स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने एमालेकाे निर्णय

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकले बैशाखभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नका लागि सम्पूर्ण शक्तिका साथ सरकारलाई दवाव दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिन देशव्यापी अभियान चलाउनका लागि जनसंगठनलाई निर्देशन दिने निर्णय गरेको उनले बताए ।

त्यस्तै, उनले पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गर्ने र आवश्यक परे प्रधानमन्त्रीसमक्ष हाइलेभन डेलिगेशन जाने निर्णय भएको उनले बताए । केन्द्रीय कार्यालय बैठकले आसन्न स्थानीय निर्वाचनमा पार्टीका सम्पूर्ण मातहत कमिटीहरुलाई तयारीमा जुट्न निर्देशन दिएको भट्टराईले बताए ।

बैठकले सचिवालय बैठकमा पेश गर्ने एजेण्डा पनि तय गरेको छ । राष्ट्रियसभा निर्वाचनको मत परिणामलाई हेर्दा एमालेको मतसंख्या बढेको र गठबन्धनको औचित्य नरहेको देखिएकाले यसको समीक्षा सचिवालय बैठकमा गर्ने निर्णय भएको छ । त्यस्तै, १६ जिल्ला बाहेकका जिल्लामा भएको अधिवेशनले पार्टीलाई व्यवस्थित गर्ने काम भएको भन्दै बैठकले प्रदेश कमिटीको निर्वाचनका सम्बन्धमा पनि सचिवालयमा छलफल गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए ।

त्यस्तै, बैठकले पार्टी विधान अन्तर्गत रहेर पार्टी संचालका लािग नियमावलीलाई अगाडी बढाउनुपर्ने भएकाले नियमावलीको ड्राफ्ट सचिवालय बैठकमा पेश गर्ने निर्णय गरेको छ । जनसंगठन परिचालनको निर्देशिका , आर्थिक निर्देशिकालगायत पार्टीका आन्तरिक कामलाई व्यवस्थापन गर्नका लागि भएका कामहरुलाई सचिवालयको बैठकमा प्रस्तुत गर्ने निर्णय भएको भट्टराईले बताए । एमाले विधानमा महासचिव नेतृत्वको केन्द्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१