Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • ओलीको दाबी: २०८४ मा एकल बहुमत अवश्य आउँछ, धाँधली हुन दिँदैनौँ

    ओलीको दाबी: २०८४ मा एकल बहुमत अवश्य आउँछ, धाँधली हुन दिँदैनौँ

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

    शुक्रबारबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले उक्त निर्वाचनमा आफूहरू पनि सरकारमै हुने भन्दै धाँधली हुन नदिने पनि ठोकुवा गरे ।

    ‘०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ । कम्तीमा एकल बहुमत ल्याउनुपर्छ । यदि हामी जनताका बीचमा सक्रियतापूर्वक गयौँ भने, हाम्रा सदस्य र समर्थक परिचालन गरेर गयौँ भने बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन । हामी बहुमत ल्याउन सक्छौँ,’ ओलीले भने ।

    उनले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुने पनि बताए ।‘हामी सरकारमा छौँ । आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन । हामी सरकारमा रहेर नै धाँधली रोक्नेछौँ ।

    निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ,’ प्रधानमन्त्री समेत रहेका ओलीले भने । उनले यस्ता परिस्थितिलाई ध्यानमा राखेर अघि बढ्न नेता कार्यकर्तालाई उनले निर्देशन गरे ।

  • संसद्को लाइभ बन्द हुने

    संसद्को लाइभ बन्द हुने

    काठमाडौँ । सरकारले दर्ता नभएमा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेसँगै संसद्को लाइभ बन्द हुने भएको छ ।

    सभामुखको सचिवालयका अनुसार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै सभामुख देवराज घिमिरेले संसद्को लाइभ प्रसारण र भिडियो आर्काइभ सुरक्षाबारे चासो राखेका छन् ।

    संसद् सचिवालयलाई प्रसारण व्यवस्थापन र सूचना प्रवाहका वैकल्पिक माध्यमको व्यवस्थापनका लागि निर्देशन दिइसकेको बताइएको छ ।

    संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रसारण हुँदै आएको छ । सरकारले बिहीबार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।

    प्रतिनिधिसभाको बैठक २५ भदौ र राष्ट्रिय सभाको बैठक २३ भदौमा बस्दै छ । संसद् बैठकमा सांसदहरूले बोलेका भिडियो समेत युट्युबमा अपलोड हुने गरेको छ ।

  • सामाजिक सञ्जाल पनि कानूनको दायरामा आउनुपर्छ : संविधानविद् डा. भिमार्जुन आचार्य

    सामाजिक सञ्जाल पनि कानूनको दायरामा आउनुपर्छ : संविधानविद् डा. भिमार्जुन आचार्य

    काठमाडौं । संविधानविद् डा. भिमार्जुन आचार्यले नेपालमा सामाजिक सञ्जाल दर्ता र नियमनको प्रसंगलाई सामान्य रूपमा नहेर्न सुझाव दिएका छन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयबारे टिप्पणी गर्दै उनले मुलुक सानो वा ठूलो जस्तो भए पनि सार्वभौमिकतामा सानो–ठूलो हुँदैन भनेका छन्।

    आचार्य भन्छन्, ‘सरकार अलिअलि सरकारजस्तो बन्न खोजेको हो, बन्न पाउनुपर्छ। मलाई यी सञ्जालहरू बन्दै भैहाल्लान जस्तो लाग्दैन। तर यी सञ्जालका सञ्चालकहरू पनि कानून र सरकारको दायरामा आउँछन् र आउनै पर्छ।’ संविधानविद् आचार्यकाे भनाइले देखाउँछ—सञ्चालक कम्पनीहरूलाई कानूनको दायरामा ल्याउनु सरकारको दायित्व हो र अन्ततः अदालत समेत जनताको पक्षमा उभिने अपेक्षा गरिएको छ। आचार्यले अन्तिम विकल्पको रूपमा अदालत पनि अन्ततः जनताकै पक्षमा उभिने विश्वास व्यक्त गरेका छन्। उनका भनाइ अनुसार सामाजिक सञ्जाल जस्तो ठूला कम्पनीले पनि सार्वभौमसत्ता मान्नैपर्ने हुन्छ र कानुनी ढाँचामा भित्रिन बाध्य हुन्छन्।

    नेपाल मात्र होइन, विश्वका धेरै मुलुकमा यस्ता प्लेटफर्मलाई दर्ता वा कडा नियमन गर्ने प्रचलन छ। जापानमा विदेशी प्रविधि कम्पनीलाई कानुनी प्रतिनिधि नियुक्त गरी कम्पनी दर्ता गर्नैपर्छ। मलेशियामा ८ लाखभन्दा बढी प्रयोगकर्ता भएका सामाजिक सञ्जालले अनिवार्य रूपमा सरकारी लाइसेन्स लिनुपर्छ। यूरोपेली संघमा यूरोपेली संघमा डिजिटल सेवा ऐन र डिजिटल बजार ऐनमार्फत मेटा, युट्युब जस्ता ठूला प्लेटफर्मजस्ता ठूला प्लेटफर्मलाई पारदर्शिता र उत्तरदायित्वको दायरामा राखिएको छ। चीन, रसिया र इरानमा फेसबुकजस्ता सञ्जाल प्रत्यक्ष प्रतिबन्धित छन् भने इजिप्टमा ५००० भन्दा बढी फलोअर भएका ब्लग वा खाता समेत दर्ता गर्नुपर्ने व्यवस्था छ।

    यसरी नेपालले अघि सारेको सामाजिक सञ्जाल दर्ता नीति कुनै अपवाद नभई अन्तर्राष्ट्रिय अभ्याससँग मेल खाने देखिन्छ।

  • अमेरिकाले देश निकाला गरी पठाएका १९ नेपाली मानव बेचबिखन ब्युरोमा

    अमेरिकाले देश निकाला गरी पठाएका १९ नेपाली मानव बेचबिखन ब्युरोमा

    अमेरिकाले देश निकाला गरेर चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छाडिएका १९ नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाइएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले १७ जना पुरुष र २ जना महिलालाई आवश्यक सोधपुछपछि बिहीबार राती नै ब्युरोमा बुझाएको हो ।

     

    अमेरिकाले ३७ जना नेपालीलाई देश निकाला गरी पठाउन लागेको जनाइए पनि बिहीबार भने १९ जनालाई मात्रै ल्याइएको हो।

     

    अमेरिकाको अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा नेपालीहरूलाई देश निकाला गरेको हो ।

     

    अध्यागमन कार्यालयका अनुसार डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति चुनिएयता  मात्रै अमेरिकाले २३४ नेपालीलाई देश निकाला गरिसकेको छ।

     

    ब्युरोले त्यसरी फर्काइएका नेपालीहरूसँग सामान्य सोधपुछपछि परिवारको जिम्मा लगाएर छाड्ने गरेको छ ।

  • रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा ट्रम्पको दबाब निष्फल, अब के गर्लान् ट्रम्प ?

    रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा ट्रम्पको दबाब निष्फल, अब के गर्लान् ट्रम्प ?

    काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता गर्न भनि निर्धारित गरेको समयसीमा आज सकिएको छ । अगस्ट १५ मा अलास्कामा भएको ट्रम्प-पुटिन भेटपछि ट्रम्पले पुटिन र जेलेन्स्कीबीच द्विपक्षीय वार्ताको लागि दुई हप्ताको समयसीमा दिएका थिए। यो समयसीमा सकिए पनि पुटिन र जेलेन्स्कीबीच कुनै भेटघाट वा युद्ध विरामको सम्भावना देखिएको छैन।

    गत अगस्ट १५ मा अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ-रिचर्डसनमा भएको ट्रम्प-पुटिन भेटलाई युद्ध समाधानको महत्त्वपूर्ण मोड मानिएको थियो। यो भेटमा ट्रम्पले पुटिनलाई युक्रेनसँग शान्ति वार्ता गर्न दबाब दिएका थिए। भेटपछि ट्रम्पले सीएनएनसँगको अन्तर्वार्तामा भनेका थिए, “म पुटिनबाट निराश छु। उनीसँग दुई हप्ता समय छ जेलेन्स्कीसँग वार्ता गर्न। यदि भएन भने अमेरिकाले कडा कदम चाल्नेछ।” यो समयसीमा मूल रूपमा जुलाई १४ मा दिएको ५० दिनको थियो, जसलाई जुलाई २८ मा छोट्याएर १०-१२ दिन बनाइएको थियो र फेरि अगस्ट २१ मा २ हप्ताको बनाइयो। समयसीमा सकिए पनि अपेक्षित प्रगति भने देखिएको छैन।

    यसबिच पुटिनले बेइजिङबाट जेलेन्स्कीलाई मस्कोमा भेट्न निम्तो दिएका छन्। समयसीमा सकिनुअघि सेप्टेम्बर ३ मा बेइजिङमा भएको पत्रकार सम्मेलनमा पुटिनले जेलेन्स्कीलाई मस्कोमा भेट्न निम्तो दिए। उनले भने, “यदि जेलेन्स्की भेट्न तयार छन् भने उनी मस्को आउनुपर्छ। मैले कहिल्यै पनि भेट्न अस्वीकार गरेको छैन।” यो निम्तो ट्रम्प-पुटिन अलास्का भेटमा ट्रम्पले गरेको अनुरोधपछि आएको हो। पुटिनले यो प्रस्ताव चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि गरेका थिए, जसमा उनले भने, “यदि जेलेन्स्की तयार छन् भने मस्कोमा भेट हुन सक्छ।” यसलाई पुटिनले “शान्ति वार्ताको लागि सकारात्मक कदम” भनेका छन्, तर यसमा “राम्रो तयारी र सकारात्मक नतिजा” हुनुपर्ने सर्त राखेका छन्। पुटिनले त्यसमा थप्दै भनेका छन्, “यदि शान्ति सम्झौता भएन भने रुसले सैन्य माध्यमबाट लक्ष्य हासिल गर्नेछ।”

    युक्रेनले पुटिनको यो निम्तोलाई तुरुन्तै अस्वीकार गरेको छ। युक्रेनी विदेशमन्त्री आन्द्रिय सिबिहाले भने, “पुटिनले जानाजानी अस्वीकार्य प्रस्ताव गरेर खेल खेलिरहेका छन्।” जेलेन्स्कीको कार्यालयले यसलाई “ठगीको पुरानो चाल” भनेको छ।

    उता, ट्रम्पले युद्ध अन्त्यका लागि अथक प्रयास गरेका छन् तर सफल भएका छैनन्। उनले रुसमाथि “सेकेन्डरी ट्यारिफ” लगाउने निर्णय गरेका छन्, जसमा रुसी तेल किन्ने देशहरू (जस्तै चीन र भारत) माथि १००% सम्म कर लगाइने छ। ह्वाइट हाउसको अगस्त ६ को घोषणामा भनिएको छ, “रुसी सरकारबाट आउने खतरा सम्बोधन गर्न ट्यारिफ लगाइने छ।” यसबाहेक, ट्रम्पले युक्रेनलाई सैन्य र आर्थिक सहयोग बढाएका छन्। ट्रम्पले भनेका छन्, “म युक्रेनलाई हतियार दिन्छु, तर रुसलाई कडा कर लगाउँछु।” जुलाई १४ मा उनले “रुसलाई १००% ट्यारिफ” को धम्की दिएका थिए। यद्यपि, यी तमाम प्रयासहरूले पनि युद्ध रोक्न सकेका छैनन्।

    समयसीमा सकिएपछि ट्रम्पले कस्ता नयाँ कदम चाल्लान् भन्ने आम चासोको विषय छ। एनपीआरका अनुसार ट्रम्पले “शान्ति सम्झौता बिना युद्ध विराम आवश्यक छैन” भनेका छन् र “स्थायी शान्ति सम्झौता” मा जोड दिन सक्छन्। किभ पोस्टले भनेको छ, “ट्रम्पले पुटिनलाई ‘रियालिटी चेक’ दिन नयाँ समयसीमा दिन सक्छन्।” अन्य सम्भावित कदमहरूमा ट्रम्पले रुसमाथि थप प्रतिबन्धहरू लगाउन सक्छन्।

    स्काई न्युजका अनुसार ट्रम्पले  युक्रेनका सहयोगीहरूको बैठकमा फोनबाट भाग लिँदै छन्, जसमा उनले पुटिनलाई “नयाँ चेतावनी” दिन सक्छन्।

    बिबिसीका अनुसार ट्रम्पले “शान्ति सम्झौतामा प्रतिबद्ध” रहेको बताएका छन् तर यदि पुटिनले अडान छोडेनन् भने थप सैन्य सहयोग बढाउन सक्छन्। ले मोन्डेले भनेको छ, “ट्रम्पले ‘कोलिसन अफ विलिङ’ सँग मिलेर युक्रेनलाई समर्थन गर्न सक्छन्।

    चीनबाट पुटिनले चीन र भारतलाई अमेरिकाले गरेको व्यवहार ठिक नभएको भन्दै अमेरिकाको कडा आलोचना गरेका छन्। उनले भनेका छन्, ‘औपनिवेशिक युग अब सकिएको छ। अमेरिकालेले बुझ्नुपर्छ कि उसले यी देशहरूसँग यसरी कुरा गर्न सक्दैन।’

    यी घटनाक्रमहरूले ट्रम्पको मध्यस्थता प्रयास सहज नभएको स्पष्ट पार्छन्। यस परिस्थितिका माझ सबैको ध्यान ट्रम्पको आगामी कदमतर्फ केन्द्रित छ।

    (अन्तर्राष्ट्रिय समाचार संस्थाहरूको सहयोगमा)

  • प्रधानमन्त्री ओलीको भारत भ्रमण तत्काललाई नहुने भारतीय मिडियाको दाबी

    प्रधानमन्त्री ओलीको भारत भ्रमण तत्काललाई नहुने भारतीय मिडियाको दाबी

    भारतीय पत्रिका द प्रिन्टले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तत्काल नहुने दाबी गरेको छ । आफ्नो अनलाइन संस्करणमा आज एक समाचार लेख्दै द प्रिन्टले प्रधानमन्त्री ओलीको पूर्वनिर्धारित भारत भ्रमणको सम्भावना कम रहेको दाबी गरेको हो ।
    प्रधानमन्त्री ओली यही भदौ ३१ गते २ दिने भारत भ्रमणमा जाने तालिका छ । २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भए पनि अहिलेसम्म भारत भ्रमण भने भएको छैन। भारतीय समकक्षी मोदीबाट अघिल्लो महिना मात्रै भारत भ्रमणको निम्तो पाएपछि भदौ अन्तिममा प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको थियो । तर द प्रिन्टले भने स्रोतलाई उद्धृत गर्दै ‘उपयुक्त समय’ नभएकाले भ्रमणको सम्भावना कम रहेको लेखेको हो । यद्यपि, पछिल्ला केही हप्ताहरूमा, विशेष गरी, लिपुलेकको मामिलामा नेपालको दाबीका कारण प्रधानमन्त्री ओलीको पूर्वनिर्धारित भ्रमणको समय ‘उपयुक्त’ नभएको पत्रिकाको सङ्केत छ ।
    प्रधानमन्त्री ओलीले यसै साता चीनको तियाजिनमा आयोजित एससीओ शिखर सम्मेलनको क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय भेटमा लिपुलेक नेपालको भूभाग भएको स्पष्ट गर्दै भारत–चीनले लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने तयारी प्रति आपत्ति जनाएका थिए । आसन्न भारत भ्रमणमा भारतसँग समेत सोही विषयमा कुरा उठाउने प्रधानमन्त्रीे ओलीको तयारी छ ।
    द प्रिन्टको दाबीलाई लिएर भारत तथा नेपाल सरकारले भने कुनै प्रतिक्रिया दिइसकेको छैन ।
  • के भारत भन्सार करको ‘दादा’ हो त ?

    के भारत भन्सार करको ‘दादा’ हो त ?

  • भारतले गर्यो जीएसटी प्रणालीमा व्यापक हेरफेर, नेपालमा कस्तो असर पर्ला ?

    भारतले गर्यो जीएसटी प्रणालीमा व्यापक हेरफेर, नेपालमा कस्तो असर पर्ला ?

    काठमाडौँ। भारतले ५६औं जीएसटी परिषद् बैठकमा वस्तु तथा सेवा कर (जीएसटी) प्रणालीमा व्यापक हेरफेर गर्दै पाँच दरको प्रणालीलाई घटाएर केवल ५% र १८% मा सीमित गरेको छ। नयाँ प्रणाली सेप्टेम्बर २२ देखि लागू हुनेछ।

    केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणका अनुसार स्ल्याब घटाएर अब केवल दुई तह रहनेछ। उनि भन्छिन, ‘आम जनतालाई केन्द्रमा राखेर यी सुधारहरू गरिएको हो। क्षतिपूर्ति करसम्बन्धी मुद्दाहरू समेत सम्बोधन गरिएका छन्।’

    नयाँ कर प्रणाली अन्तर्गत दैनिक उपभोग्य वस्तु, जीवनरक्षक औषधि र कृषक उपकरणमा कर घटाइएको छ। अल्ट्रा-हाई टेम्परेचर दूध, पनिर, रोटी, पराठा लगायतका भारतीय परिकार तथा जीवनरक्षक औषधिमा अब कर शून्य हुनेछ। साबुन, स्याम्पु, दाँत माझ्ने ब्रस, दन्तमन्जन, घरेलु सामग्री, साइकल र कृषक उपकरणमा ५% कर लाग्नेछ। यसैगरी, नमकीन, भुजिया, पास्ता, सस, चकलेट, कफी, घ्यू र बटर जस्ता वस्तुमा कर १२% वा १८% बाट ५% मा घटाइएको छ। एसी, टेलिभिजन, साना कार, मोटरसाइकल, सिमेन्ट र तीन पाङ्ग्रे सवारीमा कर २८% बाट १८% मा झरेको छ भने पान मसला, सुर्ती, चुरोट, चिनी मिसाइएको कार्बोनेटेड पेय र उच्च क्षमता इन्जिन भएका कारमा ४०% कर लागू हुनेछ।

    कृषि क्षेत्रका ट्र्याक्टर, थ्रेसिङ मेसिन, कम्पोस्टिङ मेसिन र अन्य कृषि/वन उपकरणमा कर १२% बाट ५% मा घटाइएको छ। जीवनरक्षक औषधि, क्यान्सर तथा दुर्लभ रोगका औषधिमा कर शून्य गरिएको छ। चश्मा र दृष्टि सुधार गर्ने चम्सामा पनि कर २८% बाट ५% मा घटाइएको छ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, नयाँ प्रणालीले किसान, मध्यम वर्ग, महिला र युवालाई लाभ पुर्‍याउनेछ। बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले सबै प्रदेशहरूको सर्वसम्मत समर्थन रहेको बताए भने, पश्चिम बंगालकी अर्थमन्त्री चन्द्रिमा भट्टाचार्यले कर समायोजनका कारण करिब ४७,७०० करोड रुपैयाँ राजस्व नोक्सानी हुने अनुमान गरेकी छन्। उत्तर प्रदेशका अर्थमन्त्री सुरेश खन्नाले डिमेरिट सामानमा थप करबारे निर्णय अझै बाँकी रहेको बताए भने असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले संघीय सरकारको कदमको समर्थन जनाउँदै जीएसटीलाई ५% र १८% मा ल्याउने स्पष्ट पारे।

    करीब १०.५ घण्टा लामो बैठकमा केन्द्र र प्रदेशबीच कर प्रस्तावमा व्यापक छलफल भएको थियो। सरकारी अधिकारीहरूले अब लागू हुने प्रणाली सरल, पारदर्शी र प्रशासनमैत्री हुने विश्वास व्यक्त गरेका छन्।

    भारतको यो निर्णयल नेपालमा पनि यसको असर देखिने अपेक्षा गर्न सकिन्छ। भारतको जीएसटी हेरफेरले नेपाली उपभोक्तालाई लाभ पुर्‍याउने सम्भावना भए पनि घरेलु उद्योग, राजस्व र मूल्य स्थिरतामा केही चुनौतीहरू निम्त्याउने सरोकारवालाहरुको भनाइ छ ।

    उनीहरुका अनुसार दैनिक उपभोग्य वस्तु, कृषक उपकरण र जीवनरक्षक औषधिमा मूल्य घट्ने सम्भावना छ, जसले नेपाली उपभोक्तालाई लाभ पुर्‍याउनेछ र आवश्यक सामग्रीको पहुँच बढाउनेछ। साथै, भारतको सरल र दुई तहको जीएसटी प्रणालीले नेपालमा पनि कर संरचना सुधार र बहुदरको बहसलाई प्रोत्साहन दिन सक्छ।अर्कातिर, भारतीय बजारबाट सस्तो सामान आयात हुँदा नेपाली उत्पादक र व्यापारीहरूलाई प्रतिस्पर्धामा दबाब पर्न सक्छ । यसले नेपाल सरकारले पाउने भ्याट/राजस्वमा अस्थायी कमी ल्याउन सक्छ र मूल्य अस्थिरता र नीति तालमेलमा चुनौती पनि सिर्जना गर्न सक्छ।

     

  • एससीओ सम्मेलन: विश्व शासनको केन्द्र पश्चिमबाट एसियातर्फ सर्ने संकेत, नेपाललाई कस्तो लाभ ?

    एससीओ सम्मेलन: विश्व शासनको केन्द्र पश्चिमबाट एसियातर्फ सर्ने संकेत, नेपाललाई कस्तो लाभ ?

    काठमाडौं । चीनको तियान्जिन सहरमा सम्पन्न भएको शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को २०२५ को शिखर सम्मेलनले अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा एक शक्तिशाली दृश्य प्रस्तुत गर्‍यो। चिनियाँ राष्ट्रपति सी जिनपिंग, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एकै छतमुनि हार्दिकताका साथ भलाकुसारीमा मग्न भए। यो दृश्य केवल औपचारिकता मात्र होइन, बरु एक स्पष्ट भू-राजनीतिक सन्देश थियो। यसको ठिक विपरीत दिशामा, अमेरिकाले भारतमा लगाएको चर्को भन्सार शुल्कले यी दुई देशबिच तनाव सिर्जना गरेको छ भने एसियाका दुई शक्ति राष्ट्र चीन र भारतबिचको सम्बन्धमा उल्लेखनीय सुधार आएको छ। जसले विश्व राजनीतिमामा नयाँ ध्रुवीकरणको सुरुवात र शासन व्यवस्था एसियातर्फ ‘सिफ्ट’ हुने सङ्केत गरेको छ।

    एससीओ शिखर सम्मेलन: एकताको सन्देश

    चीन, रुस, भारत, पाकिस्तान र मध्य एसियाली राष्ट्रहरू समावेश एससीओ क्षेत्रीय सुरक्षा, आर्थिक सहयोग र भू-राजनीतिक स्थायित्वको लागि  एक महत्त्वपूर्ण मञ्च हो। यस वर्षको शिखर सम्मेलनमा सी, पुटिन र मोदीले संयुक्त रूपमा वैश्विक चुनौतीहरू, जस्तै: जलवायु परिवर्तन, व्यापारिक असमानता र आतंकवादविरुद्ध साझा रणनीति बनाउने प्रतिबद्धता व्यक्त गरे। विशेष गरी, सी र मोदीले आपसी मतभेदलाई थाँती राखी आर्थिक र रणनीतिक साझेदारीलाई प्राथमिकता दिने सङ्केत गरे। यो एकता पश्चिमी शक्तिहरू, विशेष गरी अमेरिकासँगको बढ्दो तनावको सन्दर्भमा महत्त्वपूर्ण छ।

    सम्मेलनमा अमेरिकाको एकल ध्रुवीय प्रभावलाई सङ्केत गर्दै चिनियाँ राष्ट्रपति सीले भने, “केही देशहरूका आन्तरिक नियमहरूलाई विश्वमाथि लादिनु हुँदैन। हामीले साझा आकाङ्क्षा र सहकार्यमा आधारित विश्व व्यवस्था निर्माण गर्नुपर्छ।” सीले पश्चिमी प्रभाव (विशेष गरी अमेरिका) को आलोचना गर्दै बहु ध्रुवीय विश्व व्यवस्थाको पक्षमा वकालत गरे। “विश्वलाई निष्पक्ष, व्यवस्थित बहु ध्रुवीय, समावेशी आर्थिक विकास र थप समतामूलक वैश्विक शासन प्रणालीको आवश्यकता छ। हामीले शीतयुद्धको मानसिकता, गुटबन्दी र धम्कीपूर्ण व्यवहारको विरोध गर्नुपर्छ,” सीले भने।

    रुसी राष्ट्रपति पुटिनले युक्रेन सङ्कट र पश्चिमी प्रतिबन्धहरूको सामना गरिरहेको बेला एससीओलाई “वैश्व शान्ति र समृद्धिको वैकल्पिक मञ्च” को रूपमा प्रस्तुत गरे। उनले भने, “हामीले पश्चिमको एकल ध्रुवीय विश्व व्यवस्थालाई चुनौती दिँदै बहु ध्रुवीय विश्वको आधार तयार पार्नुपर्छ।” यता, भारतीय प्रधानमन्त्री मोदीले क्षेत्रीय व्यापार र लगानीमा जोड दिँदै “विश्वास र सहकार्य” को सन्देश दिए। उनको यो सन्देशले भारतको रणनीतिक स्वायत्तताको नीतिलाई थप बलियो बनायो।

    अमेरिकाको भन्सार शुल्क: भारतमाथिको दबाब

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा भारतमाथि ५०% भन्सार शुल्क लगाए। जसमा २५% शुल्क भारतको रुसी तेल खरिदलाई लिएर थपिएको थियो। यो शुल्कले भारतको ८७ अर्ब अमेरिकी डलरको निर्यात बजारलाई प्रभावित गर्ने अनुमान छ। विशेष गरी कपडा, रत्न जडित आभूषण, र औषधि जस्ता क्षेत्रमा। विश्लेषकहरूले यो कदमलाई भारतलाई पश्चिमी गठबन्धनमा बाँध्ने र रुससँगको सम्बन्ध तोड्ने रणनीतिको रूपमा हेरेका छन्। भारतले यसलाई “अन्यायपूर्ण र अनुचित” भन्दै प्रतिरोध गरेको छ र प्रधानमन्त्री मोदीले आफ्ना किसान र साना व्यवसायीहरूको हित रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यो दबाबले भारतलाई रुस र चीनसँग नजिक बनाएको छ।

    चीन-भारत सम्बन्धमा सुधार

    हालैका वर्षहरूमा सीमा विवाद र भूराजनीतिक प्रतिस्पर्धाले तनावग्रस्त बनेको चीन र भारतको सम्बन्धमा उल्लेखनीय सुधार आएको छ। सन् २०२० को गलवान् झडपपछि तनावमा रहेको सम्बन्धलाई सामान्यीकरण गर्न दुवै देशले कूटनीतिक र सैन्य स्तरमा पहल गरेका छन्। यो शिखर सम्मेलनमा सी र मोदीले आपसी व्यापार, प्रविधि र ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति जनाए। विशेष गरी, भारतको “मेक इन इन्डिया” अभियान र चीनको “बेल्ट एन्ड रोड इनिसिएटिभ” बिच समन्वयको सम्भावनालाई जोड दिइयो। यो सुधारले दक्षिण एसियामा स्थायित्व ल्याउने अपेक्षा गरिएको छ। साथै, यसले विश्व व्यापारमा एसियाको प्रभावलाई थप बलियो बनाउँदै छ। भारत र चीनले संयुक्त रूपमा वैश्विक आपूर्ति शृङ्खलामा आफ्नो प्रभुत्व विस्तार गर्न सक्ने सम्भावना छ, जसले पश्चिमी मुलुकहरूको एकलौटी प्रभावलाई चुनौती दिनेछ।

    विश्व शासनमा एसियाको उदय

    एससीओ शिखर सम्मेलन र यी घटनाक्रमहरूले विश्व शासनको केन्द्र पश्चिमबाट एसियातर्फ सर्ने बलियो सङ्केत गरेका छन्। विगतमा युरोप र अमेरिकाले विश्व अर्थतन्त्र र राजनीतिमा नेतृत्व गरेका थिए । तर अब चीन र भारतजस्ता राष्ट्रहरूले आफ्नो प्रभाव विस्तार गरिरहेका छन्। विश्व बैङ्कको तथ्याङ्क अनुसार एसियाको अर्थतन्त्रले विश्वको कुल गार्हस्थ्य उत्पादनको ४०% भन्दा बढी हिस्सा ओगट्छ र यो हिस्सा आगामी दशकमा अझ बढ्ने अनुमान छ।
    यो परिवर्तनले विश्वमा नयाँ ध्रुवीकरणको सुरुवात गरेको छ। एकातर्फ पश्चिमी गठबन्धन (अमेरिका, युरोपेली युनियन) छ भने अर्कोतर्फ एसियाली शक्तिहरू (चीन, भारत, रुस) को नेतृत्वमा नयाँ गठबन्धन उभिँदै छ। यो ध्रुवीकरणले विश्व शान्ति र स्थायित्वमा दीर्घकालीन प्रभाव पार्न सक्छ। विशेष गरी जलवायु परिवर्तन, साइबर सुरक्षा र व्यापार नीतिहरूमा एसियाली राष्ट्रहरूको भूमिका निर्णायक बन्नेछ।

    उल्लेखित घटनाक्रमहरूले एससीओ शिखर सम्मेलनले विश्व राजनीतिमा एसियाको बढ्दो प्रभावलाई स्पष्ट रूपमा देखाउँछन्। अमेरिकाको भन्सार शुल्क र भारत-चीन सम्बन्धको सुधारले विश्व शक्ति सन्तुलनमा नयाँ गतिशीलता ल्याएको छ। यी घटनाक्रमले विश्व शासनको केन्द्र एसियातर्फ सर्ने प्रक्रियालाई तीव्र बनाएको छ। यद्यपि, यो परिवर्तनले अवसर र चुनौती दुवै ल्याउनेछ। विश्व समुदायले यो नयाँ यथार्थलाई कसरी स्वीकार गर्छ, त्यसले आगामी दशकको विश्व व्यवस्थालाई परिभाषित गर्नेछ।

    उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लगातारका प्रतिक्रियाहरूले एससीओ शिखर सम्मेलन २०२५ र विशेष गरी चीन, रुस र भारतको एकताले उनलाई रणनीतिक रूपमा असहज बनाएको देखाउँछ। उनको भन्सार शुल्क नीति र तीव्र टिप्पणीहरूले यो सम्मेलनले विश्व शक्ति सन्तुलनमा एसियाको प्रभाव बढिरहेको कुरालाई बल पुर्‍याउँछ। “मलाई रुस र चीनबिचको सहकार्यको वृद्धि, विशेष गरी शाङ्घाई सहयोग सङ्गठनमा, कुनै चिन्ता छैन,” ट्रम्पले भनेका छन्, “हामीलाई चीनभन्दा चीनलाई हाम्रो आवश्यकता धेरै छ।”

    अझ ट्रम्पले त यो सम्मेलन र सी, पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबिचको अभूतपूर्व एकतालाई “अमेरिकाविरुद्धको षडयन्त्र” को संज्ञा दिएका छन् । “सी जिनपिङलाई मेरो शुभकामना, तर उनीहरूले संयुक्त राज्य अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्। यो ठुलो प्रश्न हो, के उनीहरूले हाम्रो योगदानलाई सम्मान गर्लान्?,” ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।

    उनको भनाइहरूले भारतलाई पश्चिमी गठबन्धनमा राख्ने प्रयास असफल भएको र एससीओको एकताले अमेरिकाको वैश्विक प्रभावलाई चुनौती दिएको कुरालाई सङ्केत गर्छ।

    अन्तर्राष्ट्रिय मामिलाका जानकार डा. राजेन्द्र चापागाईँ एससीओमा देखिएको दृश्यले एसिया नयाँ ध्रुवका रूपमा देखा परेको र त्यसको नेतृत्व गर्न चीन तयार रहेको सन्देश दिएका बताउँछन् । “अमेरिकाको ट्यारिफ नीतिले भारतलाई चीनसँग नजिक्याएको र चीन, भारत र रुस एक ठाउँमा उभिँदा विश्व शक्ति सन्तुलन स्पष्ट रूपमा एसियातर्फ सिफ्ट हुनेछ,” चापागाईँले भने ।

    नेपालले कसरी फाइदा लिन सक्छ ?

    नेपाल, जसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मार्फत क्षेत्रीय सहकार्य र एकताको अनुभव लिएको छ र हाल एससीओमा पर्यवेक्षक राष्ट्रको हैसियतमा छ, यो बदलिँदो परिदृश्यबाट ठुलो फाइदा लिन सक्छ। नेपालले पूर्ण सदस्यताको लागि पहल गरेर क्षेत्रीय आर्थिक, सुरक्षा र प्राविधिक सहयोगमा सक्रिय भूमिका खेल्न सक्छ। नेपालको भौगोलिक अवस्थितिलाई उपयोग गरी चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ र भारतको क्षेत्रीय कनेक्टिभिटी परियोजनाहरूमा समावेश हुन सक्छ। उदाहरणका लागि, जलविद्युत परियोजनाहरूमा चिनियाँ र भारतीय लगानी आकर्षित गर्न सकिन्छ, जसले नेपालको ऊर्जा क्षेत्रलाई सुदृढ गर्छ।

    डा. चापागाईँले बदलिँदो परिदृश्यबाट नेपालले ठुलो फाइदा लिन सक्ने बताउँछन्। उनी भन्छन्, ”नेपालको अर्थतन्त्र कृषि, पर्यटन र जडीबुटीमा निर्भर छ। नेपालले यो अवसरको सही उपयोग गरेमा आर्थिक समृद्धि र क्षेत्रीय प्रभाव बढाउन सक्छ। एससीओ बजारमा नेपाली उत्पादनहरू जस्तै कृषि, जडीबुटी र पर्यटनलगायतका उत्पादन तथा सेवाहरूको पहुँच विस्तार गर्न सकिन्छ। नेपालले क्षेत्रीय व्यापार सम्झौताहरूमा सक्रिय सहभागिता जनाएर आफ्नो निर्यात बजार विस्तार गर्न सक्छ, जसले आर्थिक समृद्धिलाई गति दिनेछ।”

    यति भन्दै गर्दा भारत र चीनबिच सन्तुलन कायम गर्नुपर्ने कूटनीतिक चुनौती नेपालसँग उत्तिकै रहेको चापागाईँको भनाई छ। यद्यपि, बलियो कूटनीतिक रणनीति र क्षेत्रीय सहकार्यमा सक्रियताले नेपालले विश्व शासनको बदलिँदो परिदृश्यमा महत्त्वपूर्ण लाभ लिन सक्ने उनी बताउँछन् ।

  • प्रधानमन्त्री ओली विशेष सैनिक परेडमा सहभागी

    प्रधानमन्त्री ओली विशेष सैनिक परेडमा सहभागी

    बेइजिङ (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् ।

    सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख/सरकारप्रमुखलाई स्वागत गरेका थिए। प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवा भोजमा सरिक भए ।

    जनवादी गणतन्त्र चीनका राष्ट्रपति चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ)शिखर सम्मेलनमा भाग लिने सिलसिलामा उनी चीन भ्रमणमा छन् । चीनको औपचारिक भ्रमण सकाएर आजै प्रधानमन्त्री ओली नेपाल फर्कँदै छन् ।