माओवादी केन्द्रको सम्मेलनमा १५३३ प्रतिनिधि, अरु दलले पाएनन् निम्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनको आन्तरिक तयारी गरेकाे छ । सम्मेलनमा एक हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नाराका साथ हुने सम्मेलनमा प्रदेश कमिटीबाट ८ सय ३ जना प्रतिनिधि सहभागी हुनेछन् ।

त्यस्तै, आयोजक समितिबाट १ सय ७९ जना, विभिन्न आयोगबाट १ सय ७५, सल्लाहकारहरु, जेष्ठ कम्युनिस्ट मञ्चबाट १ सय २५, केन्द्रीय प्रतिनिधिका रुपमा २७ र बाँकी पाँच प्रतिशत मनोनित गरी एक हजार ५ सय ३३ जना प्रतिनिधिहरु सहभागि हुने बुधवार पत्रकार सम्मेलन गरी पार्टीका प्रवक्ता तथा प्रचार विभागका प्रमुख कृष्णबहादुर महराले जानकारी दिए ।

यसैबिच, सम्मेलनको उद्घाटनका क्रममा कुनै पनि राजनीतिक दल तथा विदेशी प्रतिनिधिहरुलाई सम्बोधनका लागि शुभकामना दिन निम्तो नदिइने समेत उनले जानकारी दिए ।

उनले भने, ‘महाधिवेशन होइन । हामी सम्मेलन गर्दैछौँ । विशुद्ध क्रान्तिकारी विचारको मन्थन हुनेछ । विचार निर्माण कसरी गर्ने विषयमा हामी छलफल गर्छौँ । सम्मेलनमा कसैलाई बोलाइँदैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय अतिथिहरु कसैलाई पनि सहभागिताका लागि निम्तो दिइँदैन ।’

नेकपा (माओवादी केन्द्र)ले पुस ११ देखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलनको तयारी गरिरहेकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१