वर्तमान सरकारकाे आयु लामाे छैन : माधव नेपाल

उदयपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन् ।

शुक्रबार उदयपुरको गाइघाटमा कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष नेपालले निर्वाचनका बेला एउटा गठबन्धन बनेको र परिणाम आइसकेपछि अर्को अपवित्र गठबन्धन बनेको भन्दै गठबन्धनको सरकार अब धेरैदिन टिक्न नसक्ने बताए ।

अध्यक्ष नेपालले गठबन्धनकै नेताहरुले गठबन्धन लामो समय नटिक्ने बताएको जिकीर गरे । उनले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेकोले यो कुनै पनि बेला जतापनि मोडिन सक्ने स्थितिमा रहेको बताए ।

नेपालको राजनैतिक आकाशमा अहिले कालोबादल मडारीरहेकोले संघीयता र संविधान माथिनै खतरा रहेको उनकाे भनाइ छ ।

अध्यक्ष नेपाल मोरङ जिल्लाको लेटाङमा शनिबारदेखि शुरु हुने १ नम्बर प्रदेशस्तरीय साताब्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि मदनभण्डारी राजमार्ग भएर मोरङ जाने क्रममा गाइघाट पुगेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१