काजकिस्तानका राष्ट्रपतिद्धारा मन्त्रिपरिषद् विघटन गरी संकटकाल घोषणा

काठमाडाैं । काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रिपरिषद विघटन भएको घोषणा गरेका छन् । मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले बुधबार मन्त्रिपरिषद् विघटन गरेका हुन् ।

विद्युतको मूल्य बृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरु भइरहेका थिए । उनले देशको सबैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा संकटकाल लागू गरिएको घोषणा पनि गरेका छन् ।

संकटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीहरुको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्विकृत गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेबारी सम्हाल्नेछन् ।

आन्दोलन दबाउनका लागि सरकारले मंगलबार अल्मातीमा अश्रुग्यास प्रहार गरेको थियो । सरकारले घोषणा गरेको संकटकाल यही जनवरी ५ देखि १९ सम्म कायम रहने छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१