Category: समाज

समाज

  • सुन्तलाको बिक्रीबाट म्याग्दीका दुई गाउँले भित्र्याए साढे दुई करोड

    सुन्तलाको बिक्रीबाट म्याग्दीका दुई गाउँले भित्र्याए साढे दुई करोड

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको राखु र बास्कुना गाउँका कृषकले सुन्तला बेचेर आ.व. २०७८ ७९मा साढे २ करोड रुपैयाँ आम्दानी गरेका छन्।
    उनीहरुले पाखोबारी र धानखेतमा सुन्तला खेती गरेर साढे दुई करोड रुपैयाँ भित्र्याएका हुन्। ६५ घरधुरीले न्यूनतम २० हजारदेखि अधिकतम २१ लाख सम्मको सुन्तला बिक्री गरी गाउँमा डेढ करोड रुपैयाँभन्दा बढी रकम भित्र्याएका हुन्।

    परम्परागत बाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका यहाँका किसान पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित भएका बेनी नगरपालिका ३ का वडाध्यक्ष पदम पुन बताउँछन्। राखुकी सन्तकुमारी पुनले यो वर्ष सुन्तला बिक्री गरेर २१ लाख रुपैयाँ आम्दानी गरेको बताइन्।

    म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २०० मिटरदेखि १ हजार ६०० मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। जिल्लाका ६ वटै स्थानीय तहको ३५५ हेक्टर जमिनमा सुन्तला खेती भइरहेको छ। जिल्लामा वार्षिक १७ करोड हाराहारीमा सुन्तला बिक्री हुने अनुमान कृषि केन्द्रको छ।

  • भुटानी शरणार्थीको कठिन अवस्थाबारे गृहमन्त्रीको ध्यानाकर्षण

    भुटानी शरणार्थीको कठिन अवस्थाबारे गृहमन्त्रीको ध्यानाकर्षण

    काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरिएको छ ।

    आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा हुने भन्दै नेपाली भाषी भुटानीलाई ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा पुनर्वासका लागि तेस्रो मुलुक पठाउनका लागि पहल गरिदिन ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

    ध्यानाकर्षण पत्रमा लेखिएको छ, “आफ्नै समुदायका व्यक्तिहरु अझै पनि नेपालको झापा र मोरङका शिविरमा कष्टकररुपमा शरणार्थी जीवन बिताउन बाध्य छन् । यसले हामी पुनर्वासमा गएर ती देशमा आफ्नो पहिचानसहित काम गरिरहेकालाई पनि पीडा दिएको छ ।”

    “नेपाली भाषा, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा मानवीय सेवालाई नै जीवनको धर्म सम्झने उद्देश्यले स्थापित यो फाउण्डेशन आफ्नै समुदायका व्यक्तिहरु अझै पनि नेपालको झापा र मोरङका शिविरमा अति कष्टकर शरणार्थी जीवन बिताउन बाध्य भएकोप्रति हामी माननीय मन्त्रीज्यूमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ”, सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    अमेरिकामा रहेका नेपाली भाषी भुटानी युवा समाजसेवीले डिल्ली अधिकारीको नेतृत्वमा अमेरिकामा सो फाउण्डेशन स्थापना गरेका हुन् ।

  • काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

    काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

    काठमाडौँ । कोरोना संक्रमणबाट नेपालमा शुक्रबार थप एक जनाको मृत्यु भएको छ ।

    काठमाडौंस्थित वीर अस्पतालमा संक्रमणबाट ५७ वर्षीय एक पुरुषको मृत्यु भएको हो । थप एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ ।

    शुक्रबार ७ सय ८३ को नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    शुक्रबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २१ पुगेको मन्त्रालयको भनाइ छ ।

  • तराईमा शीतलहर, पहाडमा आंशिक बदली

    तराईमा शीतलहर, पहाडमा आंशिक बदली

    काठमाडाैं । हाल तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावले देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ।

    आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

    पुस १७ गतेदेखि तराईमा शीतलहर चल्न सुरु भएको हो।

  • निर्मला हत्या प्रकरण : दुईजना भारतीय पक्राउ गरी डीएनए परीक्षण गरिँदै

    निर्मला हत्या प्रकरण : दुईजना भारतीय पक्राउ गरी डीएनए परीक्षण गरिँदै

    कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ गरेको छ।

    प्रहरी स्रोतका अनुसार पक्राउ गरेका दुईजनाको अहिले डीएनए परीक्षण गरिँदै छ। निर्मला हत्याको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिररहेको छ।

    केहि दिन अघि केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी दुर्गा सिंहको नेतृत्वमा निर्मला प्रकरणको अनुसन्धान गर्न छानबिन समिति बनेको थियो। सिंहको टोली अहिले अनुसन्धानको लागि कञ्चनपुर पुगेको छ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सपथग्रहण लगतै निर्मलाको हत्या प्रकरण छानबिन गर्ने प्रतिवद्धता जनाएका थिए।

  • आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति प्रदान गरिने

    आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति प्रदान गरिने

    काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति प्रदान गर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको श्रम स्वीकृति प्रदेशबाटै आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ ।

    श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि श्रम स्वीकृति प्रदान हुने भएको छ ।
    यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट यही पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समय अघिदेखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रदान हुँदै आएको छ ।

    श्रम तथा रोजगार कार्यालय सुर्खेत र कैलालीको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालेको छ । आगामी आइतबारदेखि विराटनगर र जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालयबाट समेत सबै किसिमका श्रम स्वीकृति पाइने व्यवस्था हुने भएको सहसचिव तथा प्रवक्ता डण्डुराज घिमिरेले बताए । उनका अनुसार योसँगै अब सातै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको छ ।

    मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरी श्रम स्वीकृति लिनका लागि भौतिक रुपमा कार्यालयमै उपस्थित हुनुपर्ने र विभिन्न झन्झट हुने समस्यालाई हटाउँदै अनलाइनमार्फत नै सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको जनाउँदै श्रम कार्यालय विराटनगर र जनकपुरबाटसमेत सहज रुपमा सेवा लिन अनुरोध गरेको छ ।

    कम्प्युटर प्रणालीबाट नै निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली भएकाले समयमै आवेदन नदिने र अन्तिम समयमा श्रम स्वीकृति लिन खोज्दा समस्या हुँदै आएको छ । त्यसैले श्रम स्वीकृतिका लागि समयमा नै अनलाइन आवेदन दिएर बिना झन्झट सेवा लिन मन्त्रालयद्वारा प्रकाशित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । पछिल्लो समय श्रम मन्त्रालय र यस मातहतका निकायबाट प्रदान हुने सेवालाई छिटो र सरल रुपमा लिन मिल्ने गरी अनलाइन प्रणालीको विकास गरिएको जनाइएको छ ।

    अनलाइनमार्फत नै नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सफल भएकै कारण वैदेशिक रोजगार विभागले लिभिङ विथ आइसिटी नामक संस्थाबाट सर्वोत्कृष्ट पुरस्कारसमेत पाएको श्रम मन्त्रालयको उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै मन्त्रालयले उक्त विज्ञप्तिमार्फत आउँदा दिनमा समेत थप सुधारको प्रक्रिया अघि बढाउने जनाएको छ ।

  • कम्बोडियामा निधन भएका निराकारका बुबासँग प्रधानमन्त्रीको भेट, सहयोग गर्ने प्रतिबद्धता

    कम्बोडियामा निधन भएका निराकारका बुबासँग प्रधानमन्त्रीको भेट, सहयोग गर्ने प्रतिबद्धता

    काठमाडौं । कम्बोडियाको एक क्यासिनोमा आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन्।

    प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरे।

    प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

    प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुवा अग्निलाई आग्रह गरे।

  • चिसो अत्यधिक बढेपछि नेपालगन्जमा दाउरा वितरण गर्न सुरु

    चिसो अत्यधिक बढेपछि नेपालगन्जमा दाउरा वितरण गर्न सुरु

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्र दाउरा वितरण गर्न थालेको छ । पछिल्ला केही दिनयता चिसो अत्यधिक बढेपछि नगरका विभिन्न स्थानमा दाउरा वितरण गर्न सुरु गरिएको हो । पहिलो दिन नगरका विभिन्न २३ स्थानमा वितरण गरेर दाउरा जलाइएको नगर प्रहरी प्रमुख सूर्य बोगटीले जानकारी दिए ।

    गणेशमान चोक, बीपी चोक, पुष्पलाल चोक, कारकाँदो चोक, राँझा चोक, चारबाहिनी चोक, भेरी अस्पताल अगाडि, बसपार्क, नेपाली कांग्रेस, एमाले र जसपा पार्टी कार्यालय अगाडि, बाँके जिल्ला अदालत परिसर, औद्योगिक क्षेत्र अगाडि, भुजई गाउँ चोक, सडक विभाग कार्यालय अगाडि, विशाल चोक, विकास नगर चोक कारकाँदो प्रहरी बिट, खजुरारोड पिपलचौतारा, गुलरिया बसपार्क प्रहरी बिट, चिडिमार टोल, खजुरा रोड शिव मन्दिर र वडा नम्बर १ स्थित शिवराम मन्दिरमा दाउरा वितरण गरिएको बोगटीले बताए ।

    मानिसहरुको चहलपहल र चाप बढी भएका ठाउँहरु हेरेर आवश्यकता अनुसार दाउरा वितरण गरिएको छ । वन कार्यालयले माग गरे बमोजिम दाउरा उपलब्ध गराउन नसकेपनि प्राप्त हुने दाउराको परिमाणका आधारमा वितरण गरिने बोगटीले सुनाए ।

  • धाेबिघाटकाे कवाडी गाेदाममा आगलागी

    धाेबिघाटकाे कवाडी गाेदाममा आगलागी

    ललितपुर । ललितपुरको धोबिघाटमा आगलागी भएको छ ।

    बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका-३ स्थित धोबिघाटको एक कवाडी गोदाममा आगलागी भएको हो ।

    आगलागी कसरी लागेको भन्ने खुलिसकेको छैन। अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

    काठमाडौं र ललितपुरको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

  • सिद्धार्थनगरमा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि नगरपालिकाको आलोचना

    सिद्धार्थनगरमा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि नगरपालिकाको आलोचना

    रुपन्देही । सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि नगरपालिकाको चर्को आलोचना भएको छ ।

    सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ लु१ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै लगेपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध चर्को नाराबाजी नै गरेका छन् ।

    साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक खानले दोषी कर्मचारीलाई कारबाही गर्ने बताएका छन् ।