Category: हुलाक स्पेसल

हुलाक स्पेसल

  • देशभर आंशिक बदली, यस्तो रहनेछ आगामी तीन दिनकाे माैसम

    देशभर आंशिक बदली, यस्तो रहनेछ आगामी तीन दिनकाे माैसम

    काठमाडाैं । शुक्रबार देशभर आंशिक बदली रही धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    मौसम पूर्वानुमान महाशाखामा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।

    दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ । गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ पुस १६ गते (शुक्रबार)

    दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    २०७८ पुस १७ गते (शनिबार)

    दिउँसो : देशभर आंशिक बदली रहनेछ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ ।

    २०७८ पुस १८ गते (आइतबार)

    दिउँसो : देशभर आंशिक बदली रहनेछ ।

    राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ ।

  • बिहीबार पनि यी स्थानमा वर्षा र हिमपातको सम्भावना

    बिहीबार पनि यी स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडाैं । बुधबार मुलुकभर वर्षा भएपछि चिसो बढेको छ । बिहीबार केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले भनेकाे छ ‘देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।’

    हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बिहीबार राती प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।

    देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

  • अब निजी अस्पतालमा पनि कोरोनाको खोप लगाउन पाइने

    अब निजी अस्पतालमा पनि कोरोनाको खोप लगाउन पाइने

    काठमाडौं । सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शैय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिइने छ ।

    मेडिकल कलेज र निजी अस्पतालले चाहेको खण्डमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षमाथिका नेपाली नागरिकलाई सरकारको नियमानुसार कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने मन्त्रालयको भनाइ छ ।

    खोप उपलब्धताका आधारमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउन आह्वान गरिएको छ ।

  • विदेश जानेले काठमाडौंका यी ४ अस्पतालबाट लगाउन पाउँछन् जोन्सन एन्ड जोन्सन खोप

    विदेश जानेले काठमाडौंका यी ४ अस्पतालबाट लगाउन पाउँछन् जोन्सन एन्ड जोन्सन खोप

    काठमाडाैँ । सरकारले विदेश जाने नेपाली नागरिकलाई कोरोना विरुद्ध एक मात्र लगाएमा पुग्ने जोन्सन एन्ड जोन्सन खोप दिने भएको छ । विदेश जानेहरुका लागि काठमाडौं उपत्यकाका ४ वटा सरकारी अस्पतालबाट उक्त खोपको व्यवस्था गरिएको हो ।

    काठमाडौँको छाउनीमा अवस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुको सशस्त्र प्रहरी अस्पताल र टेकुमा रहेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यो खोप विदेशको भिसा लागेका १८ वर्षमाथिका नागरिकले लगाउन पाउनेछन् । मन्त्रालयका अनुसार खोप लगाउन जाँदा अनिवार्य रुपमा भिसा लागेको पासपोर्ट लिएर जानुपर्नेछ ।

  • १० कक्षाका विद्यार्थीले बनाए विद्युतीय कार, लागत साढे १ लाख रूपैयाँ

    १० कक्षाका विद्यार्थीले बनाए विद्युतीय कार, लागत साढे १ लाख रूपैयाँ

    कैलाली । धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले विद्युतीय कार बनाएका छन् । विद्याश्रममा १० कक्षामा अध्ययनरत विद्यार्थीले उक्त कार बनाएका हुन् ।

    विद्यार्थीहरू रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको निर्माण लागत १ लाख ५० हजार रहेको विद्यार्थीले बताएका छन् ।

    कारको नाम ‘सारअल्फा’ राखिएको छ ।

    कार निर्माणमा घरपरिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको विद्यार्थी रोहितले बताए । चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् ।

    अर्का विद्यार्थी ऋषिकेशले भने, ‘अध्ययन सँगसँगै आफूहरूको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौँ ।’ रासस

  • काेभिड-१९ ले पुर्‍याइरहेकाे छ शुक्रकीटमा क्षति, नयाँ अध्ययनले बढायाे पुरुषहरुमा चिन्ता

    काेभिड-१९ ले पुर्‍याइरहेकाे छ शुक्रकीटमा क्षति, नयाँ अध्ययनले बढायाे पुरुषहरुमा चिन्ता

    कोभिड १९ संक्रमणबाट निको भइसकेपछि पनि अहिले मानिसहरुमा पाेस्ट काेभिडकाे समस्या देखिएकाे खबरहरु आइरहेका छन् । भर्खरै गरिएको एक अध्ययनले यस्ताे तथ्य पत्ता लगाएको छ, काेभिड १९ ले शुक्रकीटमा पनि क्षति पुर्‍याउँछ, जसले पुरुषको बच्चा जन्माउने क्षमतालाई पनि असर गर्न सक्छ । अध्ययनले कोभिड–१९ बाट निको भएको धेरै महिनापछि पनि शुक्राणुको संख्या घटेको देखिएको छ ।

    कोरोनाले शुक्रकीटलाई कसरी नोक्सान गर्छ ?

    हालै बेल्जियममा गरिएको एक नयाँ अध्ययनले कोरोना भाइरसले पुरुषको शुक्राणुको संख्या घटाउन सक्ने खुलासा गरेको छ । फर्टिलिटी एन्ड स्टेरिलिटी जर्नलमा प्रकाशित यस अध्ययनमा बेल्जियमका १२० पुरुषको नमूना संकलन गरि अध्यययन गरिएकाे बताइएकाे छ । जसको औसत उमेर ३५ वर्ष थियो । उनीहरु कम्तीमा एक हप्ता र औसत ५३ दिनमा कोरोनाबाट निको भएका थिए ।

    अध्ययन अनुसार कोभिड–१९ बाट एक महिनाभन्दा कम समय संक्रमित भएका पुरुषको शुक्रकीटको संख्या ३७ प्रतिशतले घटेको पाइएको छ ।

    अध्ययन अनुसार एकदेखि दुई महिनासम्म कोरोना संक्रमित भएका पुरुषमा पनि शुक्रकीटको संख्या २९ प्रतिशतले घटेको देखिएको छ । जहाँ दुई महिनापछि शुक्रकीटको संख्या ६ प्रतिशतले घटेको थियो ।

    यस अध्ययनमा संलग्न पुरुषहरुमा कोरोनाका कारण उनीहरुको शुक्राणुको संख्या मात्र नभई शुक्रकीटको गतिशीलता (स्पर्म मोटिलिटी) पनि प्रभावित भएको पाइएकाे छ ।

    एक महिनाभन्दा कम समयदेखि संक्रमित पुरुषको शुक्रकीटको गतिशीलता ६० प्रतिशतले घटेको पाइएकाे छ । त्यसैगरी, एकदेखि दुई महिनासम्म कोभिड सङ्क्रमित पुरुषहरूमा शुक्रकीटको गतिशीलतामा ३७ प्रतिशत र कोभिड सङ्क्रमणबाट निको भएकाहरूमा दुई महिनापछि पनि २८ प्रतिशतले कमी देखिएको छ ।

    यौन सम्पर्कबाट कोरोना सर्दैन भन्ने बलियो प्रमाण छ । अर्थात् कोरोनाबाट निको भइसकेका व्यक्तिको वीर्यबाट भाइरस सर्दैन । कोरोना संक्रमित व्यक्तिको वीर्यमा कोरोना भाइरसको आरएनएको उपस्थिति नभएकाे अनुसन्धानकर्ताहरुले बताएका छन् ।

    कोरोनाले सन्तान जन्माउने क्षमतामा दिर्घकालिन प्रभाव पार्छ कि गर्दैन भन्ने बारे थप अध्ययन गर्न अझै बाँकी रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

    कसरी घटाउन सक्छ पुरुषको सन्तान जन्माउने क्षमता ?

    यस अध्ययनमा कोरोना संक्रमित पुरुषको शुक्रकीटमा पर्ने असरलाई लिएर दुइटा कुरा बाहिर आएको छ – एउटा उनीहरुको शुक्राणुको संख्या घटेको र दोस्रो उनीहरुको शुक्रकीटको गतिशीलतामा असर परेको ।

    दुई महिनाभन्दा बढी समयदेखि कोरोनाबाट निको भएका पुरुषमा पनि आफ्नो यसको प्रभाव देखिएकाे छ । पुरुषको पिता बन्नमा शुक्रकीटले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छ । यस्तो अवस्थामा गर्भधारण गर्ने योजनामा ​​रहेका जोडीका लागि पुरुष पार्टनरको शुक्रकीट स्वस्थ हुनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।

    यस अध्ययनका अन्वेषकहरूले गर्भवती हुने योजनामा ​​रहेका दम्पतीहरूलाई कोभिड-१९ संक्रमणपछि शुक्रकीटको गुणस्तरमा कमी आउन सक्छ भनेर चेतावनी दिनुपर्ने बताएका छन् ।

    पुरुष प्रजनन प्रणालीले शुक्राणु वा शुक्राणु उत्पादन गर्दछ जुन प्रत्येक अण्डकोषभित्र सेमिनिफेरस नलिकाहरूमा बनाउँछ । शुक्रकीटको माथिल्लो भागमा DNA हुन्छ, जसले महिलाको डिम्बको DNA सँग मिलाएर बच्चा बनाउँछ ।

    स्वस्थ शुक्रकीटका लागि ६ वटा मापदण्डहरू छन्, तर तीमध्ये दुईवटा सबैभन्दा महत्त्वपूर्ण शुक्राणु गणना र शुक्रकीटको गतिशीलता हुन् ।

    एक एमएल वीर्यमा १५ मिलियन देखि २०० मिलियन शुक्राणुहरू भएमामात्र स्वस्थ शुक्राणु भनेर गणना गरिन्छ । यदि कुनै पुरुषमा प्रति एमएल १५ लाखभन्दा कम शुक्रकीट र प्रति स्खलन (स्खलन) ३.९ मिलियनभन्दा कम शुक्रकीट छ भने, उनी कम शुक्रकीट संख्याबाट पीडित छन् ।

    विशेष कुरा के छ भने एक मिलिलिटर वीर्यमा लाखौं शुक्राणु भए पनि बच्चा जन्माउनको लागि एउटा अण्डालाई निषेचित बनाउन एउटा शुक्रकीट मात्र चाहिन्छ ।

    शुक्राणु गतिशीलता किन महत्त्वपूर्ण छ ?

    बुबा बन्नको लागि पुरुषमा स्वस्थ शुक्रकीटको संख्या मात्र आवश्यक छैन, तर शुक्रकीटको गतिशीलता पनि उत्तिकै महत्त्वपूर्ण छ । शुक्रकीटको गतिशीलताले महिलाको अण्डामा पुग्न शुक्रकीटको उचित गतिलाई जनाउँछ ।

    शुक्रकीटको सबैभन्दा महत्त्वपूर्ण गुण भनेको तैरने क्षमता हो । शुक्रकीट तैरिरहन्छ जबसम्म यो निषेचन गर्न अण्डामा पुग्दैन । एक पुरुषमा स्वस्थ शुक्रकीट गतिशीलताको लागि शुक्राणुलाई कम्तिमा २५ माइक्रोमिटर प्रति सेकेन्डको दरमा सार्न आवश्यक छ ।

    यदि शुक्रकीट प्रति सेकेन्ड ५ माइक्रोमिटरभन्दा कम गतिमा चल्छ भने पुरुषमा शुक्रकीटको गतिशीलता कम हुन्छ ।

    यो अध्ययनले कोरोना संक्रमित व्यक्तिको शुक्रकीटमा प्रभाव पार्ने देखाएको छ । यति मात्र होइन, कोरोनाबाट निको भएको महिनौं बितिसक्दा पनि शुक्रकीटमा प्रभाव कायमै छ ।

    यसले पुरुषको सन्तान जन्माउने क्षमतामा असर पर्ने सम्भावनालाई औंल्याउँछ । यो अवस्थाबाट बच्न पुरुषले आफूलाई कोरोना संक्रमणबाट जोगाउन र सकेसम्म खोप लगाउने प्रयास गर्नुपर्छ ।

    – दैनिक भास्करबाट ।

  • कामदारको अवरोधपछि सुनकोसी-मरिन डाइभर्सनको काम बन्द

    कामदारको अवरोधपछि सुनकोसी-मरिन डाइभर्सनको काम बन्द

    सिन्धुली । मजदुरले पारिश्रमिकको विषयमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेपछि सुनकोसी मरिन डाइभर्सनको काम बन्द भएको छ । केही दिनदेखि मजदुरले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि आयोजनाको काम प्रभावित भएको हो ।

    भर्खरै निर्माणको काम सुरु भएको आयोजनामा काम गर्ने मजदुरले जिल्लाको दरअनुसार पारिश्रमिक पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि आयोजना निर्माणकार्य बन्द भएको छ ।

    आयोजनाले आफूहरूलाई दिएको पारिश्रमिक तथा सेवासुविधा न्यून रहको भन्दै पारिश्रमिक वृद्धि गर्न गरेको माग आयोजना पक्षले बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको मजदुर पूर्णबहादुर विकले बताए। उनले भने, ‘सुनकोसी–मरिन डाइभर्सनमा आफूले दैनिक आठ घण्टा काम गरेवापत आयोजनाले सुक्खा रु ५८० का दरले पारिश्रमिक दिने गरेको छ ।’ आयोजनको पारिश्रमिकले जीवन धान्न नै मुस्किल हुने उनकाे गुनासो छ ।

    आयोजनासँग जिल्लाको दर कायम हुनुपर्ने, ओभरटाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने, शनिबार पनि ओभरटाइम हुनुपर्ने, चाडपर्व, सरकारी बिदाको ओभरटाइम हुनुपर्ने, दशैँ बोनस पाउनुपर्ने, बिरामी हुँदा उपचारसहित सामान्य हाजिरी हुनुपर्ने माग राखेकाले आफूहरुको माग सम्बोधन हुनुपर्ने तिलकप्रसाद चौलागाईँले बताए । आफूहरुको माग पूरा नभएसम्म आयोजनाको सम्पूर्ण काम बन्द गरिने उनको भनाइ छ ।

    आयोजनामा मजदुर ११०, मिस्त्री ५०, मेकानिक आठ, अपरेटर २०, वेल्डर सात, दोभासे चार, कार्यालयका अन्य कामदार र ड्राइभर गरी ३२० मजदुर कार्यरत रहेका चाइना ओभरसिज इञ्जीनियरिङ ग्रुप कम्पनीका प्रसाशन प्रमुख मिस्टर लूले जानकारी दिए ।

    सुनकोसी–मरिन डाइभर्सन राष्ट्रियस्तरको आयोजना भएकाले केन्द्रीय सरकारको दरअनुसार मजदुरलाई तलब दिँदै आएको लूकाे भनाइ छ । आयोजना निमार्णको ठेक्का पाएको चाइना ओभरसिज इञ्जीनियरिङ गु्रप कम्पनीले जिल्लाको दरभन्दा कम पारिश्रमिक दिएको भन्दै आन्दोलित भएका मजदुरले शुक्रबारदेखि काम अनिश्चितकालसम्मका लागि ठप्प पार्दै आएका छन् ।

    मजदुर आन्दोलित भए पनि सम्बन्धित निकायले कुनै पहल गरेको छैन । -रासस

  • चितवन निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैंडा मरे

    चितवन निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैंडा मरे

    चितजवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई गैँडा मरेका हुन् । मरेका गैँडामा बूढो भएर पाँच, भासिएर पाँच, पानीमा डुबेर दुई, जुधेर चार र बाघको आक्रमणबाट एक गैँडा मरेको जनाइएको छ ।

    यस्तै, साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको उनले जानकारी दिए ।

    कार्यालयका अनुसार आव २०७५/७६ मा ४३ गैँडा मरेका थिए । सो समयमा गैँडा धेरै मरेपछि मर्नुको कारण खोज्न अध्ययन टोली बनाइएको थियो । यस्तै, आव २०७७/७८ मा ३३, २०७६/७७ मा २६, २०७४/७५ मा २६, २०७३/७४ मा २५, २०७२/७३ मा १४, २०७०/७१ र २०७१/७२ मा ११/११ गैँडा मरेका थिए । यस्तै आव २०६९/७० मा १० गैँडा मरेको निकुञ्जको तथ्याङ्कले जनाएको छ ।

    पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेका छन् । गैँडाको बासस्थानका हिसाबले यो निकुञ्ज उत्तम मानिन्छ । केही समय शून्य चोरी सिकारी वर्ष मनाएको निकुञ्जमा पछिल्लो समय तस्करले गैँडा मार्न थालेका हुन् ।

    गैँडाको सङ्ख्या धेरै भएकाले पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्ने सङ्ख्या पनि बढी हुने गरेको छ । सङ्ख्या बढ्दै जाँदा प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढ्नुलाई अस्वाभाविकरूपमा लिन नपर्ने विज्ञहरु बताउँछन् ।

  • काे हुन् कांग्रेसमा सर्वाधिक मत पाउने मुक्ताकुमारी ?

    काे हुन् कांग्रेसमा सर्वाधिक मत पाउने मुक्ताकुमारी ?

    काठमाडाैं । मुक्ताकुमारी यादवले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सर्वाधिक मत पाएकी छन् ।

    हालसम्मको मतगणनामा धनुषाकी यादवले मधेशी महिलातर्फ केन्द्रीय सदस्यमा खसेको ४६७१ मतमध्ये ३९६० मत प्राप्त गरेकी हुन् ।

    धनुषा क्षेत्र नम्बर २ स्थित शहीदनगर-१ बालाबाखर निवासी ४४ वर्षीया यादव संविधानसभा सदस्य एवं राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल पूरा गरेकी निवर्तमान सदस्य हुन् ।

    यसअघि खुला केन्द्रीय सदस्यतर्फ शशांक कोइरालाले ३ हजार ८३६ मत प्राप्त गरेका थिए । मुक्ताले शशांकभन्दा १२४ मत बढी ल्याएर विजयी भएकी छिन् ।

    मधेसी महिलातर्फ समूहगत उम्मेदवारको नामावलीमा सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र उपसभापति विमलेन्द्र निधि गरेर तीनवटै प्यानलमा उनको नाम समावेश थियो ।

  • २६ सय शिक्षकको आवेदन खुला, यसरी दिन सकिन्छ अनलाइन आवेदन

    २६ सय शिक्षकको आवेदन खुला, यसरी दिन सकिन्छ अनलाइन आवेदन

    काठमाडाैं । शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ ।

    आयोगले बुधबार वेबसाइटमा सूचना निकालेर निमावि तृतीय श्रेणीका लागि २ हजार ५ सय ९८ जना शिक्षकका लागि आवेदन माग गरेको हो ।

    नेपाली विषयका लागि ४ सय ३७, अंग्रेजी विषयका लागि ६ सय २४, गणितमा ३ सय ७१, विज्ञानमा ४ सय ४०, सामाजिक अध्ययनमा ३ सय ५३, शुक्लयर्वेदमा एक, गणित–विज्ञानमा ३ सय ६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै विज्ञापन खुलाएको हो ।

    इच्छुक उम्मेदवारले आउँदो माघ महिनाको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् । परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ ।

    सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन् । आवेदनका लागि आयोगको वेबसाइटमा गएर अनलाइन फारमसमेत भर्न सकिने सूचनामा उल्लेख छ । आगामी चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुनेछ ।