ओलीलक्षित माधव नेपालकाे कटाक्ष : संसदमा गर्जिएको देख्दा अचम्म लाग्छ !

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको बचाउ गरेको देख्दा आफूलाई अचम्म लागेको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लिन लागेको विश्वासको मतको प्रस्तावमाथि भएको छलफलमा नेपालले ओलीमाथि कटाक्ष गरेका हुन् ।

ओलीले सोमबार र मंगलबार संसदमा बोल्दै प्रतिनिधि सभा विघटन गर्नु प्रतिगमन नभएको बताएका थिए । उनले बेलायत, इजरायल, जापानलगायत संसदीय व्यवस्था भएका मुलुकमा पनि संसद विघटन हुने गरेको तर्क गरेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आज संसदमा बोल्दै ओलीको अभिव्यक्तिमा गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

देउवालाई जवाफ फर्काउँदै ओलीले २०१७, २०५१ र २०५८ मा पनि संसद विघटन भएको र संसद विघटनको गुरू देउवा नै बताएका थिए ।

ओलीले उदाहरण दिएजस्तै नेपालको संविधान बेलायत, जापानको जस्तो नभएको नेपालले बताए ।

‘अहिलेको संविधान राणाकालको जस्तो वा २०४८ सालको जस्तो होइन । हामी आफैंले लेखेको संविधानमा संसदले सरकार बनाउन सक्ने अवस्थामा कसैको लहडमा प्रतिनिधि सभा विघटन गर्न नपाइने व्यवस्था छ’ नेपालले भने ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१