Tag: पुष्पकमल दाहाल

  • प्रचण्डको प्रतिवेदन पारित, एमसीसीबारे दिए यस्तो जवाफ

    प्रचण्डको प्रतिवेदन पारित, एमसीसीबारे दिए यस्तो जवाफ

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो ।

    महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।

    नेताहरु राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले जवाफ दिएनन् । आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

    जवाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे ठोस कुरा गरेनन् । उनले भने, ‘एमसीसीको बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने सम्भावना भएको हुँदा धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ, त्यही रुपमा बुझ्नुहोला। पार लगाइन्छ ।’

    प्रचण्डले आफूमाथि विभिन्न प्रश्न उठेको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको दाबी गरे ।

    ‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौँको रमझम छोड्न सक्लान् त? भनेर पनि भन्ने गर्छन्,’ उनले अगाडि भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्नँ ।’

  • डेरा सर्ने विषयमा अलमलमा प्रचण्ड, काठमाडाैं कि चितवन !

    डेरा सर्ने विषयमा अलमलमा प्रचण्ड, काठमाडाैं कि चितवन !

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डेरा सर्ने बताएका छन् । खुमलटारमा बस्दै आएका प्रचण्डले ८औं महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिँदै डेरा सर्न लागेको जानकारी गराएका हुन् ।

    उनको बसाइबारे प्रतिनिधिले पनि प्रश्न उठाएका थिए ।

    जवाफमा उनले भने- ‘डेरा सर्ने कुरा ठीक छ । खुमलटारबाट डेरा सर्छु । अर्को डेराको खोजी हुँदैछ । ठेकेदारको घरमा बस्यो भनेर आलोचना भयो । घर सल्लाह गर्छु । यहीँ बस्ने कि चितवन ।’

    ‘केन्द्रीय सदस्य काठमाडौंमा बस्न पाउने छैनन् । आफ्नो जिल्ला गाउँमै बस्नु पर्नेछ,’ उनले भने । डेरा सर्दा काठमाडौं नै बस्ने कि चितवन भन्ने प्रश्नले अध्यक्ष प्रचण्ड अलमलमा छन् ।

    प्रचण्ड अहिले ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्दै आएका छन् । अधिकारीले ठेक्का पाएका धेरै ठाउँमा काम अलपत्र छाडेका छन् । त्यसैले उनीमाथि शारदाप्रसाद अधिकारीलाई बचाउँदै आएको आरोप पनि लाग्दै आएको छ ।

    प्रचण्डले अमेरिकी सहायता मिलिनियम च्यालेज कर्पोरेशन (एमसीसी)बारे भने दस्तावेजको धारणामा परिवर्तन नहुने बताए । राजनीतिक प्रतिवेदनमा संशोधनबिना एमसीसी अघि नबढ्ने उल्लेख छ ।

  • क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको अपिल

    क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको अपिल

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मालेमावादी विश्व दृष्टिकोणका आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन विश्वभरको श्रमजीवी वर्गमा अपिल गरेका छन् ।

    चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङको १२९ औँ जन्मजयन्तीका अवसरमा शुभकामना दिँदै उनले यस्तो अपिल गरेका हुन् । माओको २६ डिसेम्बर १८९३ का दिन जन्म भएको थियो । अध्यक्ष दाहालले माओ माक्र्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेताका रूपमा रहेको चर्चा गर्दै उनको योगदान विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको उनले बताए ।

    ‘क्रान्तिको कार्यदिशा विकासका निम्ति माओले जुन योगदान गर्नुभएको छ, त्यो विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको छ’, अध्यक्ष दाहालले विज्ञप्तिमा भनेका छन्, ‘समग्रमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गर्नुभएको योगदान माक्र्सवाद–लेनिनवादको तेस्रो र विकसित रूप अर्थात् माओवादका रूपमा संश्लेषित भएको छ ।’

    जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्न माओवादीले माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशन गर्न लागेको अध्यक्ष दाहालको भनाइ छ । उनले महाधिवेशन प्रतिनिधि, पार्टी नेता–कार्यकर्ता र जनसमुदायमा आजको विश्वका विकसित चुनौती र सम्भावनाको आलोकमा रहेर नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्णरूपले केन्द्रित हुन अपिल पनि गरेका छन् ।

  • गणतन्त्र उल्टाउने षड्यन्त्रविरुद्ध कम्युनिष्ट एकता आवश्यक छ : प्रचण्ड (भिडियोसहित)

    गणतन्त्र उल्टाउने षड्यन्त्रविरुद्ध कम्युनिष्ट एकता आवश्यक छ : प्रचण्ड (भिडियोसहित)

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा चलिरहेको प्रतिक्रान्तिको षड्यन्त्रलाई परास्त गर्न कम्युनिष्ट शक्तिबीच एकता आवश्यक भएको बताएका छन् ।

    माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच भएको एकतापछि राजधानीमा आजोजित एकतासभामा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीले जनसंघर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाए । ‘युद्ध र आन्दोलनबाट परास्त भएका तत्व र प्रतिगमनकारीले गणतन्त्रलाई उल्टयाउने षडयन्त्र गरिरहेका छन्,’ उनले भने ।

    परिवर्तनका पक्षधर, क्रान्तिकारी र वामपन्थी शक्ति एकताबद्ध भएर अगाडि जाने गरी मोर्चाबन्दी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताको बलिदानबाट प्राप्त उपलब्धि कुनै हालतमा उल्टिन नदिइने बताए ।

    ‘अहिले पनि ढुक्क हुने अवस्था छैन, षडयन्त्र जारी छ,’ उनले भने, ‘जनता र राष्ट्रका पक्षधर, क्रान्तिकारी शक्तिले एकजुट भएर प्रतिवाद गर्न जरुरी छ ।’ इमान्दार कम्युनिष्ट बीचको बलियो एकताले नै प्रतिक्रान्ति विरोधी आन्दोनलको नेतृत्वको भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।

    ‘प्रचण्ड’ ले अवसरवादीहरु अहिले गाउँगाउँमा केही मान्छे शिला खोज्दै हिँड्ने गरेको पनि बताएका छन् । अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पार्टी प्रवेशका नाममा शिला खोज्दै गाउँ-गाउँ हिँडेको बताएका हुन् ।

    कार्यक्रममा नेकपा मसाल (सम्पर्क केन्द्र)का संयोजक लोकेन्द्र लम्सालले वैज्ञानिक समाजवाद स्थापना गर्न आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकताबद्ध भएको बताए ।

    जनपक्षीय शक्ति अलगअलग भएर जनताको अपेक्षा पूरा हुन नसक्ने भन्दै उनले जनकांक्षा पूरा गर्न माओवादी विचार र नेतृत्वबाट मात्र सम्भव भएकाले आफूहरु एकता प्रक्रियामा आएको उनकाे भनाइ थियाे ।

  • खेलाडीमाथि कारबाही गरिएको विषयमा प्रचण्डले गराए देउवाको ध्यानाकर्षण

    खेलाडीमाथि कारबाही गरिएको विषयमा प्रचण्डले गराए देउवाको ध्यानाकर्षण

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपाली क्रिकेटका खेलाडीहरूमाथि गरिएको कारबाहीको ध्यानाकर्षण गराएका छन् ।

    प्रधानमन्त्री देउवालाई प्रचण्डले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत् जानकारी दिएकी हुन् ।

    यसअघि नेपाल क्रिकेट संघ (क्यान) को बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो । मल्ल र ऐरीसहित अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई सन् २०२२ को वर्गीकरणबाट प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय गरेकाे थियो ।

    यस्तै, भेटका क्रममा अध्यक्ष प्रचण्डले देउवालाई नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

    भेटमा समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने सहमति भएको पनि बताइएको छ ।

    सम्बन्धित समाचार

    अनुशासन उल्लंघन गरेकाे आरोपमा कप्तान ज्ञानेन्द्र र उपकप्तान दिपेन्द्र हटाइए

  • संशोधनबिना एमसीसी पारित गर्नुपर्छ : प्रचण्ड

    संशोधनबिना एमसीसी पारित गर्नुपर्छ : प्रचण्ड

    कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन् ।

    पार्टीको कार्यक्रममा सहभागि हुन बुधबार धनगढी आइपुगेका प्रचण्डले सुरुमा गरिएको एमसीसीको सम्झौतालाई पारित गर्नुपर्ने बताएका हुन् ।

    आफू प्रधानमन्त्री हुँदा २९ भदौ २०७४ मा अमेरिकामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नाशबीच भएको एमसीसीको सम्झौता नै पारित गर्नुपर्ने प्रचण्डले बताएका हुन् ।

    ‘सुरुमा संसदबाट पारित गर्नुपर्ने गरी एमसीसी सम्झौता भएको थिएन’, प्रचण्डले भने, ‘पछि ओली सरकारले त्यसलाई परिमार्जित गरेर संसदबाट पास गर्नुपर्ने नीति ल्याएपछि विवाद बढेको छ, त्यसैले सुरुको सम्झौतामा फर्केर पास गर्नुपर्छ ।’

    अमेरिकी सहयोग नेपालले लिँदै आएको र एमसीसी पनि स्वीकार्नु पर्ने बताएका उनले अमेरिकी सहयोग नलिने नेपालको नीति पनि नरहेको स्पष्ट पारे ।

    अमेरिकासँग ७५ वर्षदेखि सम्बन्ध रहेको र त्यसबीचमा सबै सहयोग नेपालले लिँदै आएको स्मरण गराउँदै प्रचण्डले एमसीसी पनि स्वीकारेर सदनबाट पारित गर्नुपर्ने बताएका हुन् ।

    ‘तर, संसदबाट पारित गर्ने भन्दै ओली नेतृत्वको सरकारले एमसीसीका केही जटिल बँुदा थपेको छ । सुरको सम्झौता विवादित थिएन । त्यसैले सुरुवाती सम्झौतामा फर्केर सो योजना पास गर्नुपर्दछ’, उनले भने ।

  • तीनै तहको चुनाव एकैपटक हुनसक्छ : प्रचण्ड

    तीनै तहको चुनाव एकैपटक हुनसक्छ : प्रचण्ड

    धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन् ।

    बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आवाज बलियो रुपमा उठ्न थालेपछि प्रधानमन्त्री देउवासँग छलफल गरिएको बताएका हुन् । ‘प्रधानमन्त्रीज्यू पनि त्यस विषयमा सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष प्रचण्डले भने,‘सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ,’ उनले भने । पटकपटक चुनाव गर्दा राज्यलाई खर्च भार पनि बढी हुने र जनतालाई पनि दिक्क लाग्ने हुँदा सबै चुनाव एकैपटक गर्नुपर्ने माग आउन थालेको उनले बताए ।

    प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताए । अदालतभित्र देखिएको समस्या आन्तरिक रुपमै समाधान हुनुपर्ने बताउँदै उनले त्यसो नभएमा एक दुई दिनमा पाँच दलीय गठबन्धनले एक स्टेपमाथि गएर अर्को निर्णय गर्ने बताए ।