Category: समाज

समाज

  • न्यून चापीय प्रणालीको प्रभाव, वर्षा र हिमपातको सम्भावना

    न्यून चापीय प्रणालीको प्रभाव, वर्षा र हिमपातको सम्भावना

    काठमाडाैं । न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ।

    माैसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नम्बर १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। विभागले प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

    राति प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।

    आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव एक डिग्री र सबैभन्दा धेरै धरानको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।

  • ‘सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजनाको ईआईए स्वीकृत

    ‘सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजनाको ईआईए स्वीकृत

    काभ्रेपलाञ्चोक । ‘सुनकोसी–तेस्रो’ (६ सय ८३ मेघावाट) जलाशययुक्त विद्युत् आयोजनाको वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गरेको छ । काभ्रेपलाञ्चोक भएर बग्ने सुनकोसी नदीमा निर्माण हुने आयोजनाको इआइए स्वीकृत भएपछि निर्माणको बाटो खुलेको छ ।

    मन्त्रालयद्वारा गत कात्तिक अन्तिम साता इआइए स्वीकृत भएपछि आयोजनाको थप प्रक्रिया अघि बढाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको विद्युत् विकास विभागका इन्जिनियर सुवास थपलियाका अनुसार आयोजना निर्माणका लागि चार हजार १३ हेक्टर जमिन आवश्यक पर्ने देखिएको छ । गत जेठमा आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो ।

    अध्ययनबाट आयोजना क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लाका करिब १६ सय परिवार विस्थापित हुने अध्ययनले देखाएको छ । उनका अनुसार आयोजनाको विसं २०७४ देखि अध्ययन सुरु गरिएको थियो । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठवटा वडा बाँध, विद्युत्गृह र डुबान क्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबान क्षेत्रमा पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नगर, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुने जनाइएको छ ।

    इन्जिनियर थपलियाका अनुसार सुनकोसी–तेस्रो जलविद्युत् आयोजनाको ‘डिजाइन ड्रइङ’, भौगर्भिक सर्भे, टोपोग्राफी सर्भे, योजनाको लागत अनुमानसहित इआइए तथा जैविक, आर्थिक सामाजिक, अध्ययन गरी मस्यौदा प्रतिवेदन निर्माण गरिएको थियो । साथै, आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाबारे इन्जिनियरिङ डिजाइनको कामसमेत सकिएको जनाइएको छ ।

    यस्तै, भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिइसकेर इआइए तयार गरिएको छ । विभागका अनुसार गत वर्ष माघमा वन मन्त्रालयमा पठाइएको इआइए प्रतिवेदन गत कात्तिक अन्तिम साता वनमन्त्री समेतको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा समेतको निर्णयबाट स्वीकृति भएको हो ।

    नेपाल र बङ्गलादेशबीच सो आयोजना निर्माण गर्न गत भदौमा नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकमा जलविद्युत् आयोजना प्रवर्द्धन गर्न संयुक्त कम्पनी निर्माण गर्ने सहमति भएको थियो । नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर आयोजना अघि बढाउने सहमतिसमेत भएको छ ।

    त्यतिबेला बङ्गलादेश पक्ष दुई महिनाभित्र आयोजनाको सम्भाव्यतासम्बन्धी अध्ययन तथा वातावरणीय अध्ययन प्रतिवेदनको पुनरावलोकन गरी त्यसपछिका चार महिनाभित्र संयुक्त कम्पनी स्थापना गर्न तयार भएको थियो । गत भदौमै बङ्गलादेशको टोलीले आयोजनाको स्थलगत भ्रमणसमेत गरेको थियो । वन मन्त्रालयले प्रतिवेदन पास गरेलगत्तै आयोजना निर्माणको प्रक्रियातर्फ अघि बढ्ने जनाइएको छ ।

    इन्जिनियर थपलियाका अनुसार गत वैशाख पहिलो साता मन्त्रालयको विज्ञ टोलीसँग समेत आयोजनाबारे सुझाव/परामर्श लिइएको थियो । आयोजनाको अध्ययनसँगै प्रभावित क्षेत्रसँग सार्वजनिक सुनुवाइमार्फत लिनुपर्ने राय, सुझाव लिइसकिएको छ । विभागले गरेको सम्भाव्यता अध्ययनअनुसार उक्त जलाशययुक्त आयोजना निर्माण सम्पन्न गर्न रु एक खर्ब ६० अर्ब लाग्ने अनुमान गरिएको छ ।

    ‘योजनाको लागत अनुमान अध्ययनका क्रममा उक्त परिमाणको देखिएको हो’, थपलियाले भने । उनका अनुसार विभागले सम्भाव्यता अध्ययनको काम सकेर योजनाबाट प्रभावित हुने जिल्लाका स्थानीय तहलाई मस्यौदा प्रतिवेदनमा छुटेको तथा स्थानीय तहले दिनुपर्ने राय–सुझावसमेत सङ्कलन गरिसकेको छ ।

    विभागलाई आयोजनाप्रति रामेछापको खाँडादेवी र सुनापती गाउँपालिका तथा सिन्धुलीको सुनकोसी गाउँपालिकाले समेत राय–सुझाव दिइसकेका छन् । परियोजनाको मापदण्ड तथा कार्य विवरण प्रतिवेदन (टिओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको थियो । सम्पूर्ण प्रतिवेदन तयार भई आयोजना सञ्चालन गर्न ‘सम्भावना’ हुने–नहुने निक्र्योल नभएका कारण सरकारले अध्ययन बाहेकमा थप बजेट विनियोजन गरेको छैन ।

    एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोसी–तेस्रोको टिओआर भने विसं २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका छन् । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरिवार तथा क्षेत्र लाई कुन आधारमा के कस्तो व्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्ति लगायतको विषय पनि उल्लेख गरिएको जनाइयो । त्यसताका पनि आयोजनाबाट प्रभावित पर्नसक्ने जिल्ला, स्थानीय तहको वडास्तरमा विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो ।

    काभ्रेपलाञ्चोकका सांसद गोकुलप्रसाद बास्कोटाले विस्थापित परिवारलाई एकीकृत बस्ती निर्माण गरी व्यवस्थापन गर्नेबारे सरोकारवालासँग तत्काल छलफल हुनुपर्ने बताए । ‘सरकारले आयोजनाको निर्माण कार्य कहिले सुरु गर्ने हो, सरकारले यसप्रति विशेष ध्यान दिई परिवार विस्थापनबारे सरोकारवालासँग छलफलमा गर्न ढिला गर्नुहुन्न, यो महात्वकाङ्क्षी योजना भएकाले जसरी पनि सफल बनाइनेछ’, उनले भने । आयोजनाबाट प्रभावित हुने परिवारलाई स्थानान्तरण गर्ने विषयमा सरोकारवालासँग छलफल गर्ने योजना बनाइएको विभागले जनाएको छ ।

    उक्त आयोजनाका लागि नेपाल सरकारले विसं २०७८ भदौ अन्तिम साता बङ्गलादेशलाई निर्माणको प्रस्ताव गरेपछि जेएससीको बैठकमा अनुमोदन भएको थियो । बङ्गलादेश र नेपालबीच सन् २०१८ मा ऊर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएपछि बङ्गलादेशले नेपालसँग एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गर्दै आएको थियो ।

    परियोजनाअन्तर्गत सुनकोसी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । विभागले सुनकोसी तेस्रो र सुनकोसी दोस्रो आयोजनाको अध्ययनका लागि रु ३३ करोड बजेट विनियोजन गरेको थियो । हालसम्मको विविध अध्ययनबाट सुनकोसी दोस्रोभन्दा तेस्रोको सम्भावना देखिएको जनाइएको छ ।

    आयोजनाअन्तर्गत लुभुघाटस्थित नदीमा करिब चार सय ८४ मिटर लामो र एक सय ६६ मिटर उचाइको बाँध निर्माण गरी पाँच सय ७० घनमिटर प्रतिसेकेन्ड पानीलाई एक दशमलव एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभुघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ भने लगभग पाँच सय ३६ मेघावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोसी नदीमा खसालिनेछ ।

    सन् १९८५ मै जापान इन्टरनेसनल कोअपरेसन (जाइका)ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युत्को सम्भाव्यता अध्ययन गरेको थियो । उसले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युत्मध्ये सुनकोसी–तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलव चार मेघावाट क्षमता) निर्माणपश्चात् प्रस्तावित सुनकोसी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोकको दोस्रो आयोजना हुनेछ ।

    प्रस्तावित आयोजना निर्माणस्थल सङ्घीय राजधानी काठमाडौँबाट करिब ६० किलोमिटरको दूरीमा अवस्थित छ । आयोजना निर्माणछि माछापालन, बोटिङ, पर्यटकीय होटल तथा थप पर्यटकीयस्थल विकासको समेत सम्भावना देखिएको छ । २०७५ साल चैतमा काठमाडाँैमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा सुनकोसी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँच मार्ग पुगिसकेको छ भने प्रसारण लाइनको पनि समस्या छैन । रासस

  • तस्बिरमा भारत–नेपाल संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ काे सुभारम्भ

    तस्बिरमा भारत–नेपाल संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ काे सुभारम्भ

    काठमाडाैं । भारत–नेपाल संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ को १६ औं संस्करण नेपाली सैनिक ब्याटल स्कुल, सालझण्डीमा शुक्रबारदेखि सुरु भएकाे छ ।

    दुवै देशको राष्ट्रिय झण्डा फहराउनुका साथै दुई देशका सेनाले आ–आफ्नो सैन्य धुनमा परेड खेलेसँगै ‘सूर्यकिरण’ सैन्य अभ्यासको शुभारम्भ भएकाे हाे ।

    दुई हप्तासम्म चल्ने यस कठिन अभ्यासका दौरान भारतीय सेना र नेपाली सेनाका पैदल सैन्यदलले अन्तर सैन्ययुद्घ क्षमतालाई सुदृढ बनाउन र प्रतिविद्रोह तथा मानवीय सहायता एवम् विपद् राहत अपरेशनबारे अनुभव साटासाट गर्न सँगै मिलेर तालिम गर्नेछन् । भारतीय सेना अन्तर्गतको गोरखा रेजिमेन्टको एक बटालियन यस सैन्य अभ्यासमा सहभागी हुनेछ ।

    अभ्यासका क्रममा दुवै सेनाले एकअर्काका हातहतियार, उपकरण, रणनीति र कार्यविधिको बारेमा एक अर्कालाई परिचित गराउने छन् जुन विशेष गरी हिमाली भूभागमा प्रतिविद्रोह वातारणमा काम गर्दा निकै उपयोगी साबित हुनेछ ।

    अभ्यासको दायरा र स्तरलाई थप वृद्धि गर्न दुवै सैन्य टोलीलाई मानवीय सहायता तथा विपद् राहत, हाई एल्टिच्युड वारफेर र जङ्गल वारफेर अपरेशनमा पोख्त पार्न त्यस्तै खाले परिस्थितिमा अभ्यास गराइनेछ ।

    प्रतिविद्रोह वातावरणमा दुवै सेनाको प्रदर्शनलाई मान्यता दिन ४८ घण्टे कडा अभ्याससँगै संयुक्त सैन्य तालिम २०७९ पौष १४ गते समापन हुनेछ ।

    भारत र नेपालका सेनाबीचको द्विपक्षीय एवम् आपसी सहकार्यलाई सुदृढ बनाउन तथा दुई देशबीच सदियौंदेखि रही आएको विशिष्ट र परम्परागत मित्रतालाई थप बलियो बनाउन यो सैन्य अभ्यास ‘सूर्यकिरण’ ले महत्वपूर्ण भूमिका खेल्नेछ ।

    यस ‘सूर्यकिरण’ सैन्य अभ्यास श्रृंखलाले भारत र नेपालबीचको अद्वितीय तथा विशाल सम्बन्धलाई पनि प्रतिबिम्बित गर्दछ ।

  • चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला

    चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् ।

    निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो ।

    सो गैंडाको खाग नपलाएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।

    यस्तै, निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्र आज बिहान एक पोथी गैंडा मृत फेला परेको छ ।

    १५ वर्षको पोथी गैंडा आपसमा जुधेर मरेको हुनसक्ने निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

    गैंडाको खाग र खुर सुरक्षित छ । चालु आर्थिक वर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ५ गैंडा मृत भेटिएका छन् ।

  • व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अफवाह फैलाउने पुजन घिमिरेलाई प्रेस काउन्सिलले साेध्याे स्पष्टीकरण

    व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अफवाह फैलाउने पुजन घिमिरेलाई प्रेस काउन्सिलले साेध्याे स्पष्टीकरण

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंविरुद्ध निरन्तर झुटा समाचार प्रकाशन गर्दै आइरहेका झापाका पत्रकार पुजन घिमिरेलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    घिमिरेले सगरमाथा टेलिभिजनमा व्यवसायी दुर्गा प्रसाईँका विषयमा धारावाहिक झुटा समाचार सम्प्रेषण गरिरहेका थिए । काउन्सिलले यस अघि घिमिरेलाई स्पष्टिकरण सोधेकोमा चित्तबुझ्दो नभएपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

    काउन्सिलले चित्तबुझ्दो जवाफ पेस नगरे पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ७१ (घ) बमोजिम कारबाही प्रक्रिया बढाइने भन्दै घिमिरेलाई सचेत गराएको छ ।

  • मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

    मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

    काठमाडाैं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ ।

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो ।

    जसका कारण सबै पानी अझै राजधानीमा वितरण हुनसकेको छैन । आज बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले राससलाई जानकारी दिनुभयो ।

    मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये हालसम्म आठ वटामा पानी पुगिसकेको छ । हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाङ्कालचौर, पानीपोखरी, अनामनगर र बालाजुका पानी ट्याङ्कीमा मेलम्चीको पानी पुगेको छ । कीर्तिपुर र बाँसबारीका ट्याङ्कीमा चार दिनभित्र पानी पुग्ने उनले सुनाए । चार दिनभित्रमा १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने छ ।

    मेलम्ची खानेपानी आयोजनाले भने मङ्सिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । सुरुङ् सफा गरेर मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ । कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ । त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ ।

  • काभ्रेकाे बेथानचाेक बस दुर्घटनामा मृत्यु भएकामध्ये १३ जनाको सनाखत

    काभ्रेकाे बेथानचाेक बस दुर्घटनामा मृत्यु भएकामध्ये १३ जनाको सनाखत

    काठमाडाैं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ मा मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये १३ जनाको पहिचान खुलेको छ ।

    प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङको मृत्यु भएको छ ।

    त्यस्तै बनेपा नगरपालिका–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि मृत्यु भएको छ ।

    बस चालक ललितपुरको महाँकाल–४ घर भइ हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको जोशीले बताए ।

    घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये चार जनाको नाम खुल्न बाँकी छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस तीव्र गतिका कारण दुर्घटना भएको हो । बसमा ३९ यात्रु सवार थिए ।

    बनेपा नगरपालिका–११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किएकाे बस दुर्घटनामा परेको हो ।

  • काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाकाे मृत्यु

    काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाकाे मृत्यु

    काभ्रे । काभ्रेको बेथानचोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

    बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा भएको उक्त दुर्घटनामा १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

    उनका अनुसार ३ जनाको घटनास्थलमै र अरु १४ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

    बा ३ ख ४३८५ नम्बरको उक्त बसमा सवार अरु १० जना घाइते भएको र उनीहरुको धुलिखेलका साथै शिर मेमोरियलमा उपचार भइरहेको छ ।

    बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो ।

    तीव्र गतिको बस सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

  • नारायणगढ-मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी रोकिने

    नारायणगढ-मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी रोकिने

    चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो ।

    जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ ।

    भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो ।

    प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०:५० बजेदेखि रोकिने छ ।

    काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०:५५ बजे रोकिने भएको छ ।

    यस्तै, काठमाडौंतर्फबाट आउने मालबाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालबाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०:४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ ।

    बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ । यस्तै, पोखरा–काठमाडौँ सञ्चालन हुने सवारी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ ।

    निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्ने छन् भने सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ ।

  • भारत सरकारको सहयोगमा निर्माण हुने तीन परियोजनाहरुको समझदारीपत्रमा हस्ताक्षर

    भारत सरकारको सहयोगमा निर्माण हुने तीन परियोजनाहरुको समझदारीपत्रमा हस्ताक्षर

    काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी क्षेत्रसँग सम्बन्धित तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउन भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर भएकाे छ ।

    उदयपुर जिल्लामा श्री जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण, सोलुखुम्बु जिल्लामा न्गोङ्गा थेन्चोक छोलिङ्ग ध्यान केन्द्रको निर्माण र धादिङ जिल्लामा लिस्नेखोला टिकासुङ दाङचेत झार्लाङ खानेपानी परियोजनाको निर्माण समेत गरी यी तीन परियोजनाहरु कूल अनुमानित नेपाली रुपैयाँ १० करोड १७ लाख लागतमा कार्यान्वयनमा ल्याइनेछ ।

    माथि उल्लिखित तीन परियोजनाहरुको निर्माणले स्थानीय समुदायका लागि राम्रो शिक्षा, स्वास्थ्य सुविधा तथा सुरक्षित खानेपानी उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउनेछ ।

    सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७६ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

    नजिकको छिमेकीको नाताले भारत र नेपालबीच व्यापक बहुक्षेत्रीय सहकार्य रहेको छ । यी परियोजनाको कार्यान्वयनले आफ्ना नागरिकको उत्थानमा नेपाल सरकारले चालेका हरेक प्रयासमा भारत सरकारको निरन्तर सहयोग रहने कुरालाई प्रतिबिम्बित गर्दछ ।