राजनीतिमा सक्रिय, लोकगायक खत्री

काठमाडौं । लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनिसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । गाएन क्षेत्रमा लोकप्रियता कमाए जस्तै राजनिति क्षेत्रमा विकास र सामाजिक रुपान्तरणमा योगदान दिई सक्रिय भएर लाग्ने वताए । “पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, कुनै पार्टीमा विचार÷आस्था जोडिइसकेपछि नेतृत्व मै रहेर काम गर्नु उचित ठानेँ”, उनले भने ।

राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनको भनाइ छ । आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा सँधै क्रियाशील भएर लाग्ने उनले बताए । गलकोट–७ मल्ममा जन्मिएका उनी यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य रहेर काम गरेका थिए ।

उनी विसं २०७४ को स्थानीय तहका निर्वाचनमा सोही पार्टीको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिससमेत भएका थिए । लोकसङ्गीत क्षेत्रमा रुचाईएका गायक÷सर्जक खत्रीले सयौँ गीतमा स्वर दिएका छन्् ।शब्द रचना र भाका निर्माणमा पनि उनी उत्तिकै पोख्त छन् । उनले गीतकामार्फत विकृति, विसङ्गती, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठान गर्दै आएका थिए । उनका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’ र ‘जम्मु कश्मिरमा’ लगायत गीतहरु असाद्यै चर्चित छन् ।

माओवादी केन्द्र्रले नगर समितिका अध्यक्षतामा तिलक उप्रेती, उपाध्यक्षमा खत्रीसहित गङ्गा भुजेल, ललित श्रीस, सचिवमा चन्द्रदत्त रेग्मी, सहसचिवमा भीम विश्वकर्मा र कोषाध्यक्षमा कौशिला घर्तीमगरलाई चयन गरेको छ ।

ज्येष्ठ सदस्य आत्मराम शर्माका अध्यक्षतामा बसेको बैठकले पदाधिकारीको टुङ्गो लगाएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारी दिए । पैंसठ्ठी सदस्यीय नगर समिति गत मङ्सिरमै सर्वसम्मत निर्वाचित भएपनि पदाधिकारी चयन दुई महिनापछि बल्ल भएको हो । आकाङ्क्षी बढी भएपछि अध्यक्षलगायत पदाधिकारीमा सहमति जुट्न सकेको थिएन । रासस

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१