यसकारण उत्तर काेरियामा हाँस्न प्रतिबन्ध लगाइयो

काठमाडाैं । उत्तर कोरियामा हाँस्नका लागि प्रतिबन्ध लगाइएको छ । ११ दिनसम्मका लागि उत्तर कोरियामा हाँस्न तथा अन्य कुनै पनि प्रकारका खुशीयाली मनाउन रोक लगाइएको हो ।

उत्तर कोरियाली पूर्वनेता किम जोङ्ग इलको १० औं पुण्यतिथिको पूर्वसन्ध्यामा यस्तो प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाले आफ्ना पूर्वनेता किम जोङ्ग इलको पुण्यतिथिका अवसरमा ११ दिनसम्म शोक मनाउने भएको हो ।

उत्तर कोरियाका तत्कालीन सर्वोच्च नेता किम जोङ्ग इलको १७ डिसेम्बर २०११ मा निधन भएको थियो ।

उत्तर कोरियामा अहिले किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहेका छन् । किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, मदिरापान गर्न नपाउने र कुनै प्रकारको खुशी मनाउन नपाउने गरी प्रशासनले आदेश जारी गरेको छ ।

सरकारी आदेश उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्था गरिएको र आदेश पालना गराउनका लागि ठूलो संख्यामा सुरक्षाकर्मीलाई निगरानीका लागि खटाइएको समाचारहरुमा जनाइएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१