Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाङक्षालाई पूरा गर्न आआफ्नो ठाउँबाट योगदान गर्न ओलीको आग्रह

    “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाङक्षालाई पूरा गर्न आआफ्नो ठाउँबाट योगदान गर्न ओलीको आग्रह

    काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताएका छन् ।

    सोनाम ल्होछारको शुभकामना सन्देश दिँदै उनले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वले मुलुकको राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिकका आधार रहेको उल्लेख गरेका छन् ।

    संविधानले विविध भाषा तथा संस्कृति विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको भन्दै उनले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताए ।

    अध्यक्ष ओलीले नेपाल सुन्दर देशको बहुसांस्कृतिक विशेषता मौलिक पूँजीको रुपमा रहेको उल्लेख गर्दै एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताए । सन्देशमा उनले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रुपमा व्यवहारमा अनुदित गर्न चाहेको बताए ।

    “हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुुशासनयुक्त, पछौटेपनयुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधा सम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रुतगतिमा अघि बढाउन चाहन्छौँ”, उनले सन्देशमा भनेका छन्, “समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकाङक्षालाई पूरा गर्न आआफ्नो ठाउँबाट योगदान गर्न सबैमा आग्रह गर्दछु ।”

  • सरकारले भन्यो लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन्

    सरकारले भन्यो लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन्

    काठमाडौं । सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको जनाएको छ ।

    नेपाल सरकारको धारणा सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई देशबीचको सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    कार्कीले ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रही आएको बताएका छन् । भारतले नेपाल सरकारलाई आफ्नो अडान बताइसकेको भनेर वक्तव्य जारी गरेको भोलिपल्ट नेपालले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

     

  • धर्मशाला निरीक्षणपछि प्रेम आले भन्छन फाइभ स्टार होइन सेभेन स्टार पो बनेछ

    धर्मशाला निरीक्षणपछि प्रेम आले भन्छन फाइभ स्टार होइन सेभेन स्टार पो बनेछ

    काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले पशुपतिनाथस्थित धर्मशालाको अवलोकन गरेका छन् ।उनले अवलोकन गर्दै पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा पनि छानबिन हुने भन्दै दोषी पाइए कारवाही गरिने बताए ।

    उनले त्यहाँ निर्माण गरिएको सबै संरचनाको निरीक्षण गरेका थिए ।

    “समिति गठन भएको छ, हामीले प्रतिवेदन सार्वजनिक गर्नेछौँ । यहाँ त फाइभ स्टार होइन सेभेन स्टार बनाइएको रहेछ । म सक्ड भएँ,” आलेले भने, “भोलि प्रतिवेदन आएपछि बताउँछु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीले संयुक्त उद्घाटन गर्नुभएको हो । २५ करोड भारतले लगानी गरेको छ । सस्तो सुलभ मूल्यमा बस्न पाउन् भनेर बनाइएको हो । धर्मशालाको रुप होइन सेभेन स्टार बनाइएको रहेछ ।”

     

  • सिमा विवादबारे भारतले भन्यो अन्तर सरकारी संयन्त्र मार्फत संवाद गरौ

    सिमा विवादबारे भारतले भन्यो अन्तर सरकारी संयन्त्र मार्फत संवाद गरौ

    भारतले नेपालसँगको सीमा विवादबारे मुख खोलेको छ । काठमाडौंस्थित दूतावासले शनिबार प्रेसनोट जारी गर्दै सीमा विवादबारेका पछिल्लो विवादबारे भारत सरकारको धारणा सार्वजनिक गरेको छ ।नेपालसँगको सीमालाई लिएर आफ्नो सरकारको अडान यथावत रहेको उल्लेख गर्दै भारतले यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको जनाएको छ ।

     

    ‘भारत-नेपाल सीमालाई लिएर भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ । नेपाल सरकारलाई यसबारे जानकारी गराइसकिएको छ’ भारतले उल्लेख गरेको छ ।

    यो बहस र विवादलाई लिएर अन्तर सरकारी संयन्त्रबीच संवाद भैरहेको बताउँदै भारतले बाँकी सीमा समस्यालाई घनिष्ठ र मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धको आधारमा सम्बोधन गर्न सकिने समेत बताएको छ ।

    यसै महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राज्य उत्तराखण्डको चुनावी र्‍यालीलाई सम्बोधन गर्दै नेपाली भूमि लिपुलेकमा सडक विस्तार भैरहेको र सन् २०२२ अन्त्यसम्म त्यहाँ पक्की सडक बनाउने तयारी भैरहेको जनाएका थिए ।

    मोदीको उक्त अभिव्यक्तिलाई लिएर काठमाडौंको राजनीतिक र कूटनीतिक वृत्त तरंगित बनेको छ । सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, मुख्य प्रतीपक्षी एमाले, राप्रपा, विवेकशील लगायतका दलले आपत्ति व्यक्त गरेका छन् ।

     

     

  • माघ पहिलो सातामा स्थानीय तह निर्वाचनको मिति तोक्न आयोगको सुझाव

    माघ पहिलो सातामा स्थानीय तह निर्वाचनको मिति तोक्न आयोगको सुझाव

    काठमाडाैं । निर्वाचन आयोगले माघको पहिलो हप्तामै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएको छ ।

    शुक्रबार राजनीतिक दलहरूसँगको छलफलमा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने बताएको हो ।

    बैठकमा प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन सम्पन्न गर्नका लागि १२० दिन आवश्यक पर्ने भन्दै माघको पहिलो हप्तामा मिति घोषणा हुनुपर्ने बताएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

    निर्वाचन ऐनमा स्थानीय तहका पदाधिकारीको पदावधि गणना पहिलो चरणको निर्वाचन भएको मितिबाटै गणना हुने भन्दै आयोगले प्रस्ताव गरेको मितिमै चुनाव गराउने गरी आयोगले तयारी गरिरहेको प्रवक्ता पौडेलले बताए ।

    उनले शुक्रबारको बैठकमा दलहरूले यो विषयमा सकरात्मक जवाफ दिएको बताए । आयोगले यसअघि नै सरकारलाई वैशाख १४ र २२ गतेका लागि निर्वाचन मिति तोक्न प्रस्ताव गरिसकेको छ ।

    उनले निर्वाचन आयोगले हालै सम्पन्न गरेकाे मतदाता नामावली संकलन विशेष कार्यक्रमबाट ८ लाख ४८ हजार नयाँ मतदाता थपिएको जानकारी दिए ।

  • बिरामीले भरिन थाले अस्पताल : चिकित्सक भन्छन्, ‘पहिलेजस्तो अक्सिजन आवश्यक पर्दैन’

    बिरामीले भरिन थाले अस्पताल : चिकित्सक भन्छन्, ‘पहिलेजस्तो अक्सिजन आवश्यक पर्दैन’

    काठमाडौं । अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएका छन् ।

    सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले बताएका हुन् ।

    अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढी पनि जटिल खालका बिरामी नआएको चिकित्सकले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा रावलले अस्पतालमा भर्ना भएकामध्ये धेरै बिरामीलाई अक्सिजन आवश्यक नभएको बताइन् । ‘अहिले अस्पतालमा उपचार गर्न आएका सङ्क्रमित बिरामीलाई अक्सिजनको आवश्यकता परेको छैन’, उनले भनिन्, ‘६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यकता परेको छैन ।’ सङ्क्रमितलाई अक्सिजन नचाहिए पनि अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लाण्ट अस्पतालले तयारी अवस्थामा राखिएको छ ।

    उनका अनुसार अस्पतालमा भर्ना भएका १२ मध्ये तीन जनालाई सघन उपचार कक्ष (आईसीयू)मा अक्सिजन दिइ उपचार गरिएको छ । नौ जना हाई डिपडेन्सी कक्ष (एचडीयू)मा उपचार भइरहेको छ । उनका अनुसार अस्पतालमा भर्ना भएका अधिकांश बिरामी घाँटीमा अप्ठेरो बनाउने, नाकबाट पानी बग्ने, शरीर दुख्ने, शरीर तातो हुने, रुघा लाग्नेजस्ता समस्या देखिएका छन् ।

    यस्तै, अहिले ओमिक्रोन भेरियन्टले मानिसको माथिल्लो स्वासप्रस्वास नलीमा सङ्क्रमण गराई स्वासप्रस्वास गर्नमा समस्या गराउने गर्दछ । यसअघिका डेल्टा भेरियन्टले तल्लो स्वासप्रस्वास नली वा फोक्सामा सङ्क्रमण गराउने गर्दथ्यो । टेकु अस्पतालमा हिजो २९ पुसमा १५ जना बिरामी आएकामध्ये १० जनालाई कोभिड–१९ सङ्क्रमण भएको थियो ।

    अस्पतालमा १०० शय्यासहित २४ आईसीयू छ। अस्पतालका निर्देशक डा. रावलले सङ्क्रमित बढिरहेकाले अबको दुई हप्ता चुनौतीपूर्ण रहेको बताइन् । भनिन्, ‘ओमिक्रोन भेरियन्टले कस्तो रुप लिन्छ। त्यसैको आधारमा अवको दुई हप्ता चुनौतीपूर्ण हुने देखिन्छ ।’

    यसैगरी बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेका छन्। अहिले अस्पतालमा ५५ सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालका डा. प्रवीण नेपालले पनि अहिले भर्ना भएका धेरै बिरामीलाई अक्सिजन नचाहिएको बताए । ‘दोस्रो लहरजस्तो अहिले देखिएका सङ्क्रमितलाई अक्सिजन चाहिएको छैन’, उनले भने, ‘भर्ना भएका १५ प्रतिशत बिरामीलाई मात्र अक्सिजन दिएर उपचार गरिरहेका छौँ ।’

    अहिलेका सङ्क्रमितलाई घाँटी दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको उनको भनाइ छ । यस्तै, कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा विगत २४ घण्टामा १४ जना बिरामी भर्ना भएका छन् । अस्पतालका प्रमुख डा. भूपेन्द्र बस्नेतले सङ्क्रमण बढेसहित सङ्क्रमित पनि भर्ना हुन आउने बढेको बताए । उनका अनुसार अहिले ५२ बिरामी अस्पतालमा उपचाररत छन् । तीमध्ये नौ जना आईसीयूमा उपचार भइरहेको छ ।

    सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचार गर्न भनेर गत वर्ष युनिफाइड अस्पताल सञ्चालनमा ल्याएको हो । उनले अहिलेसम्म भर्ना भएका धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपरेको बताए । अस्पतालमा दैनिक २५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लाण्ट र २० टन क्षमता भएको तरल अक्सिजन प्लान्ट रहेको छ । अस्पतालमा ५०० शय्यासहित १०० शय्याको आईसीयू रहेको छ ।

    ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रूपमा फैलिने बताइएको छ । ओमिक्रोनले कोरोना खोप लगाएका-नलगाएका दुवैलाई सङ्क्रामक बनाउन सक्दछ । यो भेरियन्टको सम्भावित जोखिमलाई रोक्नका लागि अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष (आईसीयू), हाई डिपेडेन्सी युनिट (एचडियु), भेन्टिलेटर, आइसोलेसन र स्वास्थ्यकर्मीको पनि तयारी अवस्थामा राखिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा अहिले आईसीयू दुई हजार ७९७, भेन्टिलेटर एक हजार आठ, एचडीयू तीन हजार ८४६ रहेका छन् । यस्तै, अक्सिजन सिलिण्डर १३ हजार ९३९, अक्सिजन कन्सट्रेटर ६९३ छन् ।

    यसैगरी, २५ अक्सिजन ट्याङ्कमा १९ वटा र १०७ मध्ये ८७ प्लान्ट सञ्चालनमा आइसकेका छन् । उपत्यकामा दुई हजार ४९४ आइसोलेसन शय्या, ३२४ एचडीयू, ४४५ आईसीयू र २५४ भेन्टिलेटर रहेका छन् । हालसम्म नेपालमा २७ वटा ओमिक्रोन भेरियन्टका सङ्क्रमित पत्ता लागेका छन् । रासस

  • निर्वाचन आयोगमा सर्वदलीय बैठक : काे–काे भए सहभागी ?

    निर्वाचन आयोगमा सर्वदलीय बैठक : काे–काे भए सहभागी ?

    काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आयोग कार्यालमा सुरू भएको छ ।

    बैठकमा एमालेको प्रतिनिधित्व गरी नेताहरू विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी पुगेका छन् । त्यस्तै, नेपाली कांग्रेसबाट रमेश लेखकलगायत नेताहरू आयोगमा पुगेका छन् । नेकपा (माओवादी केन्द्र) बाट लीलामणि पोखरेललगायतका नेता छन् ।

    नेपाल मजदुर किसान पार्टीको प्रतिनिध्व गर्दै प्रेम सुवाल बैठकमा गएका छन् ।

    नेपाली जनता दलबाट हरिचरण साह, नेपाल संघीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत छन् । अन्य दलबाट भने प्रतिनिधि आउन बाँकी छन् ।

    आजको बैठकमा स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल हुनेछ । साथै कोरोना महामारीको अवस्थामा राष्ट्रियसभा निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषय पनि आजको बैठकमा छलफल हुनेछ ।

  • लिपुलेकबारे मोदीको अभिव्यक्तिमा सरकार मौन बस्नु आपत्तिजनक : विवेकशील साझा

    लिपुलेकबारे मोदीको अभिव्यक्तिमा सरकार मौन बस्नु आपत्तिजनक : विवेकशील साझा

    काठमाडाैं । नेपाली भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाप्रति सरकारले मौनता साँधेको भन्दै विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ ।

    शुक्रबार विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी लिपुलेकबारे भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्तिप्रति सरकार मौन बसेको भन्दै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

    ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ,’ विज्ञप्तिमा भनिएको छ ।

    कूटनीति नि:सन्देह आवेग र उत्तेजनाको विषय नभएको पनि विवेकशीलले बताएको छ । विज्ञप्तिमा भनिएको छ ‘अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दूरगामी असर मुलुकले भोग्नुपर्ने हुन्छ ।’

    विवेकशील साझाले नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन सरकारसँग माग पनि गरेको छ ।

  • परमादेश सरकारका देशभक्त मन्त्रीहरु टुकी बालेर खोजिरहेछु : गोकुल बास्कोटा

    परमादेश सरकारका देशभक्त मन्त्रीहरु टुकी बालेर खोजिरहेछु : गोकुल बास्कोटा

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा सरकार चुप लागेर बसेको भनि आलोचना गरेका छन् ।

    प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बास्कोटाले आफ्नै भूमिमा विदेशीले बाटो बनाउँदा पनि गैर देशभक्तहरूको परमादेशको सरकार चुप लागेर बसेको आरोप लगाएका हुन् ।

    तत्कालीन एमाले सरकारका विरुद्ध बोल्न पाइन्छ भन्दै मुखमा टेप टाँसेकी मन्त्री रामकुमारी झाँक्रीप्रति कटाक्ष गरी उनले देशभक्त मन्त्रीलाई टुकी बालेर खोजिरहेको बताए । संसदबाट सर्वसम्मतिले पास भएको नक्सामा समेटिएको भूमागमा भारतले सडक बनाउँदा देशभक्तहरूको पार्टी एमालेले मुख खोलेको उनले बताए ।

    ‘भारतीय अधिकारीहरूले हाम्रो नक्सामा भएको । संसदबाट सर्वसम्मतिले पास भएको भूभागबाट अरू कसैले सडक बनाइरहँदा मुखमा टेप टाँसेर बोल्न पाइन्छ भन्ने मन्त्रीहरू । लोकप्रिय मन्त्रीहरू भएको सरकार कहाँ छ अहिले खोज्नुस् । म मन्त्रीहरू खोज्दै छु । देशभक्त मन्त्रीहरू टर्च होइन टुकी बालेर खोज्दै छु । खै कहाँ गए । त्यस विषयमा बोल्नुपर्दैन । एमाले बोल्यो’, उनले भने ।

    प्रत्येक नेपाली नागरिक देशभक्त रहेको भन्दै उनले अब जनताले बनाउँदा एमालेको सरकार बनाउने दाबी गरे । फरक प्रसंगमा बोल्दै बास्कोटाले सर्वोच्च अदालत सधैँ एमालेप्रति पूर्वाग्रही हुने गरेको आरोप पनि लगाए । ‘अदालत एमालेप्रति पूर्वाग्रही भएको हो । त्यो कुरा स्पष्ट देखिएको छ । सदाझैँ एमालेप्रति पूर्वाग्रही भएर अदालत उभिएको तथ्यहरूले बताउँछ’, उनले भने ।

  • सरकार अनावश्यक लकडाउनकाे पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

    सरकार अनावश्यक लकडाउनकाे पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

    काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।

    बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेरमात्रै लकडाउन गरिने बताएका हुन् ।

    मन्त्री खतिवडाले भने, ‘सुरूका बेलामा आतंक बढी भएको हुनाले एक, दुइटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर गर्‍यौँ । जति जानेको थियो त्यति गर्‍यौँ । विश्वमा, युरोपेली देशहरूमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार गर्‍यौँ । हामी पनि आतंकित भयौँ । गर्नुपर्ने बेलामा गरेनौँ, अघि पछि गर्‍यौँ । त्यसले केही मृत्युदर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ । तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामहरूलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्युभन्दा पनि भयावह ढंगले भयो । त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ ।’

    तत्काल लकडाउनको विषयमा आतंकित नहुन उनले जनतासमक्ष आग्रह पनि गरे । मन्त्री खतिवडाले सरकारले स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु पर्ने अवस्था नरहेकाे जानकारी गराएका हुन् ।