Category: हुलाक स्पेसल

हुलाक स्पेसल

  • प्रधानमन्त्रीसहित २३ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, को धनी को गरिब ? (भिडिओसहित)

    प्रधानमन्त्रीसहित २३ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, को धनी को गरिब ? (भिडिओसहित)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत २३ मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक सार्वजनिक भएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रधानमन्त्री र विभिन्न मन्त्रालयका मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइट मार्फत सार्वजनिक गरिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइट मार्फत सार्वजनिक गरिएको सम्पत्ती विवरण अनुसार सबैभन्दा बढी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालको सम्पत्ति छ ।

    सार्वजनिक गरेको विवरण अनुसार मन्त्री डीपी अर्यालसँग १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ । २०७४ सालअघि सुन ८२ लाख, २० हजारमा खरिद गरेको छ ।

    मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीसँग २ करोड बढी नगद बैंक तथा सहकारीमा जम्मा छन् ।

    अर्यालको जनसागर सहकारीमा १ करोड ५० लाख, प्राइम बैंकमा १३ लाख, मेगा बैंकमा १ लाख र राष्ट्रिय वाणिज्य बैंकमा ४ लाख नगद जम्मा रहेको छ। यस्तै उनकी श्रीमती अम्बिका केसीको नाममा जनसागर सहकारीमा १५ लाख, ग्लोबल आइएमई बैंकमा ५० लाख, हिमालयन बैंकमा २० लाख रुपैयाँ नगद रहेको छ । सो सम्पत्ति व्यापारबाट प्राप्त भएको विवरण उनले सार्वजनिक गरेका हुन् । यस्तै विभिन्न १२ ठाउँमा जग्गा रहेको विवरण उनले सार्वजनिक गरेका छन् । काठमाडौं १६ मा अम्बिका केसीको नाममा ३ करोड मूल्य बराबरको घर रहेको छ ।

    यस्तै धनी कै क्याटगिरीमा उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ पनि छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उहाँको नाममा जनकपुरमा ४२०० सय वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ । त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको छ ।

    २ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १ दशमलव ५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले सार्वजनिक गरेको सम्पत्तिमध्ये अधिकांश श्रीमती जुलीकुमारी महतोको नाममा देखिन्छ ।

    यस्तै सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैभन्दा गरिब उपप्रधान तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठ देखिएका छन् ।

    मन्त्री श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ। त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख गरेका छन् । सिंहदरबारस्थित रावा बैंकको खातामा तलब सुविधाको १ लाख २२ हजार ९१८ रूपैयाँ मौज्दात छ।

    यस्तै, प्रधानमन्त्री पुष्प कमल दाहालल प्रचण्डको सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्ने हो भने उनी पनि गरिब नै देखिएका छन् । प्रधानमन्त्री प्रचण्डको कुल सम्पत्ति भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ । सोही ठाउँमा रहेको थप १ कठ्ठा जमिन रहेको छ । जुन स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको छ । यो घर र जग्गा पैतृक सम्पत्ति भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ । प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ ।

    प्रधानमन्त्री प्रचण्डको नाममा रहेको एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ ।

    विवरणअनुसार प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन । तर या एउटा रोचक कुरा के छ भने प्रधानमन्त्रीको पैतृक सम्पत्ति बढेको छ । २०७३ सालमा प्रधामनन्त्री हुँदा उनले बुझाएको सम्पत्ति विवरणमा एक कठ्ठा पैतृक सम्पत्ति र ३ तोला सुन रहेको उल्लेख थियो । अहिले प्रधामनन्त्री प्रचण्डले थप १४ कठ्ठा जमिन पनि थप सम्पत्तिका रुपमा देखाएका छन् । तर यसलाई पनि पैतृक सम्पत्तिकै रुपमा उल्लेख गरेका छन् ।

    २०७३ सालमा ३ तोला मात्रै पैतृक सुन रहेको विवरण बुझाएका प्रचण्डले अहिले ५ तोला सुनलाई पनि पैतृक नै भनेका छन् । सरकारले प्रधानमन्त्री लगायत २३ मन्त्रीहरुको सार्वजनिक गरेको सम्पत्ति विवरको अध्ययन गर्दा सबैको सम्पत्ति श्रीमतीको नाममा रहेको खुलेको छ ।

  • ओलीको गलामा सयपत्रीको माला

    ओलीको गलामा सयपत्रीको माला

    काठमाडौं । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदभित्र तनाव सिर्जना हुनसक्ने भाषामा अभिव्यक्ति दिएका छन् । संसदीय छानविन समिति माग गरिरहेको प्रमुख प्रतिपक्षसँग तनाव बढाउन ओलीको अभिव्यक्ति पर्याप्त हुनसक्नेछ ।

    सहकारीको वचत अवैध अपचलनमा नाम मुछिएका उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको संलग्नता छानविन गर्न संसदीय समिति माग गर्दै नेपाली कांग्रेसले संसदका वैठकहरुमा अवरोध पुर्याउँदै आएको छ ।

    मंगलबार राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि बसेको प्रतिनिधि सभा वैठक पनि अवरोधकै कारण अघि बढ्न सकेन ।प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षको माग कसरी सम्वोधन गरेर सदनको अवरोध फुकाउन सकिएला भनेर सभामुख देवराज घिमिरे र नेताहरुसँग सम्वाद गरिरहेका छन् । सम्वाद नै सबै विवादको निकास दिने उपयुक्त उपाय हो भनेर विगतमा पनि अभ्यास गर्दै आएको हाम्रो संसदले अहिले र भविष्यमा पनि उत्पन्न हुनसक्ने विवादहरु समाधान गर्न सम्वादको विकल्प खोज्न सक्दैन ।

    केपी शर्मा ओली वर्तमान सत्ता गठबन्धनका परिकल्पनाकार हुन् र मुख्य साझेदार नेता पनि । उनकै अथक प्रयत्नमा यो गठबन्धनको निर्माण भएको हो । संसदभित्र र संसद बाहिर पनि उत्पन्न हुने तनाव र विवादको निकास खोज्न उनी पनि उत्तिकै जिम्मेवार छन् । अझ अहिले त सरकारकै एक मुख्य अंशियार छन् ओली । तर आश्चर्यको कुरा त के छ भने प्रमुख प्रतिपक्षको माग सम्वोधन गर्नेगरी विकल्प खोजेर संसदलाई सहज गति प्रदान गर्न पहल गर्नुपर्नेमा उनी त तनाव उत्पन्न गर्ने अभिव्यक्ति दिन पो सक्रिय भएका छन् ।

    आजै एमाले संसदीय दलको वैठकमा अध्यक्ष ओलीले दिएको उत्तेजक भाषणले संसदको गतिरोध हटाउन होइन तनाव बढाउनमात्र योगदान गर्ने छ । प्रतिपक्षको प्रतिरोध गर्ने भनेर उनले दिएको अभिव्यक्तिले कस्तो सन्देश प्रवाह गरिरहेको छ भन्ने कुरा आफैंमा प्रस्ट छ ।

    ओली एमालेका अध्यक्षमात्र होइनन् । उनी पटक पटक प्रधानमन्त्री समेत भैसकेका नेता पनि हुन् । आफैं पनि प्रमुख प्रतिपक्षको स्थानमा बसेर राष्ट्रिय राजनीतिमा योगदान गरिसकेका नेता हुन् ओली । सबैभन्दा लामो समय संसद अवरुध्द गर्ने इतिहास बनाएको पार्टी एमालेका अध्यक्ष हुन् ओली । त्यसकारण प्रमुख प्रतिपक्षसँग सम्वादको विकल्प तनाव हो भनेर दृष्टान्त हुनेगरी आफ्नै सांसदहरुलाई समेत उत्तेजित बनाउने किसिमले प्रतिरोध गर्ने धम्की दिनु ओली जत्तिका नेतालाई शोभनीय कुरा नहुनुपर्ने हो ।
    आज पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने टिप्पणी गरेका छन् ।

    ओलीको भनाई छ, ‘नेपाली कांग्रेसले बकबास बोलिरहने हामी सुनिरहने होइन । यस्तो हुन्छ ? अब बकबास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ नि । यतै टोक्या छ, उतै टोक्या छ, यो के तरिका हो ?’

    कांग्रेसले संसद र सांसदहरुको बहुमूल्य समय नष्ट पारिरहेको आरोप लगाउँदै ओलीले भने, ‘यो देशको बहुमूल्य समय खेर फाल्न हुँदैन, संसद सुचारु हुनुपर्छ ।’

    ओलीले अब संसदमा कांग्रेसलाई बोल्न नदिने चेतावनी पनि दिएका छन् । संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्ने र उनले बोल्न नपाए एमालेले बोल्ने ओलीको भनाई छ ।

    भोलि बिहीबारदेखि एमाले सांसदहरु बहस गर्न तयार भएर संसदमा जानुपर्ने आदेश दिँदै उनले भने,‘हामी बहस गर्न तयार भएर जान्छौं, संसदमा भोलिदेखि हामीले बहस गर्न पाउनुपर्छ, अरु कुरा छैन ।’संसदको अवरोध फुकाउने बिषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि लचिलो हुनसक्नेसम्म हुनुपर्छ । विगतका संसदीय परम्परा र अभ्यासलाई उदाहरण मान्ने हो भने संसदीय समिति सर्वदलीय स्वरुपमा बनेका छन् ।

    कुनै पनि विवादित बिषयमा व्यक्तिको नाम जोडिएको भएपनि संसदले बिषयलाई केन्द्रमा राखेर छानविन समिति बनाएर निकास निकालेको संसदीय अभ्यासको अनुभव छ । २०४८ देखि निरन्तर संसदमा उपस्थित रहेका एमाले, नेपाली कांग्रेस लगायतका दलहरु यसबारे पर्याप्त जानकार छन् । तसर्थ ठूला दललाई सत्तापक्ष र प्रतिपक्षका पीडा राम्रैसँग अनुभव छ । अनुभवलाई शिक्षाका रुपमा ग्रहण गरेर संसदलाई अनन्तकालसम्म बन्धक बनाउने होइन व्यवहारिक निकास दिएर अघि बढ्ने बाटो पहिल्याउनु नै सबैको हितमा हुने छ ।

    सत्तारुढ दलका एक मुख्य नेता ओलीले संसदलाई सम्भावित तनावको थलो बनाउने किसिमको अभिव्यक्ति दिँदा संसदको र स्वयं उनकै मर्यादामा आँच आउने छ । अहिले संसदमा उठेको विवाद र प्रतिपक्षको माग समाधान गर्न ओलीको सकारात्मक प्रयाश निर्णायक हुनपनि सक्छ । बरु आफ्नो राजनीतिक प्रभाव यतातिर उपयोग गरेमा ओलीकै गलामा सयपत्रीको माला थपिने छ ।

  • गिरीबन्धु टी–स्टेट प्रकरणमा संलग्न ओली सरकारमाथि कारवाही होस् : गगन थापा

    गिरीबन्धु टी–स्टेट प्रकरणमा संलग्न ओली सरकारमाथि कारवाही होस् : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगन थापाले गिरीबन्धु टी–स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय गरेर तत्कालीन सरकारले नीतिगत भ्रष्टाचार गरेको बताएका छन् ।

    मंगलबार अपरान्ह थापाले सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सर्वोच्च अदालतले गिरीबन्धु–टी स्टेटको जग्गाका सट्टापट्टा गर्ने सन्दर्भमा तत्कालीन मन्त्रिपरिषदले २०७८ वैशाख १३ गते गरेको निर्णय र त्यससँग सम्बन्धित काम कारवाहीका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला ऐतिहासिक रहेको उल्लेख गरेका छन् ।

    फैसलाले गिरीबन्धु टी–स्टेट लगायताका हदबन्दी छुट पाएका सरकारी तथा सार्वजनिक जग्गामा नजर गाडेर बसेकालाई नजरबन्द गरिदिएको थापाको भनाइ छ । गिरीबन्धु टी–स्टेटको जग्गाका सट्टापट्टाको निर्णय तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको थियो ।

    महामन्त्री थापाले लेखेका छन्,‘ गिरीबन्धु टी–स्टेटको जग्गाका सट्टापट्टा गर्ने सन्दर्भमा तत्कालीन मन्त्रीपरिषदले २०७८ वैशाख १३ गते गरेको निर्णय र त्यससंग सम्बन्धित काम कारवाहीका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला ऐतिहासिक छ। फैसलाले गिरीबन्धु टी स्टेट लगायताका हदबन्दी छुट पाएका सरकारी तथा सार्वजानीक जग्गामा नजर गाडेर बसेकाले नजर बन्द गरिदिएको छ। सम्मानित अदालतले २०७८।०१।१३ को मन्त्रीपरिषदको निर्णयलाई “सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त” निर्णयको संज्ञा दिँदै सो निर्णय खारेज गरेको छ । यसले तत्कालीन सरकारले जबरजस्ती ढङ्गले गरेको निर्णय र कानुन संशोधन कति गलत र वदनियतपूर्ण थियो भन्ने पुष्टि त गरेको छ नै नीतिगत बाटोबाट हुने भ्रष्टाचारको उदाङ्गो पारिदिएको छ। उक्त निर्णय अनुचित र वदनियतपूर्ण भएकोले यस्तो निर्णय गर्ने गराउने गलत नै हुन भन्नेमा अब द्विविधा भएन। अतः यस्तो वदनियत राखेर निर्णय गर्ने गराउनेमाथि थप अनुसन्धान अपरिहार्य छ।’

    अदालतले आफ्नो फैसलामा बोलेको कुराको आधारमा अब सरकारलाई जग्गा फिर्ता ल्याउने र दोषीलाई कारबाही गर्ने बलियो आधार मिलेको उल्लेख गर्दै थापाले भनेका छन्,‘यसमा सरकारले दायाँ बायाँ नहेरोस्, आलटाल र बहानाबाजी नबनाओस्।’

    यस्तो छ थापाको भनाइ :

    गिरिबन्धु टि–स्टेटको जग्गाका सट्टापट्टा गर्ने सन्दर्भमा तत्कालीन मन्त्रीपरिषदले २०७८ वैशाख १३ गते गरेको निर्णय र त्यससंग सम्बन्धित काम कारवाहीका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला ऐतिहासिक छ। फैसलाले गिरीबन्धु टी–स्टेट लगायताका हदबन्दी छुट पाएका सरकारी तथा सार्वजानीक जग्गामा नजर गाडेर बसेकाले नजर बन्द गरिदिएको छ। सम्मानित अदालतले २०७८÷०१÷१३ को मन्त्रीपरिषदको निर्णयलाई “सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त” निर्णयको संज्ञा दिँदै सो निर्णय खारेज गरेको छ । यसले तत्कालीन सरकारले जबरजस्ती ढङ्गले गरेको निर्णय र कानुन संशोधन कति गलत र वदनियतपूर्ण थियो भन्ने पुष्टि त गरेको छ नै नीतिगत बाटोबाट हुने भ्रष्टाचारको उदाङ्गो पार्दिएको छ। उक्त निर्णय अनुचित र वदनियतपूर्ण भएकोले यस्तो निर्णय गर्ने गराउने गलत नै हुन भन्नेमा अब द्विविधा भएन। अतः यस्तो वदनियत राखेर निर्णय गर्ने गराउनेमाथि थप अनुसन्धान अपरिहार्य छ।
    यस्तो महत्त्वपूर्ण नजिर स्थापना गर्न कानुनी लडाई लड्नुहुने अधिवक्ता ओम प्रकाश अर्याल लगायत सम्पूर्णमा हार्दिक धन्यवाद!

    सम्मानित अदालतले गरेको यो फैसलाले नीतिग तहबाट हुने भ्रष्टाचार रोक्ने कुरामा एउटा नयाँ मानक स्थापित गर्नेछ नै, साथै हदबन्दी छुटको दुरुपयोग गरी जग्गा सट्टा पट्टा गर्दा निश्चित आधारविना गरिएका र अन्य प्रयोजनका लागि प्रयोग गरेका जग्गा राज्यले प्राप्त गर्ने यो फैसलासंगै यस्तै प्रकृतिका छुटको सुविधा लिएका र दुरुपयोग गरिएका जग्गा राज्यको मातहत ल्याउन प्रस्ट निर्देश गरेको छ। हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भए सो जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसलाले आजसम्म अपचलन भएका, विक्री भएका सम्पूर्ण सरकारी स्वामित्वका जग्गा सरकारका नाममा फिर्ता ल्याउने बाटो समेत खुलेको छ।

    अदालतले आफ्नो फैसलामा बोलेको कुराको आधारमा अब सरकारलाई जग्गा फिर्ता ल्याउने र दोषीलाई कारबाही गर्ने बलियो आधार मिलेको छ। अदालत बोलिसकेको विषयमा अब काम गर्ने अभिभारा सरकारको हो। अतः सम्मानित अदालतले दिएको आदेश तत्काल कार्यान्वयन गर्न र भूमि सम्बन्धी ऐनको दफा १२ङ.बमोजिमको अनुगमन तथा निरीक्षण समितिलाई अविलम्ब क्रियाशील बनाइ छुटको सुविधा लिएर अरू प्रयोजनमा लगाएका,प्रयोग नगरिएका वा दुरुपयोग गरिएका जग्गा एकिन गरी सोही दफा बमोजिम अविलम्ब जफत गरी राज्य मातहत ल्याउन सरकारले तत्काल कार्यप्रारम्भ गरोस्।यसमा सरकारले दायाँ बायाँ नहेरोस्, आलटाल र बहानाबाजी नबनाओस्।

    अन्त्यमा, नीतिगत तहमा हुने भ्रष्टाचारको यो एउटा नमूनामात्र हो। यस्ता थुप्रै विषयहरू छन जुन नीतिगत निर्णयका नाममा अनुसन्धानको दायरा बाहिर राख्ने र कार्वाही नगर्ने प्रवृत्ति झाङ्गिएको छ। यसलाई नियन्त्रण गर्न संसदमा विचाराधीन रहेका भ्रष्टाचार सम्बन्धी कानुन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन सम्बन्धी कानुनका दुई संशोधन विधेयकमा नीतिगत भ्रष्टाचारका सम्बन्धमा स्पष्ट प्रावधान राख्न हामीले नै संशोधन दर्ज गरेका छौं । ति विषय कानुनमा नै समेटौं, नीतिगत रूपमा हुने भ्रष्टाचारको मुख कानुनी रूपमै टालौं। साथै, तामेलीमा रहेका यस्ताखाले नीतिगत भ्रष्टाचारका विषयलाई छानबिनको दायरामा ल्याउँ ।

  • आर्थिक अपराधको मतियार सानीमा बैंकमाथि अनुगमन गर्दै राष्ट्र बैंक, हुनसक्छ लाइसेन्स खारेजीसम्मको कारबाही !

    आर्थिक अपराधको मतियार सानीमा बैंकमाथि अनुगमन गर्दै राष्ट्र बैंक, हुनसक्छ लाइसेन्स खारेजीसम्मको कारबाही !

    काठमाडौं । केवाईसी अपडेटमा सानीमा बैंकले गरेको लापरवाहीमा राष्ट्र बैंकले चासो देखाएको छ ।

    उदयपुरका नारायणबहादुर राईको हराएको नागरिकता प्रयोग गरेर रामेछापका राजन श्रेष्ठले सानीमा बैंकमा खाता खोलि करिब तीन करोड रुपैयाँ दुरुपयोग गरेका थिए । यो केसमा बैंकले खाता खोल्ने व्यक्तिले दिएको डकुमेन्ट प्रमाणीकरण नगरी केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग–अलग हुँदासमेत खाता खोल्न दिएर कारोबार गराएको थियो ।

    आर्थिक अपराधको केन्द्र सानिमा बैंक, अलग–अलग व्यक्तिकाे नागरिकता र फाेटाेबाट पनि खुल्छ खाता !

    श्रेष्ठले राईको हराएको नागरिकता प्रयोग गरेर खाता खोलेका थिए तर केवाईसी फर्मममा भने श्रेष्ठकै फोटो प्रयोग भएको थियो । यतिसम्म गर्दा पनि बैंकले खाता खोलिदिएर श्रेष्ठको अपराध कर्ममा सहयोग पुर्याएको थियो । अहिले यही विषयमा राष्ट्र बैंकले चासो देखाएको हो ।

    राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार जुनसुकै बैंकले गरेको गल्ती कमजोरीमा राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले निरीक्षण गर्छ । यसबारे पनि सुपरीवेक्षण विभागले अध्ययन गरिरहेको छ ।

    नेपाल राष्ट्र बैंकबाट इजाजत लिई सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो काम कारबाही प्रचलित ऐन, नियम, निर्देशन तथा सिद्धान्त बमोजिम गरेरनगरेको सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी यकिन गर्ने कार्य नै सुपरिवेक्षण हो ।

    हराएको नागरिकता प्रयोगगरी करोडौं ठगी, मतियार बन्दै बैंक [भिडियो सहित]

    प्रवक्ता भट्ट भन्छन् ‘केवाइसी भनेको महत्वपूर्ण कागज हो । यसको पूर्ण पालना हुनुपर्छ, यसमा कतिपय संवेदनशील सूचना हुन्छ यसको दुरुपयोग नहोस् । गोपनीयता कायम रहोस् भनेर हामी सचेत हुनपर्छ ।’ यसमा असंलग्न व्यक्तिहरु पसेर पैसाको कारोबार नगरुन् भनेर नै केवाईसी अपडेट गर्नुपर्ने हो । गल्ती गर्ने एउटामात्र होइन जुनसुकै बैंक कारबाहीको दायरामा आउने उनले बताए ।

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन) अनुसार बैंकका नियम उल्लंघन गर्नेलाई सचेत गराउनेदेखि इजाजतपत्र निलम्बन वा रद्ध गर्ने सम्मको व्यवस्था छ ।

  • चर्चामा संसदीय छानबिन समिति, यस्तो छ विगतको अभ्यास 

    चर्चामा संसदीय छानबिन समिति, यस्तो छ विगतको अभ्यास 

    यतिबेला संसदीय छानबिन समिति बनाउनु पर्छ र बनाउनु हुँदैनको बहस चर्को छ । गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ, सत्ता गठबन्धन त्यो मान्न तयार छैन ।

    काठमाडौं । यतिबेला संसदीय छानबिन समिति बनाउनु पर्छ र बनाउनु हुँदैनको बहस चर्को छ । गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ, सत्ता गठबन्धन त्यो मान्न तयार छैन । यसले संसदको नियमिततामै गतिरोध ल्याएको छ ।

    खास प्रकारका घटना, विवाद र बहसबीच समितिहरु गठन भइआएका हुन् । समिति गठन गर्नै हुँदैन भन्ने होइन । गठित समितिले बुझाउने प्रतिवेदन वा दिने निष्कर्ष कस्तो हुन्छ र त्यसको कारबाही प्रक्रिया कसरी अघि बढ्छ भन्ने पक्ष महत्वपूर्ण हुनुपर्छ । संसदभित्र र बाहिर भएका घटनाहरुमा चर्को  मतभेद र बहस भएपछि राजनीतिक दलहरुकै सहमतिमा विगतमा संसदले छानबिन समिति बनाएको अभिलेख छ ।

    सत्ताधारी दलहरु समिति बनाउने मामिला सकेसम्म टार्न खोज्छन्, विपक्षी माग गर्छन् । दुवै थरीको स्वार्थ मिल्दा हतार हतार आआफ्ना सांसदलाई संयोजक/सदस्य तोकेर समिति गठन गरिन्छन्, स्वार्थ मिलेन भने सकभर सत्ता पक्ष गठन गर्न सजिलै सहमत नभएका घटना विगतमा पनि छन् ।

    २०४८ सालपछि संसदमा उठेका विविध विषयमा अध्ययन गर्न भनेर १४ वटा संसदीय छानबिन समिति गठन गरिएको संसद सचिवालयको अभिलेखमा छ ।

    सर्वदलीय समिति

    २०५४ असोज १६ गतेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले स्थानीय निर्वाचन २०५४ मा अनियमितता भएको सन्दर्भमा सत्यतथ्य पत्ता लगाउनको लागि छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए । ढुंगानाको प्रस्तावका समर्थक थिए एमालेका सांसद राजेन्द्र पाण्डे ।

    त्यसपछि सर्वदलीय संसदीय संयुक्त समिति गठन भएको थियो ।

    त्यसको भोलिपल्ट असोज १७ गते राष्ट्रिय सभामा पनि कांग्रेसका सांसद महेन्द्रकुमार मिश्रको प्रस्तावमा सबै सदस्यहरुको समर्थनमा सर्वदलीय समिति बनेको थियो ।

    राष्ट्रिय सभाले मोहम्मद मोहसिनको सभापतित्वमा सांसदहरु सुनिलकुमार भण्डारी, जगन्नाथ पौडेल, सीतानन्दन राय, महादेवप्रसाद यादव रहेको समिति बनाएको थियो ।

    प्रतिनिधि सभाबाट त्यस समितिमा सदस्यहरु थिए, अनिस अन्सारी, आनन्दप्रसाद ढुंगाना, खगराज अधिकारी, नारायणमान विजुक्छे, रामकुमार ज्ञवाली, अमरराज कैनी, कृष्णप्रसाद उपाध्याय, चन्द्रप्रकाश मैनाली, राजेन्द्रप्रसाद पाण्डे र सर्वेन्द्रनाथ शुक्ल ।

    यो सर्वदलीय समितिले २०५५ भदौ २३ मा प्रतिवेदन  बुझाएको थियो ।

    राजस्व चुहावट नियन्त्रण समिति

    प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र उम्मेदवार परी थापाले २०५४ असोज २३ गते राजस्व चुहावटलाई नियन्त्रण गर्न के कस्ता उपायहरु अवलम्बन गरिँदैछ भन्ने प्रश्न उठाएका थिए । त्यही वर्षको फागुन ८ गते नेपाली कांग्रेसका सांसद रामशरण महतले गएको वर्षको तुलनामा राजस्व संकलन न्यून भएको, भन्सार छलेर भारतबाट बढी सामान भित्रिएको र राजस्व दिनप्रतिदिन घटिरहेको भनेर प्रश्न गरेका थिए ।

    यही मितिमा एमालेका सांसद विनोदकुमार शाहले एयरपोर्टबाट सुन तस्करी भएको, सुनको राजस्व उठाउन नसकिएको, निर्यात घटेर गएको प्रसंग उठाएका थिए ।

    एमालेकै तत्कालिन सांसद भरतमोहन अधिकारीले पनि राजस्व घटेको, आयात बढेको, निर्यात घटेको जस्ता विषयमा प्रश्न उठाएका थिए ।

    संसदमा यसरी प्रश्न उठेपछि राजस्व चुहावटको छानबिन गर्न भनेर संसदीय संयुक्त समिति गठन गरियो । जसमा प्रतिनिधि सभाबाट परी थापाको नेतृत्वमा खगराज अधिकारी, डा. गगाधर लम्साल, टंक राई, नारायणमान विजुक्छे, रमेश रिजाल, अनि राष्ट्रिय सभाबाट डा. मोहम्मद मोहसिन, चन्दा शाह, युवराज ज्ञवाली सदस्य रहेको समिति बन्यो । जसले २०५५ मा प्रतिवेदन बुझाएको थियो ।

    राजस्वकै समिति

    एमालेका सांसद सुवास नेम्वाङले २०५६ भदौ ३० को प्रतिनिधि सभाको बैठकमा राजस्व चुहावटको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा नेपाली कांग्रेसका सांसद टेकबहादुर चोखालको समर्थन थियो ।

    त्यसपछि राजस्व चुहावटको छानबिन सम्बन्धी संसदीय संयुक्त समिति गठन भयो । जसमा प्रतिनिधि सभा सदस्य परी थापाको नेतृत्वमा कृष्णप्रसाद सिटौला, टेकबहादुर चोखाल, बेनुपराज प्रसाई, लीलामणी पोखरेल, नारायणमान विजुक्छे, गोपालमान श्रेष्ठ, प्रकाशबहादुर गुरुङ, राजेन्द्र महतो, होमनाथ दाहाल र राष्ट्रिय सभाबाट महेन्द्रकुमार मिश्र, अम्विका पन्त चापागाई, युवराज ज्ञवाली, बालाराम घर्ती मगर र चन्दा शाह सदस्य थिए ।

    हेमनारायण हत्याकाण्ड

    २०६३ वैशाख २२ गते सुरेशकुमार कार्कीको प्रस्तावमा हेमनारायण यादव हत्याकाण्डको पूर्ण विवरण प्रस्तुत गर्न घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको सिफारिस गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरिएको थियो । प्रस्तावको समर्थक थिए शंकरप्रसाद पाण्डे, भरतकुमार शाह र डिलाराम आचार्य ।

    त्यसपछि सांसद हेमनारायण यादवको हत्याकाण्डबारे अध्ययन अनुसन्धान समिति गर्न सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा टेकबहादुर चोखाल, लेखनाथ आचार्य, योगनारायण यादव, सुशीला नेपाल, काशी पौडेल सदस्य रहेको समिति गठन गरियो ।

    नगरकोट र बेलबारी हत्याकाण्ड

    सांसद महेश आचार्यले नगरकोट र बेलबारी हत्याकाण्डका घटना छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न संसदीय समिति गठन गरियोस् भनी प्रस्ताव राखेपछि २०६४ पुस २८ मा संसदले समिति गठन गरेको थियो । प्रस्तावमा लालबाबु पण्डित र भक्तबहादुर बलायरले समर्थन जनाएका थिए ।

    त्यसपछि व्यवस्थापिका  संसदले सांसद परी थापाको संयोजकत्वमा संसदीय छानबिन समिति बनायो । जसमा कमला पन्त, गोकर्णराज विष्ट, तीर्था गौतम, धर्मशीला चापागाईं, नारायणप्रसाद साउद, रामनाथ अधिकारी, विजय सुब्बा, शिवकुमार मण्डल, हर्कमान तामाङ सदस्य थिए ।

    सीमा समिति

    व्यवस्थापिका संसदको २०६५ पुस २३ गतेको बैठकमा परी थापाले नेपाल–भारत सीमा समस्या सम्बन्धमा सरकारले जानकारी गराओस् भनी माग गरेका थिए । त्यसैगरि पुस २९ गते पदमलाल विश्वकर्माले भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमणविरुद्ध सरकारले तत्काल पहल गर्नुपर्ने भनेर प्रश्न उठाएका थिए । सांसद कुन्तीकुमारी शाहीले पनि यही कुरा चर्चा गरेकी थिइन् ।

    त्यसपछि संसदले अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिअन्तर्गत कञ्चनपुरदेखि झापासम्म नेपाल–भारत सीमावर्ती क्षेत्रका समस्याग्रस्त स्थानहरुको अध्ययन भ्रमण गर्न पदमलाल विश्वकर्माको संयोजकत्वमा उप–समिति गठन गरेका थियो ।
    जसमा आरजु राणा देउवा, कमला थापा, कुमार राई, खड्गबहादुर विश्वकर्मा सहितको समिति गठन गरेको थियो ।

    सुन्तली धामी समिति

    त्यसैगरी २०६६ पुस १३ को प्रतिनिधि सभाको बैठकमा सांसद सपना मल्ल प्रधानले गोपनीयता र आत्मसम्मानको संरक्षण गर्नुपर्ने, सावित्रा गुरुङ दुराले सुन्तली धामी बलात्कार प्रकरणमा सरकारको ध्यानाकर्षण, धर्मशीला चापागाईँ, यसोदा गुरुङ सुवेदी, रुकमणी चौधरी, लीला सुब्बा, शरद सिंह भण्डारी,  हेमराज भण्डारी, दामाकुमारी शर्मा, देवी खड्का, विन्दा पाण्डे, सुनिलबाबु पन्तले महिलाहिंसा विरुद्धमा  छानबिन गरी सत्यतथ्य पत्ता लगाइ कारबाही हुनुपर्ने माग गरेका थिए ।

    त्यसपछि विनोद पहाडीको संयोजकत्वमा मालामतिदेवी राना, लीला सुब्बा, शारदादेवी कुमाल, सीताकुमारी पौडेल, हिमकुमारी सुनार, हीरा गुरुङ सदस्य रहेको उप–समिति बनाएको थियो ।

    त्यसपछि २०६६ चैत २९ को प्रतिनिधि सभाको बैठकमा इन्द्रमाया गुरुङ, दामाकुमारी शर्मा, प्रतिभा राणा, जनककुमारी चालिसे, विना ज्ञवाली, नेत्रप्रसाद पन्थी, शारदा नेपाली, विश्वेन्द्र पासवान, सावित्रा भुषाल आदि सदस्यहरुले वर्दिया राष्ट्रिय निकुञ्ज परिसरको बाँसपानी इलाकामा नेपाली सेनाका सुरक्षाकर्मीको गोली प्रहारबाट २ जना महिला र १ जना बालिकाको मृत्यु भएको घटना सम्बन्धमा गहिरो छानबिन गरी सत्यतथ्य पत्ता लगाएर पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाहीको माग गरेका थिए ।

    यही घटनाको अनुसन्धान गर्न संसदको महिला बालबालिका र समाजकल्याण समितिअन्तर्गत २०६६ फागुन २६ मा सन्ध्या देवीको संयोजकत्वमा कविताकुमारी सरदार, खेमबहादुर वम, पुरनसिंह दयाल, विनोद पहाडी, मालामतिदेवी राना, लीलाकुमारी बगाले (सोमइ), विमला नेपाली, शारदा नेपाली र सीताकुमारी पौडेल सदस्य रहेको उपसमिति गठन गरिएको थियो ।

    लोडसेडिङ समिति

    २०६७ फागुन २९ गते सांसद कल्पना विष्ट र चैत ३ गते सांसद लीला न्याईच्याई तथा रामाकुमारी शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आयल निगमको घाटा, १४ घण्टा सम्मको लोडसेडिङको अवस्था तथा पेट्रोलियम पदार्थको विकल्पमा विद्युत उत्पादनमा जोड दिनुपर्ने सम्बन्धमा धारणा राखेका थिए । नेपाल आयल निगमको कार्य सञ्चालन र व्यवस्थापनमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन एवम् छानबिन गरि प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरियो ।

    सांसद भीम आचार्यको संयोजकत्वमा बनेको समितिमा हरि रोका, चन्द्रिकाप्रसाद यादव, प्रतिभा राणा र अर्जुन राई सदस्य थिए ।

    संविधानसभा धाँधली समिति

    माओवादीका सांसद अग्निप्रसाद सापकोटाले संविधानसभा निर्वाचनका क्रममा धाँधली भएको लगायतका विषयमा उठेका प्रश्नहरुबारे अध्ययन अनुसन्धान गरी सुझाव पेस गर्न व्यवस्थापिका संसदबाट एक संसदीय समिति गठन गर्नुपर्ने सम्बन्धमा २०७० चैत ११ गते कुरा उठाए ।

    त्यसपछि संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समिति, २०७१ मा लक्ष्मणलाल कर्णको सभापतित्वमा बलबहादुर केसी, कमलप्रसाद पंगेनी, भीमबहादुर रावल, भानुभक्त ढकाल, रामनारायण विडारी र रेखा शर्मा रहेको समिति बनेको थियो ।

    यसैगरी केपी शर्मा ओलीले २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा धाँधली भएको र सो सम्बन्धमा सत्यतथ्य बुझी आवश्यक छानबिन गरी व्यवस्थापिका संसद समक्ष प्रतिवेदन पेस गर्न संसदीय विशेष समिति गठन गर्नको लागि प्रस्ताव राखेका थिए । त्यसपछि स्थानीय तह निर्वाचन सम्बन्धी संसदीय छानबिन विशेष समिति बन्यो । सुवोधकुमार पोखरेलको संयोजकत्वमा बनेको समितिमा  अर्जुनप्रसाद जोशी, भाष्कर भद्रा, राजेन्द्रप्रसाद पाण्डे र रामनारायण विडारी सदस्य थिए ।  उनीहरुले २०७४ असोज २६ मा प्रतिवेदन बुझाएका थिए ।

    त्यसपछि पनि प्रेम गर्ने उमेर, उच्च घरानालाई फाइदा पुग्नेगरी करको दर हेरफेर र संघीयता कार्यान्वयन सम्बन्धमा अध्ययन गर्न भनेर पनि संसदीय समितिहरु बनेका थिए ।

  • कोशी प्रदेश : दाहाल, ओली र देउवाको कठपुतली

    कोशी प्रदेश : दाहाल, ओली र देउवाको कठपुतली

    काठमाडौं । केन्द्रमा दलहरुबीच फेरिइरहने समीकरण र नयाँ गठबन्धनसँगै कोशी प्रदेश सरकार अस्थीर बन्ने गरेको छ । दलीय समीकरण फेरिएसँगै प्रदेशमा त्यसको प्रत्यक्ष असर देखिने गरेको छ । हालै कोशी प्रदेश सरकारको नेतृत्व फेरिएर अस्थीरतालाई निरन्तरता दिएको भनेर टिकाटिप्पणी भैरहेको छ ।

    अस्थीरताको निरन्तरताको कारण कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म ६ वटा सरकार फेरिइसकेका छन् । कुनै पनि सरकारले लामो अवधि काम गर्न नपाएको ठूलो उदाहरण बनेको छ कोशी प्रदेश ।

    कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की सात महिनापछि फेरि मुख्यमन्त्रीको जिम्मेवारीमा आएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङ्गले संविधानको धारा १६८ उपधारा ५ बमोजिम बिहीबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

    कार्कीले शपथ लिएर कार्यभार सम्हालिसकेका छन् । तत्कालका लागि दुईजना मन्त्री पनि नियुक्त गरेका छन् । एमाले र माओवादी केन्द्रका समेत गरी ५२ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् । समर्थन गर्नेमा एमालेका ३९ र माओवादीका १३ जना सांसद छन् ।

    कोशी प्रदेश सभाको दोस्रो कार्यकालको १६ महिनाको अवधिमा कार्की तेस्रो पटक मुख्यमन्त्री बनेका हुन् ।

    संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २७ मा मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेसका नेता केदार कार्कीले आफूलाई समर्थन गर्ने दलहरूले समर्थन फिर्ता लिएको ३० दिन पूरा भएको, त्यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत नलिएको तथा वैशाख ७ मा प्रदेश सभाबाट पारित मुख्यमन्त्री विरूद्धको संकल्प प्रस्तावले उनी अल्पमतमा परेपछि प्रदेश प्रमुखले नयाँ सरकार बनाउन आह्वान गरेका थिए ।

    प्रदेश सभाको दोस्रो कार्यकालको हालसम्म कोशीमा ६ वटा सरकार बनिसके पनि हालै गठित सरकार पनि लामो समय रहला भनेर विश्वास गरिएको छैन । २०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको निर्वाचनमा कुनै पनि दलले प्रदेश सभामा बहुमत पाउन सकेनन् ।

    एमाले नेता कार्की सुरुमा माओवादी, जनता समाजवादी पार्टी, राप्रपा लगायतका दलहरूको समर्थनमा मुख्यमन्त्री बनेका थिए । माओवादी र जसपाले बीचैमा साथ छाडेपछि उनीे असार १५ गते पदमुक्त भएका थिए ।

    राजनीतिक समीकरण फेरिएसँगै असार २१ गते कांग्रेस नेता उद्धव थापा मुख्यमन्त्री बने । तत्कालीन सभामुख बाबुराम गौतमलाई समेत समर्थनकका रुपमा हस्ताक्षर गराएर मुख्यमन्त्री बनेका थापालाई साउन ११ गते सर्वाेच्च अदालतले पदमुक्त गरिदिएको थियो ।

    सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर साउन १६ मा थापा दोस्रोपटक मुख्यमन्त्री बने । भदौ ४ गते विश्वासको मत लिने दिन उपसभामुख सिर्जना दनुवार लगायतका एमाले–राप्रपाका ८ जना ज्येष्ठ सदस्य अनुपस्थित भए । सत्ता गठबन्धनले बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई मुख्यमन्त्रीको पक्षमा मत दिन लगाएको थियो ।

    सभामुखकै हैसियतमा रहेका मन्सुरीलाई मुख्यमन्त्रीको समर्थकका रुपमा प्रयोग गरिएपछि असंवैधानिक भन्दै त्यसपछि एमाले फेरि सर्वोच्चको ढोका ढक्ढक्याउन पुग्यो ।

    सर्वोच्चमा दायर गरिएको रिटमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबभन्दा ठूलो दलको रूपमा एमाले नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरिएको थियो ।

    सर्वोच्चले भदौ २१ गते रिट निवेदनका मागबमोजिम परमादेश जारी गरेपछि कार्की भदौ २२ दोस्रोपटक मुख्यमन्त्री नियुक्त भए ।

    ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एकजना सांसद छन् ।

    संघीय संसद समेत नियमित कार्यसूचिमा प्रवेश गर्न नसकिरहेकै अवस्थामा अधिवेशन अन्त्य भएको थियो । शुक्रबार सुरु भएको बजेट अधिवेशन नियमित कार्यसूचीमा प्रवेश गर्न नसकी अन्त्य भएको थियो । अधिवेशन प्रारम्भ भएकै दिन संसदको बैठक बस्न नसकेको रेकर्ड राख्दै प्रतिनिधि सभाले संवाद र समन्वयबाट सबै किसिमका विवादको समाधान गर्न सम्भव छ भनेर विगतमा बनेको नजीर अनुशरण गर्न असमर्थ भएको छ ।

    यसको प्रत्यक्ष प्रभाव कोशी लगायतका प्रदेश सरकारहरुमा परेको देखिएको छ । प्रमुख दलका शीर्ष नेताहरुले सत्ता गठबन्धन परिवर्तन गर्न जो सँग पनि सहकार्य गर्न सकिने चलन चलाएपछि प्रदेश सभामा स्थानीय तहको मौलिक समझदारी र समन्वयको अभ्यास नै सुरु हुन पाएको छैन । त्यसको प्रत्यक्ष असर भनेको प्रदेश सभा र सरकार आफ्नो खुट्टामा उभिन असमर्थ देखिएका छन् र उनीहरु केन्द्रको निर्देशन नभई श्वास फेर्न पनि सक्दैनन् भन्ने उदाहरण बनिरहेको छ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको इशारामा नाचिरहेका प्रदेश सभाहरुले पार्टी प्रमुखहरुसँग आत्मसमर्पण गरेकैले प्रदेश सरकार जसको नेतृत्वमा बनेपनि जनविश्वास आर्जन गर्ने हैसियत भने गुमाउँदै गएको छ ।

  • आर्थिक अपराधको केन्द्र सानिमा बैंक, अलग–अलग व्यक्तिकाे नागरिकता र फाेटाेबाट पनि खुल्छ खाता !

    आर्थिक अपराधको केन्द्र सानिमा बैंक, अलग–अलग व्यक्तिकाे नागरिकता र फाेटाेबाट पनि खुल्छ खाता !

    काठमाडौं । उदयपुरका नारायणबहादुर राई करिब १२/१५ वर्ष अघि ज्यामी काम गर्थे । भैँसेपाटीबाट बुढानीलकण्ठ काम गर्न साइकलमा जाँदा उनको नागरिकतासहितको पर्स हरायो । केही समयको अन्तरालमा उनले नागरिकताको प्रतिलिपि निकाले ।

    अहिले पठाओ चलाएर दैनिक गुजारा चलाउँदै आएका उनै राईविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी विलखबन्दमा परे । आफूले केही गल्ती नै नगरी पक्राउ पूर्जी जारी हुँदा डराए पनि ।

    प्रहरीले उनलाई बोलाएर सोधपुछ गर्‍यो । २१९ जनाबाट करिब ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ पूर्जी जारी भएका राईमाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

    प्रहरीको सोधपुछपछिमात्र उनले बल्ल थाहा पाए उनको हराएको नागरिकता दुरुपयोग भएछ । त्यही नागरिकताको कारण उनी प्रहरी हिरासतसम्म पुगे ।

    केवाइसीमा सानिमा बैंकको बदमासी

    उनको हराएको नागरिकता रामेछाप घर भएका राजन श्रेष्ठले फेला पारे । श्रेष्ठले भेट्टाएको नागरिकताको दुरुपयोग गरे । उनले नारायणबहादुर राईको नाममा सानिमा बैंकमा खाता खोले । खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखे तर नागरिकता नारायणबहादुर राईको राखे ।

    यो केसमा सानिमा बैंकले यतिसम्म लापरवाही गर्यो कि खाता खोल्ने व्यक्तिले दिएको डकुमेन्ट प्रमाणीकरण नगरी केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग–अलग हुँदासमेत खाता खोलिदियो । यसरी ठगी गर्न खोलिएको खातामा प्रयोग भएका कागजपत्र बैंकले प्रमाणीकरण नगर्दा कतै बैंक नै ठगीमा संलग्न छ कि भन्ने आशंका पैदा भएको छ । जसका कारण नारायणबहादुर राईले हैरानी ब्यहोर्नुपर्यो ।

    नारायणबहादुर राईको नागरिकता फेला पारेर राजन श्रेष्ठले बैंकमा खातामात्र खोलेनन् उनकै नागरिकता प्रयोग गरेर पुतलीसडकमा एक कन्सल्टेन्सीसमेत दर्ता गरे । उनले विभिन्न व्यक्तिहरुलाई विदेश लैजाने प्रलोभनमा पारेर त्यही भेट्टाएको नागरिकता प्रयोग गरेर खोलिएको सानिमा बैंकको खातामा पैसा जम्मा गर्न लगाई ठगी गरे । उनको यही धन्दाका कारण असली नारायणबहादुर राई पक्राउ समेत परे । प्रहरी अनुसन्धानपछिमात्र बल्ल खुल्न आयो ठगी गर्ने त राजन श्रेष्ठ रहेछन् । नारायणबहादुर राईको त नागरिकता दूरुपयोग भएको रहेछ ।

    केवाइसी फर्ममा राजन श्रेष्ठको फोटो राखेर नागरिकताचाहीँ नारायणबहादुर राईको राख्दा पनि सानिमा बैंकले खाता वैधानिक भनेर कारोबार गराइराख्नु गलत भएको र यसमा बैंकले पनि लापरबाही गरेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई बताउँछन् । उनी भन्छन् ‘बैंकहरुले यस्ता कागजपत्र ध्यान दिएर हेरेमा किर्ते कागजात र ठगी गर्ने व्यक्तिहरु छिटै समातिन सक्थे । यसमा बैंकहरुको पनि लापरवाही देखिन्छ ।’

    नागरिकता दुरुपयोग भएर समस्यामा परेका नारायणबहादुर राई पनि बैंकहरुले यस किसिमको लापरवाही नगरिदिए हुने तर्क गर्छन् । उनी भन्छन् ‘हाम्रो नागरिकता यस्तो ठगहरुको हातमा परेछ । यसरी अरुको नागरिकताले बैंक खाता खोल्दा बैंकले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने हो तर बैंकको लापरवाहीले अहिले हामीजस्ता सामान्य मजदुरी गरेर खाने मान्छे समस्यामा पर्‍याैँ ।’

    आफ्नो नागरिकताका कारण कयौँ मानिस ठगिएको र आफ्नो नाम बदनाम भएकोमा उनी चिन्तित पनि छन् । उनी भन्छन् ‘बैंकमा पनि नारायणबहादुर राईको नाममा नै पैसा जम्मा हुने रहछ । यो सबै त मैले नै गरेजस्तो देखियो । बैंक अलि जिम्मेवार भैदिएको भए आज यो समस्या आइलाग्ने थिएन कि ?’

    मुख्य नाइके कारबाहीमा, सानिमा बैंकलाई कसले गर्ने कारबाही ?

    ठगीमा संलग्न राजन श्रेष्ठलगायत उनका सारथि अहिले पक्राउ परिसके । उनीहरुविरुद्ध ठगी, किर्ते मुद्धामा प्रहरीले कारबाही पनि सुरु गरिसक्यो तर खाता खोल्ने व्यक्तिले दिएको डकुमेन्ट प्रमाणीकरण नगरी केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग–अलग हुँदासमेत खाता खोलिदिने सानिमा बैंकलाई कसले कारबाही गर्ने ?

    सामान्यतया ठगीलगायत किर्ते काम नहोस्, खाता सञ्चालकको असली पहिचान खुलोस् भनेर नै बैंकले केवाइसी फर्म भराउने गर्छ । तर सानिमा बैंकले गलत कागजपत्र राखेर ठगीमा संलग्न भएकालाई साथ दिने गरी केवाईसी अपडेट गरेको छ । कहिँ कतै बैंकको यो हदसम्मको लापरवाही मिलिभगतमा भएको आशंका पनि गर्न सकिन्छ । यसबारे प्रहरी प्रशासन, राष्ट्र बैंकलगायतका निकायले छानबिन गर्न जरुरी छ ।

  • काठमाडौं महानगरको सीप मेलामा प्रशिक्षण लिनेको संख्या १० हजार बढी

    काठमाडौं महानगरको सीप मेलामा प्रशिक्षण लिनेको संख्या १० हजार बढी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको टुँडिखेलमा सीप मेला संचालन गरिरहेको छ । ‘सीप मेला २०८१’ मा हाल १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन् । हरेक दिन विहान ८ बजेदेखि कक्षाहरु भइरहेको महानगरले जनाएको छ । तालिम सञ्चालनसँगै अहिले आवेदकहरुको समूह विभाजन र कागजमा फाराम भर्नेहरुको विवरण कम्प्युटरमा प्रविष्टी गराउने काम भइरहेको महानगरको भनाइ छ ।

    तालिमका लागि २ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो । अनलाइनबाट फाराम भर्न कठिन हुनेहरुका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरुको ठूलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो ।

    लिइएका आवेदनमध्ये अनलाइनबाट करिब पाँच हजार जनाले फाराम फरेको साथै वडाहरुबाट करिब ३ हजार २ सय जनाको र टुँडिखेलमै आएर कागजमा फाराम भर्नेको संख्या १० हजार बढी रहेको महानगरको भनाइ छ ।
    मागलाई व्यवस्थापन गर्न तालिमलाई सीप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमसँग आवद्ध गरेर नियमित गरिने योजना बनाइएको, सी मेला निर्देशक समितिका सदस्य सुदिप ढकालले जानकारी दिए ।

    ढकालका अनुसार वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइनेछ । उनीहरुलाई वैशाख २८ गते शुक्रबारभित्र तालिम तालिका उपलब्ध गराइने योजना छ । २० गतेपछि फाराम भर्नेहरुको हकमा अर्को व्यवस्था गरिने ढकालले जनाए ।

  • घट्यो वाइवाइ चाउचाउको बिक्री

    घट्यो वाइवाइ चाउचाउको बिक्री

    काठमाडौं । चौधरी ग्रुपले उत्पादन गर्ने वाइवाइ चाउचाउको विक्री घटेको छ । पछिल्लो समयमा सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका कारण चाउचाउको बिक्री प्रभावित बनेको हो ।

    त्रिवि क्रिकेट मैदान बाहिर पसल सञ्चालन गर्दै आएका नन्दु दाई (नन्दराम महर्जन) आजभोलि वाइवाइ चाउचाउको विक्री घटेको बताउँछन् । उनी भन्छन् ‘पहिले धेरै चाउचाउ बिक्री हुन्थ्यो तर आजभोलि बिक्रि नै हुन छोड्यो ।’

    बिहीबार नेपाल र वेस्ट इण्डिजबीचको खेल भइरहेको बेलामा त्रिवि क्रिकेट मैदानभित्र प्रहरीले चाउचाउ बेच्न नै नदिएको गुनासो पनि उनले गरे ।

    गएको सातामात्रै कम गुणस्तरका चाउचाउ बजारमा बिक्रीवितरण गरेको भेटिएपछि महानगरको कृषि तथा पशुपन्छी विभागले वाइवाइ चाउचाउलाई जरिवाना तिराएको थियो ।

    साथै, महानगरले गरेको नमुना परीक्षणका क्रममा चाउचाउ खानयोग्य नभएको पाइएको थियो । त्यसपछि सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा वाइवाइ खान योग्य नभएको भन्दै चर्चा भइरहेको छ । यसको प्रभाव यतिबेला बजारमा पनि देखिएको हो ।

  • इन्टरनेट सेवा प्रदायककाे नाकाबन्दी! बेरुजु विवादमा ‘इन्टरनेट ब्ल्याकआउट’ प्रयास

    इन्टरनेट सेवा प्रदायककाे नाकाबन्दी! बेरुजु विवादमा ‘इन्टरनेट ब्ल्याकआउट’ प्रयास

    काठमाडौं । भारतको दूरसञ्चार कम्पनी एयरटेलले नेपालका इन्टरनेट सेवा प्रदायकलाई दिइरहेकाे व्यान्डविथ आपूर्ति रोकेपछि नेपालमा धेरैजसो इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

    बिहीबार दिउँसाेदेखि नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको हाे ।

    इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का एक अधिकारीले एयरटेलले व्यान्डविथ आपूर्ति रोकेको जानकारी दिए ।

    देशैभर वर्ल्डलिंक, भायानेट, सुबिसु सीजीलगायतका इन्टरनेट सेवा प्रदायकको इन्टरनेट स्लो हुने तथा चल्दै नचल्ने समस्या देखिएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ आयात गरेबापत भारतीय कम्पनीलाई तिर्नुपर्ने रकम तिर्न सिफारिस गरेको छैन । यसो हुँदा उनीहरूले भारतीय कम्पनीलाई भुक्तानी गर्न सकेका छैनन् ।

    सरकारलाई बक्यौता नतिरेको भन्दै सञ्चार मन्त्रालयले विदेशी मुद्रा सिफारिस नगरिदिएको हो ।

    सेवा प्रदायकहरूले आफूहरूले बक्यौता तिर्न बाँकी नरहेको दाबी गर्दै आएका छन् । यस्तोमा सरकारले भुक्तानी गर्न नदिँदा इन्टरनेट बन्द हुन सक्ने चेतावनी उनीहरूले दिएका थिए । अहिले भने एयरटेलले आपूर्ति नै रोकिदिएपछि यो समस्या आएकाे बताइएकाे छ ।

    ९ महिनादेखि ब्यान्डविथ खरिदबापतको भुक्तानी रोकिएपछि भारतीय कम्पनीहरूले नेपालको इन्टरनेट काटिदिने चेतावनी यसअघि नै दिएको आइस्पानले जनाएको थियाे ।

    निजी इन्टरनेट सेवा प्रदायकहरूले मर्मतसम्भार शीर्षकअन्तर्गतको बेरुजु रकम नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सिफारिसमा अवरोध खडा गरेपछि याे समस्या आएकाे हाे ।

    निजी इन्टरनेट सेवा प्रदायकहरूले आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ मा सपोर्ट एन्ड मेन्टेनेन्स शुल्कअन्तर्गत रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम नतिरेको र त्यो दाखिल गरेपछि मात्रै सहजीकरण कार्य पुनः सुरु गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अडान लिएको छ ।

    सेवा प्रदायकहरूले भने अदालतको आदेश, संशोधित दूरसञ्चार नियमावली र आर्थिक ऐनले गरेको व्यवस्था, सार्वजनिक लेखा समितिका प्रतिवेदनहरूले नै मर्मतसम्भारमा रोयल्टी र आरटीडीएफ नलाग्ने दाबी गर्दै आएका छन् ।

    सञ्चार मन्त्रालयले गरेको अध्ययनअनुसार विभिन्न इन्टरनेट सेवा प्रदायकहरूले ०६९/७० देखि ०७८/७९ सम्म रोयल्टी, राजस्व तथा आरटीडीएफ दस्तुर र थप जरिवानासहित दुई अर्ब ४६ करोड बढी रकम तिर्न बाँकी छ ।

    इन्टरनेट सेवामा लाग्ने दूरसञ्चार सेवा शुल्क (टीएससी) मा सरकारले छुट दिए पनि मर्मतसम्भारको शुल्कमा लाग्ने रोयल्टी र आरटीडीएफ भने बुझाउनुपर्ने मन्त्रालयले जनाएको छ ।