क्यानका ६ केन्द्रीय सदस्यकाे माग : खेलाडीमाथि गरिएको नियोजित कारवाही फिर्ता हुनुपर्छ

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानका केन्द्रीय सदस्यहरु छुम्बी लामा, ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका हुन् । नेपालमा सञ्चालन भएको ट्राइ–नेशन टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग उनीहरुले गरेका छन् ।

उनीहरुले क्यानले एकलौटी रुपमा खेलाडीमाथि कारवाही गरेको आरोप लगाएपनि लगाएका छन् । पत्रकार सम्मेलनमा क्यानका सदस्य ऋषिराम गौतमले धेरै पटक असहमतिहरु जायर गरेपनि क्यानले आफूहरुको कुरा नसुनेको बताए । बहुमतको बलमा खेलाडीमाथि नियोजित रुपमा नै कारवाही गरिएको उनकाे भनाइ छ । आइसिसिबाट पूर्ण रुपमा प्रतिबन्ध फुकुवा नहुँदै क्यान अर्को विवादमा फस्न लागेको उनले बताए । त्यस्तै अन्य सदस्यहरुले धनगढीमा पुस दोस्रो साताका लागि तय भएको वार्षिक साधारण सभाको वैधानिक्ता माथिनै प्रश्न उठाएका छन् ।

यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रलाई पदमुक्त गर्दै २०२१ को सुरुआती ६ महिना केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय लिएको थियो । यस्तै क्रिकेट टोलीको कप्तानीमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।

‘नेपाल क्रिकेट संघ विधि र पद्धतिअनुसार चलोस्, आर्थिक कारोबारलगायत विधानमा उल्लेख भएअनुसार पारदर्शी ढंगले कार्य योजनाअनुसार सञ्चालन होस् भन्ने हाम्रो मान्यता हो। यदि संघमा त्यसो हुन सकेको छैन भने सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षणसमेत गराउँदछौँ। साथै नेपालमा सञ्चालन भएको ट्राई नेसन टी–२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरूलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहाेस् भिडियाे :

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१