Tag: माधवकुमार नेपाल

  • सुदूरपश्चिम सरकार : माधवको अडानमा दाहाल र ओलीको यु–टर्न

    सुदूरपश्चिम सरकार : माधवको अडानमा दाहाल र ओलीको यु–टर्न

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयले सत्ता गठबन्धनमा निम्तिएको संकट तत्कालका लागि टरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दललाई मुख्यमन्त्री नदिए गठबन्धन नै छोड्नेसम्मको चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली यु–टर्न भएका छन् ।

    सुदूरपश्चिममा ओली र दाहालले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने बचनबाट पछि हटेका हुन् । एकीकृत समाजवादीले नै मुख्यमन्त्री पाउने भएपछि सत्ता गठबन्धनमा देखिएको संकट तत्काललाई टरेको छ ।

    गठबन्धनमा पहिले भएको समझदारी विपरीत एमाले अध्यक्ष ओलीले सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीलाई दिन दबाब दिएपछि प्रधानमन्त्री दाहालले पनि सहमति दिएका थिए । सुदूरपश्चिममा एमाले र माओवादी केन्द्रको समर्थनमा उन्मुक्तिका अध्यक्ष रञ्जिता चौधरी पक्षधर कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

    तर सहमति अनुसार मुख्यमन्त्री नपाउने भएपछि एकीकृत समाजवादीले नागरिक उन्मुक्तिकै संरक्षक रेशमलाल चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेर कांग्रेससँग बैकल्पिक गठबन्धन बनाएका थिए । जबकि समाजवादी पछि नहटेको अवस्थामा बैकल्पिक गठबन्धनकै सरकार बन्ने सम्भावना समेत थियो ।

    सत्ता गठबन्धन केन्द्रको निर्णयबमोजिम नै सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले पुनः मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय तोकेका छन् । पहिले परेका दाबी खारेज गर्दै नयाँ आह्वान भएपछि उनको कदमलाई लिएर कांग्रेसले भने कानूनी प्रश्न उठाएको छ ।

    कांग्रेसले नागरिक उन्मुक्ति पार्टीको एउटा पक्ष र एकीकृत समाजवादीलाई साथ लिएर बैकल्पिक गठबन्धनको सरकार बनाउने प्रयास गरेको थियो । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बहुमतका आधारमा आफूहरूले समर्थन गरेका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त गरिनुपर्ने भएपनि प्रदेश प्रमुखले कानूनविपरीत कदम चालेको आरोप लगाए ।

    तर एकीकृत समाजवादीले गठबन्धन छोड्दा त्यसको प्रभाव अन्य प्रदेशहरू र केन्द्र सरकारमा समेत पर्ने भएकाले प्रधानमन्त्री दाहाल र ओली झस्किएका छन् ।

    सुदूरपश्चिममा सरकारको नेतृत्व नपाए गठबन्धन छोड्ने चेतावनी दिएपछि मंगलबार विहान प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग छलफलपछि समाधान निकालेका थिए ।

    यता सत्ता गठबन्धनकै कारण सुदूरपश्चिमबाट उदय भएको नागरिक उन्मुक्तिमा विवाद चर्किएको छ । उन्मुक्तिकी अध्यक्ष चौधरी वर्तमान गठबन्धनमै सामेल हुन तयार छिन् भने संरक्षक चौधरी तत्काल सत्तामा जान नहुने पक्षमा उभिए । चौधरीद्धयको झगडाले उन्मुक्ति पार्टी फुटको संघारमा पुगेको छ । उन्मुक्तिले भने आफ्नै पार्टीभित्रको झगडा मिलाउन नसक्दा भागमा परिसकेको मुख्यमन्त्री पनि गुमाएको छ ।

    अब सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीको नेतृत्वमा नयाँ सरकार बन्ने लगभग निश्चित भएको छ । प्रदेश प्रमुख मियाँले बुधबार बलेुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् । एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने सोडारीको तयारी छ । ५३ सदस्यीय प्रदेशसभामा हाल ५१ सदस्य बहाल छन् । त्यसमध्ये ४ जनामात्रै सांसद भएको एकीकृत समाजवादीले मुख्यमन्त्री पाउन लागेको हो ।

    प्रदेशसभामा माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् । १८ सिट भएको नेपाली कांग्रेस भने प्रतिपक्षमा छ ।

    एकीकृत समाजवादीका सोडारीले माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका १०, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ समेत गरी बहुमत पु¥याएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन् ।

    योसँगै सत्ता गठबन्धनले कोशी बाहेकका प्रदेशहरूमा सरकार गठन गर्नेछ । गण्डकी र कर्णालीमा एमाले, बागमती र लुम्बिनीमा माओवादी केन्द्र र मधेशमा जसपाको नेतृत्वमा सरकार बनेका छन् । कोशीमा पनि सत्ता गठबन्धन दलले कांग्रेस नेतृत्वको सरकार ढाल्न सकेका छैनन् । संविधानको धारा १६८ (५) बमोजिम सरकार भएका कारण कोशीमा गठबन्धनलाई नयाँ सरकार गठन गर्न सहज छैन । मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जाने भन्दै चुनौती दिइरहेका छन् ।

  • एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने

    एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ ।

    केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिए ।

    ती नेताका अनुसार एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ ।

  • एमालेले गठबन्धनलाई ध्वस्त पार्ने षडयन्त्र गरेको माधव नेपालकाे आरोप

    एमालेले गठबन्धनलाई ध्वस्त पार्ने षडयन्त्र गरेको माधव नेपालकाे आरोप

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेले गठबन्धनलाई ध्वस्त पार्ने षडयन्त्र गरेको आरोप लगाएका छन् ।

    शुक्रबार काठमाडौंमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन(समाजवादी)को तेश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफूहरु पहिले रहेका पार्टीका नेताले गठबन्धनलाई ध्वस्त पार्न खोजेको भन्दै उनीहरुलाई षड्यन्त्रलाई सफल हुन नदिने बताए ।

    उनले गठबन्धनका साथै पार्टीलाई बलियो बनाउदै अघि बढ्नुपर्ने धारणा राखे । अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धनमामात्रै भर नगरी आफ्नो शक्ति निर्माण गर्नुपर्ने जिकीर गरे । अहिले प्रतिगामी तत्वहरूले व्यवस्थामाथि प्रहार गरिरहेको भन्दै उनले व्यवस्थाको पक्षमा उभिनेहरुलाई शत्रुको रुपमा हेर्न नहुने बताए ।

    उनले आफ्नो पार्टीमा निराशा नभइ आशा रहेकाले मुलुकका सबै तहमा संगठनलाई बलियो बनाएर अघि बढ्न निर्देशन पनि दिए ।

  • ओलीलाई नेपालको व्यङ्ग्य : आफूलाई सर्वज्ञानी ठान्दा सबै गुम्यो

    ओलीलाई नेपालको व्यङ्ग्य : आफूलाई सर्वज्ञानी ठान्दा सबै गुम्यो

    काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल संसदमा एमाले अध्यक्ष केपी ओलीप्रति आक्रामक सुनिएका छन् ।

    सोमबार प्रतिनीनिधी सभामा नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्ने क्रममा नेपालले एमाले अध्यक्ष ओलीलाई आफ्नै कारणले दुःख पाएको भन्दै व्यङ्ग्य गरे । उनले भने ‘अरुलाई घोचपेच गरेर मात्र हुँदैन् । आफ्नो पिडा व्यथा पोखेर मात्र हुँदैन् । सरकारमा बस्न सकिएन त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन त्यसको पछाडी पनि अरुलाई दोष दिएर हुँदैन् । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्क्यो त्यसको लागि अरुलाई सत्तो सराप गरेर हुँदैन् । सबै भन्दा ठुलो समस्या व्यक्तिबादको रोग हो । आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो ।’

    उनले ओलीले आफूलाई सर्वज्ञ तथा सर्वश्रेष्ठ ठान्दा समस्या भएको पनाि दाेहाेर्‍याए ।

  • माधव नेपाल भन्छन् : गठबन्धन धरापमा पर्नसक्छ

    माधव नेपाल भन्छन् : गठबन्धन धरापमा पर्नसक्छ

    काठमाडौं । सत्तारुढ घटक नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको गुनासो गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूले गरेको योगदान नबिर्सिन चेतावनीसमेत दिए ।

    प्रचण्ड ओलीको शरणमा गएपनि त्यहाँ टिक्न नसकेर चुनावी गठबन्धनमै फर्किएको तर गठबन्धनको स्प्रिटअनुसार काम गर्न नसकिरहेको उनको टिप्पणी थियो ।

    देश र जनताको पक्षमा रहेर काम गरुन् भन्ने आफ्नो चाहना रहेको भन्दै उनले सीमित साधन स्रोतको अधिकतम प्रयोग गर्न सुझाए ।

    अध्यक्ष नेपालले आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको दुरुपयोग नगरेको जिकिरसमेत गरे ।

     

  • प्रचण्डले दम्भ देखाए गठबन्धन ताेडिने माधव नेपालकाे चेतावनी

    प्रचण्डले दम्भ देखाए गठबन्धन ताेडिने माधव नेपालकाे चेतावनी

    सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाएका छन् ।

    आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष नेपालले गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताए ।

    प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने उनको चेतावनी थियो । नेपालले भने -‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ ‌। यसले गठबन्धन धरापमा पार्न सक्छ ।’

    अध्यक्ष नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि बताए । समाज समृद्ध भए मात्र जनता खुसी हुने बताउँदै उनले आफ्नो पार्टी समृद्धिको अभियानमा रहेको बताए ।

    अप्ठ्यारो बेलाको र पार्टीभित्रबाट चुनौती आउँदा पनि आफूले निकै काम गरेको भए पनि त्यसको चर्चा नभएको नेपालको दुखेसो थियो ।

  • राष्ट्रपति निर्वाचनमा सहयोग गर्न माधव नेपाललाई केपी ओलीले पठाए औपचारिक पत्र

    राष्ट्रपति निर्वाचनमा सहयोग गर्न माधव नेपाललाई केपी ओलीले पठाए औपचारिक पत्र

    काठमाडाैं । राष्ट्रपति निर्वाचनमा सहयाेग गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ ।

    एमालेले नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएपछि एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई औपचारिक पत्र पठाएका हुन् ।

    केही समय अघिसम्म एकीकृत समाजवादीलाई पार्टीको हैसियतमा मान्न तयार नभएका एमाले अध्यक्ष ओलीले समाजवादीका अध्यक्ष ओलीलाई सम्बाेधन गरेर पत्र पठाएका हुन् ।

  • वर्तमान सरकारकाे आयु लामाे छैन : माधव नेपाल

    वर्तमान सरकारकाे आयु लामाे छैन : माधव नेपाल

    उदयपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन् ।

    शुक्रबार उदयपुरको गाइघाटमा कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष नेपालले निर्वाचनका बेला एउटा गठबन्धन बनेको र परिणाम आइसकेपछि अर्को अपवित्र गठबन्धन बनेको भन्दै गठबन्धनको सरकार अब धेरैदिन टिक्न नसक्ने बताए ।

    अध्यक्ष नेपालले गठबन्धनकै नेताहरुले गठबन्धन लामो समय नटिक्ने बताएको जिकीर गरे । उनले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेकोले यो कुनै पनि बेला जतापनि मोडिन सक्ने स्थितिमा रहेको बताए ।

    नेपालको राजनैतिक आकाशमा अहिले कालोबादल मडारीरहेकोले संघीयता र संविधान माथिनै खतरा रहेको उनकाे भनाइ छ ।

    अध्यक्ष नेपाल मोरङ जिल्लाको लेटाङमा शनिबारदेखि शुरु हुने १ नम्बर प्रदेशस्तरीय साताब्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि मदनभण्डारी राजमार्ग भएर मोरङ जाने क्रममा गाइघाट पुगेका थिए ।

  • एकीकृत समाजवादीले गर्‍यो सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय

    एकीकृत समाजवादीले गर्‍यो सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय गरेको छ ।

    पार्टी कार्यालय तीनकुनेमा बिहीबार बिहान बसेको सचिवालय बैठकले प्रतिनिधिसभाको सभामुख पदमा कांग्रेसका उम्मेदवारको पक्षमा मत दिने निर्णय गरेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

    कांग्रेसबाट सभामुख पदमा उम्मेद्वारी दिएकी इश्वरी न्यौपानेको समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहेका छन् ।

    सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे सभामुखमा भिड्दै छन् । घिमिरेका प्रस्तावकमा सुवासचन्द्र नेम्बाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् ।

  • ओलीलक्षित माधव नेपालकाे कटाक्ष : संसदमा गर्जिएको देख्दा अचम्म लाग्छ !

    ओलीलक्षित माधव नेपालकाे कटाक्ष : संसदमा गर्जिएको देख्दा अचम्म लाग्छ !

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको बचाउ गरेको देख्दा आफूलाई अचम्म लागेको बताएका छन् ।

    मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लिन लागेको विश्वासको मतको प्रस्तावमाथि भएको छलफलमा नेपालले ओलीमाथि कटाक्ष गरेका हुन् ।

    ओलीले सोमबार र मंगलबार संसदमा बोल्दै प्रतिनिधि सभा विघटन गर्नु प्रतिगमन नभएको बताएका थिए । उनले बेलायत, इजरायल, जापानलगायत संसदीय व्यवस्था भएका मुलुकमा पनि संसद विघटन हुने गरेको तर्क गरेका थिए ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आज संसदमा बोल्दै ओलीको अभिव्यक्तिमा गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

    देउवालाई जवाफ फर्काउँदै ओलीले २०१७, २०५१ र २०५८ मा पनि संसद विघटन भएको र संसद विघटनको गुरू देउवा नै बताएका थिए ।

    ओलीले उदाहरण दिएजस्तै नेपालको संविधान बेलायत, जापानको जस्तो नभएको नेपालले बताए ।

    ‘अहिलेको संविधान राणाकालको जस्तो वा २०४८ सालको जस्तो होइन । हामी आफैंले लेखेको संविधानमा संसदले सरकार बनाउन सक्ने अवस्थामा कसैको लहडमा प्रतिनिधि सभा विघटन गर्न नपाइने व्यवस्था छ’ नेपालले भने ।