एमसीसी नेपालको हितमा छ, सित्तैमा आएको पैसा हो : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवशेनको उद्घाटन समारोहमा बोल्दै कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसी राष्ट्रघाती भन्नेलाई एकपटक पढ्न सुझाव पनि दिए । आफू पनि राष्ट्रवादी भएको भन्दै राष्ट्रघाती काम गर्न आफूलाई आवश्यक नरहेको उनकाे भनाइ थियाे ।

‘एउटा कुरा बोल्नै पर्ने भयो । एमसीसी राष्ट्रघाती-राष्ट्रघाती भन्या छन्, सम्झौता पढ्या छ कि छैन थाहा छैन,’ प्रधानमन्त्री देउवाले भने, ‘कहाँ छ एमसीसी राष्ट्रघाती ? म पनि प्रधानमन्त्री हो, राष्ट्रघाती काम गरुँला ? राष्ट्रघाती सन्धि गरौँला ? पहिला पढ्नुहोस्, अनि छलफल गर्नुस् ।’

देउवाले थपे, ‘एमसीसी नेपालको हितमा छ । सित्तैमा आएको पैसा हो, सित्तैमा आएको पैसा चाहिन्न भन्छन् । राम्रोसँग बुझ्नुपर्‍यो ।’ उनले एमसीसीलाई अघि बढाउनका लागि छलफल भइरहेको पनि बताए ।

उनले सत्ता गठबन्धन कुनै दलको विरोध गर्नका लागि नभएको जिकिर गरे । देउवाले संसद बचाएर। यसलाई पूर्व अवधि चलाउनका गठबन्धन निर्माण भएको बताए । उनले अब संसदलाई कसैले भंग गर्न नसक्ने उल्लेख गरे ।

उनले गठबन्धनलाई चूनावपछि पनि निरन्तरता दिन तयार रहेको बताए ।

उनले संविधानसभाको चूनावमा प्रचण्डको भूमिका निकै महत्वपूर्ण रहेको बताए । समावेशी समानुपातिक आधार रहेको नेपालको संविधान बनाउनका लागि पनि प्रचण्डको भूमिका रहेको उनकाे भनाइ थियाे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१