• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

पृथ्वी जयन्तीलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझाको माग

काठमाडाैं । विवेकशील साझा पार्टीले राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’का रूपमा मनाउन सरकारसँग माग गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गरी विवेकशील साझाले राष्ट्रिय एकता दिवस (पुस २७) लाई नेपाल दिवसका रूपमा मनाउन सरकारसँग माग गरेको हो । उसले राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती खेदजनक भएकाेसमेत उल्लेख गरेकाे छ ।

‘राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भनी हामीले विगतमा गरेको मागलाई पुनः दोहोर्‍याउँछौँ,’ साझाका प्रवक्ता शरदराज पाठकले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो ।’

साझा पार्टीले नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्न पनि माग गरेको छ । ‘नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गरियोस् र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि दोहोर्‍याउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।