क्यान अध्यक्षले आफूविरुद्द प्रतिसोध साँधेको लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङको आरोप

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले व्यक्तिगत प्रतिसोध साँध्नका लागि आफूमाथि अविश्वासको प्रस्ताव ल्याएको दाबी गरेका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष गुरुङले अध्यक्ष चन्दले प्रतिसोधकै भरमा आफूमाथि प्रदेश संघमा अविश्वासको प्रस्ताव ल्याएको आरोप लगाएका हुन्।

अध्यक्ष चन्दका कारण ल्याइएको उक्त अविश्वासको प्रस्ताव अवैधानिक भएको पनि गुरुङको भनाइ छ।

 गुरुङले अध्यक्ष चन्दकै निर्देशनमा चैत २२ गते उपाध्यक्ष विनयराज भण्डारीद्वारा दर्ता गरिएको अविश्वासको प्रस्तावलाई अवैधानिक भनेका छन्। त्यसको आधारमा जेठ ३ गते विशेष साधारणसभा आह्वान गरिएकोमा उनले असहमति जनाउँदै राष्ट्रिय खेलकुद परिषदमा उजुरीसमेत दिएका छन्।

गुरुङले चन्दले प्रादेशिक संघ कब्जा गर्न विशेष रणनीतिअन्तर्गत विनियमावली जबर्जस्ती लागू गरेको आरोपसमेत लगाएका छन्। क्यानको व्‍हाट्सएप च्याटमार्फत विनियमावली लागू गर्ने अध्यक्ष चन्दको शैलीप्रति क्यानकै कतिपय सदस्य र पदाधिकारीले पनि असहमति जनाएका छन्।

अर्कोतर्फ, गुरुङविरुद्ध आएको अविश्वास प्रस्तावमा उनीमाथि बजेट दुरुपयोग र कमजोर कामको आरोप लागेका छन्, जुन क्यान अध्यक्ष चन्दले समेत सार्वजनिकरूपमा पुष्टि गरिसकेका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१