माघ पहिलो सातामा स्थानीय तह निर्वाचनको मिति तोक्न आयोगको सुझाव

काठमाडाैं । निर्वाचन आयोगले माघको पहिलो हप्तामै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएको छ ।

शुक्रबार राजनीतिक दलहरूसँगको छलफलमा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने बताएको हो ।

बैठकमा प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन सम्पन्न गर्नका लागि १२० दिन आवश्यक पर्ने भन्दै माघको पहिलो हप्तामा मिति घोषणा हुनुपर्ने बताएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

निर्वाचन ऐनमा स्थानीय तहका पदाधिकारीको पदावधि गणना पहिलो चरणको निर्वाचन भएको मितिबाटै गणना हुने भन्दै आयोगले प्रस्ताव गरेको मितिमै चुनाव गराउने गरी आयोगले तयारी गरिरहेको प्रवक्ता पौडेलले बताए ।

उनले शुक्रबारको बैठकमा दलहरूले यो विषयमा सकरात्मक जवाफ दिएको बताए । आयोगले यसअघि नै सरकारलाई वैशाख १४ र २२ गतेका लागि निर्वाचन मिति तोक्न प्रस्ताव गरिसकेको छ ।

उनले निर्वाचन आयोगले हालै सम्पन्न गरेकाे मतदाता नामावली संकलन विशेष कार्यक्रमबाट ८ लाख ४८ हजार नयाँ मतदाता थपिएको जानकारी दिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१