यसरी तयार हुँदैछ एमाले १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल

चितवन । चितवनमा हुन लागेको नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको तयारी भइरहेकाे छ । १० मंसिरमा नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा देशभरबाट पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ ।

उद्घाटन स्थलमा विशाल मञ्च निर्माण भएकाे छ । मञ्च चार खण्डमा निर्माण हुने छ । मञ्चको पश्चिमतर्फ एमाले महाधिवेशनको झण्डा बोकेको गैंडाको मस्कट राखिने छ । उद्घाटन स्थलमा मञ्च निर्माणसँगै प्रचारप्रसारका साइन बोर्डहरू पनि धमाधम बनाइएको छ । नारायणी नदीको पारिपट्टी गैंडाकोटतर्फको किनारमा पनि एमालेको ठूलो बोर्ड राखिएको छ ।

नदीको दुवै किनारमा सहभागीहरूलाई राख्ने एमालेको योजना छ । टाढा बस्ने सहभागीहरूका लागि ठूलो डिस्प्ले बोर्डको व्यवस्था गरिने श्रेष्ठले बताए । ११ र १२ मंसिरमा बन्द सत्र हुने सौराहामा दुई हजार प्रतिनिधि हटाउने हल निर्माण गरिएको छ ।

महाधिवेशनकाे लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ । एमालेले गैँडाको मस्कटसहितको लोगो २६ कात्तिकमा सार्वजनिक गरेको थियाे । लोगोमा मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ ।

एमालेले साढे तीन लाख रुपैयाँ खर्चिएर गैँडाको मस्कट तयार गरेको हो । चितवन एकसिंगे गैँडाका लागि पनि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार गरेकाे हाे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१