काठमाडौं । फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित भएपछि आफ्नो टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन् ।
डालास स्टेडियममा भएको सेमिफाइनलमा स्पेनसँग पराजित हुँदै फ्रान्स प्रतियोगिताबाट बाहिरिएपछि डेसचाम्प्सले टोलीका खेलाडीहरू निकै निराश रहेको बताए । उनका अनुसार टोलीको लक्ष्य फाइनल पुग्ने भए पनि प्राविधिक त्रुटि र आक्रमणमा धार नदेखिँदा त्यसमा सफल हुन सकिएन ।
‘हाम्रा खेलाडी निकै निराश छन् । हाम्रो लक्ष्य फाइनल पुग्ने थियो । तर आज हामी प्राविधिक रूपमा आफ्नो सामान्य स्तरभन्दा तल खेल्यौं र स्पेनले खेलमाथि पूर्ण नियन्त्रण कायम ग¥यो,’ डेसचाम्प्सले भने ।
उनले हारको जिम्मेवारी आफ्नै टोलीले लिनुपर्ने उल्लेख गर्दै अवसरहरूको सदुपयोग गर्न नसक्नु महँगो परेको बताए । ‘यो मुख्य रूपमा हाम्रो आफ्नै कमजोरी हो । हामीले आक्रमणमा अपेक्षाअनुसार खतरा सिर्जना गर्न सकेनौं । केही गलत पासका कारण गोल गर्ने अवसर पनि गुमायौं । उच्च स्तरको फुटबलमा यस्ता गल्तीको मूल्य चुकाउनुपर्छ,’ उनले थपे ।
खेलमा स्पेनले सुरुदेखि नै सन्तुलित र प्रभावशाली प्रदर्शन गरेको थियो । लामिन यामालमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएपछि प्राप्त पेनाल्टीलाई मिकेल ओयार्जाबालले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । त्यसपछि पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट समन्वय गर्दै दोस्रो गोल गरेपछि स्पेनले सहज जित दर्ता ग¥यो। उत्कृष्ट प्रदर्शन गरेका पोरो ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
स्पेन अब आइतबार न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुने विश्वकप फाइनलमा इंग्ल्यान्ड वा अर्जेन्टिनामध्ये एकसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सन् २०१० मा नेदरल्यान्ड्सलाई हराउँदै पहिलोपटक विश्वकप जितेको स्पेन दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ ।
स्पेनका ओयार्जाबालले पछिल्ला २० अन्तर्राष्ट्रिय खेलमा १८ गोल पु¥याएका छन् । साथै, उक्त गोलसँगै उनी स्पेनका लागि ३० अन्तर्राष्ट्रिय गोल गर्ने छैटौं खेलाडी बनेका छन् । यता फ्रान्सले अब शनिबार हुने तेस्रो स्थानका लागि हुने प्लेअफ खेल खेल्नेछ । उक्त खेलमा कप्तान किलियन एमबाप्पेलाई गोल्डेन बुटको दौडमा आफ्नो गोल संख्या बढाउने अर्को अवसर हुनेछ ।