Tag: काेराेना संक्रमण

  • चीनमा पछिल्लो एक महिनामा करिब ६० हजार जनाको काेभिड संक्रमणबाट मृत्यु

    चीनमा पछिल्लो एक महिनामा करिब ६० हजार जनाको काेभिड संक्रमणबाट मृत्यु

    काठमाडौं । चीनमा पछिल्लो एक महिनामा करिब ६० हजार जनाको कोरोना भाइरसका कारण मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

    चिनियाँ अधिकारीहरूका अनुसार सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको हाे ।

    त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गतको चिकित्सा प्रशासन ब्यूरोका प्रमुख जियाओ याहुईका अनुसार चीनमा सुरु भएको पछिल्लो लकडाउन खुकुलो भएपछि सार्वजनकि भएको यो सबैभन्दा ठूलो संख्या हो ।

    ब्युरोले सार्वजनिक गरेको आँकडा त्यहाँका स्वास्थ्य संस्थामा भएको रेकर्ड हो । मृतकको संख्या योभन्दा पनि बढी हुनसक्ने अनुमान गरिएको छ ।

    गत डिसेम्बरको सुरुमा शून्य कोभिड नीति त्यागेपछि चीनमाथि भाइरसका कारण मृत्यु हुनेको संख्यालाई कम आँकलन गरेको आरोप लागिरहेकाे छ ।

    केही दिनअघि मात्रै त्यहाँका अधिकारीहरूले कोरोना संक्रमणले मृत्यु हुनेको यकिन संख्या लिन आवश्यक नभएको बताएका थिए ।

    कोरोनाका कारण मृत्यु हुने ९० प्रतिशत ६५ वर्षमाथिको उमेरका रहेको चिनीयाँ दाबी छ ।

  • काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

    काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

    काठमाडौँ । कोरोना संक्रमणबाट नेपालमा शुक्रबार थप एक जनाको मृत्यु भएको छ ।

    काठमाडौंस्थित वीर अस्पतालमा संक्रमणबाट ५७ वर्षीय एक पुरुषको मृत्यु भएको हो । थप एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ ।

    शुक्रबार ७ सय ८३ को नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    शुक्रबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २१ पुगेको मन्त्रालयको भनाइ छ ।

  • काेराेनाकाे बीएफ.७ भेरियन्टले बढायाे त्रास, के-के कुरामा ध्यान दिनुपर्छ ?

    काेराेनाकाे बीएफ.७ भेरियन्टले बढायाे त्रास, के-के कुरामा ध्यान दिनुपर्छ ?

    काठमाडाैं । चीनमा लगातार बढीरहेकाे काेराेना संक्रमणका कारण यतिबेला पुन: एक पटक विश्व त्रसित बनिरहेकाे छ ।

    चीनमा कोरोनाका कारण तीव्र गतिमा बढ्दो केस र मृत्युको खबर अन्तरर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन् ।

    बीएफ.७ भेरियन्टका कारण कोरोनाको पछिल्लो लहर आएको बताइएको छ ।

    आखिर के हो बीएफ.७ ?

    बीएफ.७ लाई ओमिक्राेनकाे सब-भ्यारियन्टको रूपमा वर्णन गरिएको छ । सन् २०१९ मा पहिलो पटक भेटिएपछि कोरोना भाइरसका धेरै भेरियन्टहरू सार्वजनिक भएका छन् । जस्तै, डेल्टा र ओमिक्रोन ।

    वैज्ञानिकहरूका अनुसार यी नयाँ भेरियन्टहरू भाइरसको परिवर्तनका कारण आएको हो । यसमा मौसम (चिसो, तातो) र रासायनिक (कुनै पनि औषधि) जस्ता भौगोलिक कारकहरू समावेश हुन सक्छन् ।

    भाइरस परिवर्तनको प्रक्रियालाई प्राविधिक भाषामा उत्परिवर्तन भनिन्छ । बीएफ.७ भेरियन्टले चीनमा विनाश निम्त्याइरहेको छ ।

    यो भाइरसका लक्षणहरु के-के हुन् ?

    यसका कारण खाेकी लाग्ने, थकान महसुस हुने, नाकबाट पानी बग्ने, केही व्यक्तिहरुलाई पेट दुख्ने वा पखाला लाग्ने लक्षणहरू देखिएकाे बताइएकाे छ ।

    बीएफ.७ छिटो फैलिन्छ । अनुसन्धानका अनुसार यो सब-भेरियन्टबाट संक्रमित बिरामीले १० देखि १८ जनामा ​​भाइरस फैलाउन सक्छ । जबकि ओमिक्रोन भेरियन्टका कारण पाँचदेखि आठ जनामा ​​संक्रमण फैलिएको पाइएको थियो ।

    तर यो डेल्टा स्ट्रेन (भेरियन्ट) जत्तिकै घातक छैन । जसले विश्वभर विनाश निम्त्याएकाे थियाे ।

    के कुरामा ध्यान दिने ?

    भाइरस संक्रमणबाट बच्नका लागि अनिवार्य मास्क लगाउन स्वास्थ्य विज्ञहरुले सुझाव दिइरहेका छन् । नेपालमा स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर सर्वसाधारणकाे ध्यानाकर्षण गराइसकेकाे छ ।

    यदी संक्रमण भइहालेमा यसअघि ओमिक्राेन संक्रमण फैँलदा विशेषज्ञहरुले पारासिटामाेलकाे प्रयाेग गर्न सुझाव दिएका थिए । अहिले पनि यही प्रयाेग गर्नुपर्ने विज्ञहरुकाे भनाइ छ ।

  • काेराेनाकाे ‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक

    काेराेनाकाे ‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक

    काठमाडाैं । छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ ।

    मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा सो भाइरसले धेरै मानिसममा सङ्क्रमण सार्ने बताए ।

    उनका अनुसार ‘वि एफ ७’ ले अरु भेरियन्टभन्दा तीन–चारगुणा बढी सङ्क्रमण सार्ने गर्दछ । “चीन र भारतमा यस किसिमको नयाँ भेरियन्ट फैलिरहेको छ । भारतमा पाँच जनामा देखिएको छ”, उनले भने, “भारतमा देखिएकाले हामी सतर्कता अपनाउनुपर्दछ ।”

    नेपालमा भने ‘वि एफ ७’ नामको नयाँ भेरियन्ट अझै फेला नपरेको मन्त्रालयले जनाएको छ । एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएको ४८ नमुनाको जिन सिक्वेन्सिन गर्दा ‘वि एफ ७’ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो ।

    मन्त्रालयले नयाँ भेरियन्टको जोखिम हुन नदिनका लागि नेपाल–भारत सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने यात्रुको ज्वरो नाप्ने, शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण र जीन सिक्वेन्सिङ गर्ने कार्य गरिरहेको छ ।

    नेपालमा अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गइरहेको छ । अहिले सक्रिय सङ्क्रमित १० जना मात्र रहेका छन् ।

  • स्वास्थ्य मन्त्रालयले भन्याे- फरक स्वरुपमा कोरोना संक्रमण देखियो, अनिवार्य मास्क लगाउनू

    स्वास्थ्य मन्त्रालयले भन्याे- फरक स्वरुपमा कोरोना संक्रमण देखियो, अनिवार्य मास्क लगाउनू

    काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फरक स्वरुपमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएको बताएको छ ।

    मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न समेत आग्रह गरेको छ ।

    मन्‍त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दूरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।’

    पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन् । ‘केही देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गएको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानि बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ,’ मन्त्रालयले भनेको छ ।

    हेर्नुहाेस् विज्ञप्ति :

  • चीनमा काेराेनाकाे नयाँ लहर फैलिएपछि डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

    चीनमा काेराेनाकाे नयाँ लहर फैलिएपछि डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

    काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिरहेकाे छ । काेराेनाकाे नयाँ संक्रमण लहर फैलिएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिँँदै जानु चिन्ताको विषय भएको बताएका छन् ।

    जेनेभाको एक कार्यक्रममा उनले भनेका छन्, ‘निकै संक्रामक कोरोना भाइरसलाई सार्वजनिक स्वास्थ्य र सामाजिक नियमहरुबाट मात्रै रोक्न निकै मुस्किल छ । खोप अभियान यसबाट जोगिने उपाय हुनसक्छ ।’

    चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएको बताएका छन् ।

    तर अहिलेको संक्रमणको प्रभावलाई हेर्दा यति थोरै संख्यामा शंका गर्न सकिने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजिङसहितका शहरहरुका अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ ।

    सन् २०२० देखि चीनमा जिरो कोभिड नीति अनुसार तमाम स्वास्थ्य प्रतिबन्ध लगाइएको छ ।

    यद्यपि अर्थव्यवस्थामा यसबाट नकारात्मक असर परेपछि केही हप्तायता प्रतिबन्ध केही खुकुलो पनि पारिएको छ ।

    यसैगरी, चीनमा काेराेना संक्रमण फैलिएपछि भारतले पनि सतर्कता बढाएको छ । भारत सरकारले २१ डिसेम्बर २०२२ अर्थात् बुधबारदेखि अन्य देशबाट भारत आउने यात्रुको लागि विमानस्थलमा कोरोना परीक्षण सुरू गरेको छ ।

    चीनमा कठोर लकडाउन खुकुलो बनाएपछि संक्रमणदर बढेकाले भारतमा पनि सङ्क्रमितको संख्या बढ्न सक्ने भन्दै देशमा भेटिएका सबै सङ्क्रमितको जिनोम सिक्वेन्सिङ गर्न मन्त्रालयले निर्देशनसमेत दिएको छ ।

  • देशभर कति छन् काेराेना संक्रमित ?

    देशभर कति छन् काेराेना संक्रमित ?

    काठमाडाैं । नेपालमा बिहिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको २ सय ८२ जनाको पीसीआर परिक्षणमा ४ जना तथा ५ सय ३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कोरोनाका कारण बिहिबार पनि कसैको मृत्यु भएको छैन भने थप १५ संक्रमित निको भएका छन् । हाल नेपालमा ६० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • चीनमा एकैदिन ४० हजारभन्दा बढी कोभिड संक्रमित

    चीनमा एकैदिन ४० हजारभन्दा बढी कोभिड संक्रमित

    काठमाडाैं । चीनमा पछिल्लो २४ घन्टामा ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् ।

    उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

    चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या तीव्र ढंगले बढिरहेको छ ।

    सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो । सरकारको कोभिड नीतिलाई लिएर चीनमा मुख्य सहरहरुमा विशाल प्रदर्शनहरू भएका छन् । प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।

    राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौं प्रदर्शनकारीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरेका हुन् ।

    उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको मृत्युपछि चीनमा कोभिड निषेधाज्ञाविरुद्ध प्रदर्शनहरू सुरु भएका हुन् ।

  • चीनमा लगातार कोरोना संक्रमितको संख्यामा रेकर्डस्तरको वृद्धि, शनिबार थपिए करिब ४० हजार

    चीनमा लगातार कोरोना संक्रमितको संख्यामा रेकर्डस्तरको वृद्धि, शनिबार थपिए करिब ४० हजार

    काठमाडाैं । चीनको स्वास्थ्य आयोगले आफ्नो देशमा लगातार चौथो दिन पनि कोरोना संक्रमितको संख्या बढेको जनाएको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार देशमा ३९ हजार ७९१ नयाँ संक्रमित भेटिएको जनाएको छ ।

    तीमध्ये ३ हजार ७०९ जनामा ​​संक्रमणको लक्षण देखिएको छ भने ३६ हजार ८२ जनामा ​​संक्रमणको लक्षण देखिएको छैन । त्यसको एक दिनअघि शुक्रबार देशमा ३५ हजार १८३ नयाँ संक्रमित थपिएका थिए ।

    राजधानी बेइजिङ र चोङकिङ र ग्वाङ्झाउ जस्ता ठूला सहरहरूमा थुप्रै संक्रमित भेटिएका छन् । बेइजिङमा शनिबार ४ हजार ३०७ केसहरू देखिएका थिए भने एक दिनअघि २ हजार ५ सय ९५ मुद्दा दर्ता भएका थिए ।

    चोङकिङमा शनिबार ८ हजार ८ सय ६१ र शुक्रबार ७ हजार ७२१ जनामा ​​कोरोना संक्रमण देखिएको छ । अर्कोतर्फ ग्वान्झाउमा शनिबार ७ हजार ४१२ र शुक्रबार ७ हजार ४१९ जनामा ​​संक्रमण देखिएको छ ।

  • चीनमा कोभिड निषेधाज्ञाको विरोधमा प्रदर्शन, मागियो राष्ट्रपति सीको राजीनामा

    चीनमा कोभिड निषेधाज्ञाको विरोधमा प्रदर्शन, मागियो राष्ट्रपति सीको राजीनामा

    काठमाडाैं । उरुम्चीस्थित एउटा अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १० जनाको ज्यान गएपछि चीनमा कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शनहरू व्यापक भएका छन् ।

    साङ्घाई शहरमा सयौँ मानिसहरूले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडिओ विदेशी पत्रकारहरूले पोस्ट गरेका छन् ।

    त्यसलाई चिनियाँ नेतृत्व विरुद्ध भएको दुर्लभ प्रदर्शन भनिएको छ ।

    कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेका छन् ।

    पश्चिम सिनजियाङको एउटा अग्लो भवनमा भएको आगलागीमा १० जना मानिसको ज्यान गएपछि निकालिएको जुलुसबाट प्रदर्शन सुरु भएका थिए ।

    प्रत्यक्षदर्शी र भिडिओहरूका अनुसार उक्त प्रदर्शन चीनको शून्य कोभिड नीतिप्रति आक्रोशमा बदलिएको थियो ।

    सरकारी निकायहरूले अस्वीकार गरेको भएपनि कैयौँ इन्टरनेट प्रयोगकर्ताहरूले उरुम्चीमा भएको मृत्युका लागि आवासीय घरहरूमा लगाइएको लकडाउनलाई जिम्मेवार ठहर्‍याएका छन् ।

    भिडिओमा मानिसहरूले मैनबत्ती बालेको र पीडितहरूप्रति फुल राखेर सम्मान व्यक्त गरेको देख्न सकिन्छ ।

    कैयौँ विश्वविद्यालयका विद्यार्थीहरू पनि पीडितहरूको सम्झनामा आयोजित उक्त समारोहमा सहभागी थिए ।

    साङ्घाईको प्रदर्शनमा मानिसहरूले सी जिन्पिङ र कम्युनिस्ट पार्टीविरुद्ध नाराबाजी गरेको सुन्न सकिन्थ्यो ।

    कतिपयले सेतो ब्यानरसमेत बोकेका थिए ।

    आइतबार बिहानसम्ममा अवस्था सामान्य भएपनि प्रदर्शन भएका क्षेत्रमा व्यापक प्रहरी तैनाथ गरिएको बीबीसीले देखेको छ ।

    त्यहाँ कैयौँ दर्जन प्रहरी अधिकारी, निजी सुरक्षा गार्ड र सादा पोसाकका प्रहरी चोकहरूमा खटाइएका छन् ।

    शनिवार राति कैयौँ विश्वविद्यालयहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेका फोटो र भिडिओ अनलाइनमा सार्वजनिक भएका छन् ।

    सबैभन्दा ठूलो प्रदर्शन नानजिङ कम्युनिकेसन युनिभर्सिटीमा भएको थियो ।

    भिडिओहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न अप्ठेरो रहेको छ तर ती मध्ये धेरैले मानिसहरूको मनस्थितिमा उल्लेख्य परिवर्तन आएको सङ्केत दिन्छ ।

    आज्ञाकारी र सौम्य चिनियाँ समाजमा खुल्ला रूपमा राष्ट्रपति सीको राजीनामा मागिनु उनीविरुद्ध बाहिर देखिएको अहिलेसम्मकै कडा खालको आलोचना हो । बीबीसीबाट