सरकार अनावश्यक लकडाउनकाे पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।

बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेरमात्रै लकडाउन गरिने बताएका हुन् ।

मन्त्री खतिवडाले भने, ‘सुरूका बेलामा आतंक बढी भएको हुनाले एक, दुइटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर गर्‍यौँ । जति जानेको थियो त्यति गर्‍यौँ । विश्वमा, युरोपेली देशहरूमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार गर्‍यौँ । हामी पनि आतंकित भयौँ । गर्नुपर्ने बेलामा गरेनौँ, अघि पछि गर्‍यौँ । त्यसले केही मृत्युदर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ । तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामहरूलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्युभन्दा पनि भयावह ढंगले भयो । त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ ।’

तत्काल लकडाउनको विषयमा आतंकित नहुन उनले जनतासमक्ष आग्रह पनि गरे । मन्त्री खतिवडाले सरकारले स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु पर्ने अवस्था नरहेकाे जानकारी गराएका हुन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१