जनकपुर । प्रदेश २ को नामाकरणका लागि चारवटा प्रस्ताव पेस भएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा ‘मधेस प्रदेश’, ‘जानकी’, ‘मध्यमधेस’ र ‘मिथिला भोजपुरा’ गरी चारवटा नामका लागि प्रस्ताव पेस भएका हुन् ।
सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले ‘मधेस प्रदेश’ नाम प्रस्ताव गरेका हुन् भने यसमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको हाे ।
जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका हुन् । यसमा विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले समर्थन जनाएकी हुन् ।
कांग्रेसले ‘मिथिला भोजपुरा’ नाम प्रस्ताव पेस गरेको छ । कांग्रेसका तर्फबाट सांसद शिवचन्द्र चौधरीले प्रस्ताव पेस गरेका हुन् । कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले ‘मध्य मधेस’ प्रदेश प्रस्ताव पेस गरेका छन् ।
यसैगरी सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीका कानुन तथा प्रदेश मामिलामन्त्री प्रमाेद यादवले प्रदेशको नाम ‘जानकी प्रदेश’ प्रस्ताव पेस गरेका छन् ।