काठमाडाैं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले जनयुद्ध दिवसको दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाेप्रति टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मौकामा हिरा फोडेको’ टिप्पणी गरेका हुन् ।
जनयुद्ध दिवसमा दिएको बिदाको बारेमा चौतर्फी विरोध भइरहँदा नेता बाँस्कोटाले प्रधानमन्त्रीले ‘पूर्व देखाएर पश्चिम हानेको’ बताएका छन् ।
बास्कोटाले भनेका छन्, ‘अस्तिसम्म बिदा बढी भो भन्थे–प्रम पुष्पकमल दाहाल किन रैछ भनेको त पूर्व देखाएर पश्चिम हान्न रैछ । तैं चुप मैं चुप । मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेका त्सयै हैन रैछ पुर्खाले ।’
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले विशिष्ट व्यक्तिको सवारीहरुलाई सहज र जनतालाई अप्ठेरो नपर्ने गरी व्यवस्था गर्न माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संघीय संसदमा आउँदा भएको सवारी जामको विषयले सरकार, संसद र राष्ट्रपतिप्रति पनि नकारात्मक टिप्पणी भइरहेको बताए ।
राष्ट्रपतिको सवारीका क्रममा आफू एक घण्टा जाममा परेको र एम्बुलेन्स पनि जाममा परेको देखेको पन्तले बताए ।
‘एम्बुलेन्समा कस्तो विरामी थिए भन्ने मैले देख्न पाइनँ, थुप्रै मान्छे आक्रोशित थिए, सांसदहरुलाई पनि गाली गर्दैथिए, मैले लोगो छोप्नुपर्यो, मास्क लगाउनुपर्यो’ उनले भने ।
विशिष्ट व्यक्तिको सवारी चलाउने मापदण्ड लोकतन्त्रमा खुकुलो र सुरक्षाको दृष्टिले पनि उपयुक्त हुनुपर्ने उनकाे भनाइ छ ।
तर सुरक्षा निकायले जहिले आफू सुरक्षित हुने बाटो खोज्ने र केही भएमा कसले जिम्मा लिने भन्ने प्रश्न गरेर उम्किने गरेको पन्तले बताए । ‘लोकतन्त्रमा लोकको यो आवाजप्रति हाम्रो संयन्त्र संवेदनशील हुन सकेन’ उनले भने ।
यसअघिको राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपतिले पनि आफ्नो सवारी चलाउँदा नागरिकलाई दु:ख नदिनू भनेको भन्दै पन्तले भने, ‘सरकारले नगर्दा राष्ट्रपतिले गाली खानुपर्यो ।’
काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएकाे बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा संवाददातासँग कुरा गर्दै ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताए ।
ओली नेपाल उद्योग परिसंघ (सिआइएन) प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न आज विराटनगर पुगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा हुनुहुन्छ नि? भन्ने प्रश्नमा ओलीले सत्ता गठबन्धन यसअघि भएको सहमतिमा दृढ रहेको बताए ।
उनले भने, ‘पहिला रविजी गृहमन्त्री हुनुभयो । गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो । अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो ।’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्रीले विश्वासको मत लिए पनि सरकारलाई पूर्णता दिन नसक्दा सत्ता साझेदार दलका शीर्ष नेता छलफलमा जुटेका हुन्।
सरकारको पूर्णतासँगै भेटवार्तामा शक्ति बाँडफाँट, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचनबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
त्यस्तै, दुई नेताबीच पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनाका विषयमा पनि छलफल भएको छ।
आजैको मन्त्रिपरिषदको आकष्मिक बैठकले दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
चाँडै सरकारलाई पूर्णता दिने भनिए पनि पोखराको दुर्घटनाले गृहकार्य नटुंगिएकाले मन्त्रिपरिषद विस्तारमा केही समय लाग्ने देखिएको छ।
काठमाडौं । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्षी दल नभएको बताएका छन् ।
रिपोटर्स क्लब नेपालले शनिवार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा महासेठले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै कांग्रेस अव प्रतिपक्षी दल नभएको बताएका हुन् ।
नेता महासेठले एमालेको प्रयास र माओवादी केन्द्रको समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको पनि दाबी गरे ।
उनले नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको भन्ने कुरा ६ महिनापछि थाहा हुने धारणा राखे ।
उनले वर्तमान सरकार बाध्यात्मक अवस्थामा बनेको उल्लेख गर्दै यसले देश र जनताको अहित हुनेगरी कुनै काम नगर्ने बताए ।
महासेठले आफूहरूले कांग्रेससँग पनि राम्रै सम्बन्ध बनाउन खोजेको बताए । फरक प्रसङ्गमा उनले आफू १०÷१५ वर्ष सक्रिय राजनीतिमा रहने बताउँदै राष्ट्रपति, उपराष्ट्र र सभामुखजस्ता पदमा नजाने स्पष्ट पारे ।
काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सांसदहरूको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले सफल सरकार बनाउन उपयुक्त ढंगले गाइड गर्ने बताएका हुन् ।
‘हाम्रो कर्तव्य यो सरकारलाई सफल बनाउने हो । सफल सरकार बनाउँछौँ र त्यसका लागि उपयुक्त ढंगले गाइड गर्छौँ । यो सरकारले सही नीति लेओस्, भ्रष्टाचार नगरोस् र नहोस् । यसले सुशासन र विकासको लागि उचित र आवश्यक कदमहरू चालोस्’ उनले भने ।
ओलीले पुस २६ गते सरकारले विश्वासको मत प्राप्त गर्ने र यो सरकारले विश्वासको मत पाएपछि कांग्रेस पाँचै वर्ष प्रतिपक्षमा रहेर विरोध गर्ने बताए ।
कांग्रेसले विगतमा जस्तै फेरि पनि च्याँखे थाप्न सक्ने भन्दै ओलीले विभिन्न दलका नेतालाई प्रधानमन्त्रीको अफर गर्नुको संवैधानिक औचित्य नै नरहेको बताए ।
राप्रपालाई कांग्रेसले प्रधानमन्त्री अफर गरेको हल्लाका सन्दर्भमा ओलीले भने– राजनीति बुझ्नेले यो संविधानको कुनै धारामा सम्भव छैन भन्ने बुझेका छन् । हामीलाई त थाङ्नामा सुताउन खोज्ने कांग्रेसले अरूलाई नगर्ला भन्न सकिन्न । हामीलाई नै अस्ति ५ बजेसम्म पर्खाएर धारा ७६ (३) को सरकार बनाउन खोज्दै थियो,हामीले असफल बनाएको हो ।
ओलीले यो सरकार र संसद्लाई सफल बनाउने एमालेले राजनीतिक नेतृत्व गर्ने बताए ।
काठमाडौं । एमाले पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले पृथ्वीनारायण शाहलाई सम्मान दिँदैमा राजतन्त्र नफर्किने बताएका छन् ।
पुस २७ गतेको पृथ्वी जयन्तीमा राष्ट्रिय बिदाको विषयमा बहस चल्दै गर्दा बास्कोटाले यस्तो बताएका हुन् । उनले सरकारले सार्वजनिक बिदा दिनुपर्ने तर्क गरेका छन् ।
पृथ्वीनारायण शाह नेपाल एकीकरणको आरम्भकर्ता भएकाले उनलाई राज्यले सम्मान दिनुपर्ने उनले बताए ।
‘उस्तै परे भ्यालेन्टाइन डेमा त बिदा पाउनैपर्छ भन्ने ग्रुप तयार भैराछ,’ उनले लेखेका छन्, ‘उनी(पृथ्वीनारायण शाह) त नेपाल एकीकरणका आरम्भकर्ता हुन्, उनलाई सम्मान दिँदैमा राजतन्त्र फर्कने होइन ।’
काठमाडाैं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हल्ला नगरी काम गर्न सुझाब दिएका छन् ।
हुलाक सञ्चारसँग कुरा गर्दैै नेता बिडारीले गृहमन्त्री लामिछानेले हिजो संचारकर्मी हुँदा जस्तै प्रचारका लागि मात्र काम गरेको जस्तो देखिएकाले संयम भएर विधिसम्मत ढंगले काम गर्न सुझाव दिएका हुन् ।
गृहमन्त्रीले दुई चार ठाउँ अनुगमन गरेर, सचिव, सिडिओ भेला पारेर भाषण गरेर हल्ला त होला तर त्यसले परिणाम नदिने उनको भनाइ छ । प्रक्रिया पुर्याएर नीति नियम बनाइ परिपक्व ढंंगले काम गरे उनी सफल हुने बिडारीको भनाइ छ ।
बिडारी भन्छन्, ‘पहिलो नम्बरमा त लामिछाने गृहमन्त्री हुनुहुँदैन थियो । उनको नागरिकता र पासपोर्टमाथि छानबिन चलिरहेको छ । स्वार्थ बाझिने मन्त्रालय नै उनले किन छाने ? हिजो नैतिकताका ठूलाठूला कुरा गर्ने लामिछानेले आज आफ्नै नैतिकता हेर्नुपर्दैन ? ’
प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकार टिकाउन पनि लामिछानेलाई गृहमन्त्रालय दिनुपर्ने बाध्यता आएको भन्दै उनले राप्रपा र जसपालाई सरकार टिक्दैन कि भन्ने शंका उत्पन्न भएको समेत बताए । सरकार कतै ढलीहाल्छ कि भन्ने लागेर जसपा र राप्रपा सरकारमा सहभागि हुन हिच्कीचाइ रहेका छन् ।
बिडारीका अनुसार नेकपा एकीकृत समाजवादीले पनि सरकारलाई समर्थन गर्नेछ । माधव नेपालको जाने ठाउँ कहीँ नभएको भन्दै बिडारीले एमालेले पनि माधव नेपालको पार्टीलाई भित्र्याउन खोजेको दाबी गरे ।
बिडारी भन्छन्, ‘ओलीले धेरै हण्डर खाएपछि माधव नेपाल, झलनाथ खनालहरुको आवश्यकता महसुस गरेका छन् । एमाले सांसदको संख्या थपेर ठूलो दल बन्न चाहन्छ । एमाले मात्र होइन सबै वामपन्थी दलहरुबीच पनि एकताको प्रयास भैरहेको छ । ’
तत्कालका लागि सरकारलाई विश्वासको मत प्राप्त गर्न समस्या नभए पनि भोलि कुनै दलले समर्थन फिर्ता लिएको खण्डमा भने सरकार संकटमा पर्न सक्ने बिडारी बताउँछन् । सरकारलाई समर्थन गरेको दलले विश्वासको मत फिर्ता लिएमा सरकारले पुनः विश्वासको मत लिनुपर्ने संविधानको धारा १०० मा उल्लेख छ ।