
काठमाडाैं । नेपाली भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाप्रति सरकारले मौनता साँधेको भन्दै विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ ।
शुक्रबार विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी लिपुलेकबारे भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्तिप्रति सरकार मौन बसेको भन्दै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ,’ विज्ञप्तिमा भनिएको छ ।
कूटनीति नि:सन्देह आवेग र उत्तेजनाको विषय नभएको पनि विवेकशीलले बताएको छ । विज्ञप्तिमा भनिएको छ ‘अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दूरगामी असर मुलुकले भोग्नुपर्ने हुन्छ ।’
विवेकशील साझाले नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन सरकारसँग माग पनि गरेको छ ।