गणतन्त्र उल्टाउने षड्यन्त्रविरुद्ध कम्युनिष्ट एकता आवश्यक छ : प्रचण्ड (भिडियोसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा चलिरहेको प्रतिक्रान्तिको षड्यन्त्रलाई परास्त गर्न कम्युनिष्ट शक्तिबीच एकता आवश्यक भएको बताएका छन् ।

माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच भएको एकतापछि राजधानीमा आजोजित एकतासभामा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीले जनसंघर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाए । ‘युद्ध र आन्दोलनबाट परास्त भएका तत्व र प्रतिगमनकारीले गणतन्त्रलाई उल्टयाउने षडयन्त्र गरिरहेका छन्,’ उनले भने ।

परिवर्तनका पक्षधर, क्रान्तिकारी र वामपन्थी शक्ति एकताबद्ध भएर अगाडि जाने गरी मोर्चाबन्दी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताको बलिदानबाट प्राप्त उपलब्धि कुनै हालतमा उल्टिन नदिइने बताए ।

‘अहिले पनि ढुक्क हुने अवस्था छैन, षडयन्त्र जारी छ,’ उनले भने, ‘जनता र राष्ट्रका पक्षधर, क्रान्तिकारी शक्तिले एकजुट भएर प्रतिवाद गर्न जरुरी छ ।’ इमान्दार कम्युनिष्ट बीचको बलियो एकताले नै प्रतिक्रान्ति विरोधी आन्दोनलको नेतृत्वको भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।

‘प्रचण्ड’ ले अवसरवादीहरु अहिले गाउँगाउँमा केही मान्छे शिला खोज्दै हिँड्ने गरेको पनि बताएका छन् । अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पार्टी प्रवेशका नाममा शिला खोज्दै गाउँ-गाउँ हिँडेको बताएका हुन् ।

कार्यक्रममा नेकपा मसाल (सम्पर्क केन्द्र)का संयोजक लोकेन्द्र लम्सालले वैज्ञानिक समाजवाद स्थापना गर्न आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकताबद्ध भएको बताए ।

जनपक्षीय शक्ति अलगअलग भएर जनताको अपेक्षा पूरा हुन नसक्ने भन्दै उनले जनकांक्षा पूरा गर्न माओवादी विचार र नेतृत्वबाट मात्र सम्भव भएकाले आफूहरु एकता प्रक्रियामा आएको उनकाे भनाइ थियाे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१