काठमाडौँ । युक्रेनको राजधानी किभमा भएको ड्रोन आक्रमणको जवाफस्वरूप रुसले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत ठूलो हवाई आक्रमण गरेको छ ।
आइतबार करिब पाँच घण्टासम्म चलेको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आक्रमणका कारण शहरका विभिन्न स्थानमा आगलागी हुनुका साथै भवनहरूमा व्यापक क्षति पुगेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणमध्ये एक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत विनाशका तस्बिर सार्वजनिक गर्दै रुसले किएभतर्फ करिब ४० वटा विभिन्न प्रकारका क्षेप्यास्त्र प्रहार गर्नुका साथै १२० वटा ड्रोन आक्रमण गरेको जानकारी दिएका छन् ।
युक्रेनी अधिकारीहरूका अनुसार रुसले इस्कान्दर–एम र जिरकोन हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरेको थियो । स्थानीय समयअनुसार राति करिब साढे एक बजे हवाई आक्रमणको साइरन बज्नासाथ हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएको थियो । त्यसको केही मिनेटमै लगातार विस्फोटका आवाज सुनिन थालेका थिए । राजधानीको ऐतिहासिक केन्द्रका घरहरू शक्तिशाली विस्फोटले हल्लिएका थिए भने सडकमा पार्क गरिएका सवारीसाधनका सुरक्षा घण्टीसमेत बज्न थालेका थिए ।
अधिकारीहरूका अनुसार एक घण्टाभित्रै दर्जनौँ क्षेप्यास्त्र शहरका विभिन्न क्षेत्रमा खसेका थिए । बिहान करिब साढे ६ बजे पुनः हवाई आक्रमणको चेतावनी जारी भएपछि शहरका विभिन्न भागमा फेरि विस्फोट भएका थिए ।
आक्रमणका क्रममा मध्य किएभस्थित शेभचेन्किभ्स्की जिल्लाको तीनतले भवनमा भीषण आगलागी भएको थियो । उद्धार टोलीले भग्नावशेषमा फसेका धेरैलाई सुरक्षित बाहिर निकालेको छ भने एक जनाको शव फेला परेको छ । यसबाहेक शहरका अन्य चार स्थानमा कार्यालय, आवासीय भवन र एक छात्रावासमा पनि आगलागी भएको जनाइएको छ ।
आक्रमणका बेला लुक्यानिभ्स्का मेट्रो स्टेशनमा आश्रय लिएका नागरिकहरूले सार्वजनिक गरेका दृश्यमा शक्तिशाली विस्फोटका कारण स्टेशनको प्रवेशद्वारको छानाको एक भाग भत्किएको देखिएको छ। सुरक्षाका कारण उक्त स्टेशन अस्थायी रूपमा बन्द गरिएको छ ।
किभ सैन्य प्रशासनले प्रारम्भिक विवरणअनुसार एक जनाको मृत्यु भएको पुष्टि गरेको छ। शहरका प्रमुख विताली क्लिच्कोले कम्तीमा सात जना घाइते भएको बताएका छन् ।
रुस र युक्रेनबीच २०२२ फेब्रुअरीदेखि पूर्णस्तरको युद्ध जारी छ । दुवै पक्षले दैनिकजसो एकअर्कामाथि हवाई तथा ड्रोन आक्रमण गर्दै आएका छन् । राष्ट्रपति जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षा क्षमता सुदृढ बनाउन पश्चिमी मुलुकसँग थप सहयोग तथा अमेरिकी प्याट्रियट अवरोधक क्षेप्यास्त्र उपलब्ध गराउन आग्रह गर्दै आएका छन् ।
यसअघि शनिबार युक्रेनी ड्रोन आक्रमणमा मस्को र ताम्बोभ क्षेत्रका विद्युतीय व्यापारसम्बन्धी गोदामहरूमा आक्रमण हुँदा आठ जनाको मृत्यु भएको थियो । जेलेन्स्कीले ती आपूर्ति केन्द्रहरू ड्रोन निर्माण तथा प्रतिबन्धित उपकरणका पुर्जा आपूर्तिमा प्रयोग भइरहेको दाबी गरेका छन् ।