क र टिकट बिक्री समावेश छन्।
बीसीसीआईले २०२३ देखि २०२७ सम्मको प्रशारण अधिकार ४८,३९० करोड भारतीय रुपैयाँमा बिक्री गरेको छ। यसमा २३,५७५ करोड टेलिभिजन राइट्सबाट र २३,७५८ करोड डिजिटल अधिकारबाट आएको हो, जुन क्रमशः डिज्नी स्टार र जियो सिनेमाले खरिद गरेका थिए।
बीसीसीआईको योजना अनुसार पाँच वर्षमा जम्मा ४१० खेल सञ्चालन हुने छन्। त्यसअनुसार, प्रशारण अधिकारबाट मात्र प्रति खेल करिब ११८ करोड भारतीय रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। साथै, टाटाले टाइटल स्पोन्सरसिप पाँच वर्षका लागि २,५०० करोडमा लिएको छ।
अन्य प्रायोजकबाट पनि बीसीसीआईले १४८५ करोड रुपैयाँ कमाएको छ भने टिकट बिक्रीबाट थप ठूलो रकम संकलन गरिएको छ। २०२३ को सिजनमा बीसीसीआईले कुल ११,७६९ करोड रुपैयाँ आम्दानी गरेको थियो, जसमा ५,१२० करोड सरप्लस थियो।
कुल रूपमा हेर्दा, बीसीसीआईले आईपीएलको प्रत्येक खेलबाट औसत १५० देखि २०० करोड भारतीय रुपैयाँसम्म कमाइरहेको हालैको एक रिपोर्टमा उल्लेख रहेको छ ।