प्रचण्डको प्रतिवेदन पारित, एमसीसीबारे दिए यस्तो जवाफ

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो ।

महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।

नेताहरु राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले जवाफ दिएनन् । आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

जवाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे ठोस कुरा गरेनन् । उनले भने, ‘एमसीसीको बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने सम्भावना भएको हुँदा धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ, त्यही रुपमा बुझ्नुहोला। पार लगाइन्छ ।’

प्रचण्डले आफूमाथि विभिन्न प्रश्न उठेको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको दाबी गरे ।

‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौँको रमझम छोड्न सक्लान् त? भनेर पनि भन्ने गर्छन्,’ उनले अगाडि भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्नँ ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१