सभापति पदको प्रतिस्पर्धाबाट अलग भएँ : रामचन्द्र पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग भए पनि गलत प्रवृत्तिविरुद्ध लडिरहने बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गरी उनले आफू अलग रहे पनि एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध लडिरहने बताएका हुन् ।

‘राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ’ उनले भनेका छन्, ‘प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनुहुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु ।’

उनले चौधौं महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको र पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा पुगेको बताएका छन् ।

संस्थापन इतर समूहबाट सभापति पदमा एक मात्र साझा उम्मेदवार बनाउने निकै प्रयास गरिए पनि सफल नभएपछि अन्ततः वरिष्ठ नेता पौडेल सभापति पदको प्रतिस्पर्धाबाट बाहिरिने निर्णयमा पुगेका हुन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१