एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा

काठमाडाैं । प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आइतबार अपराह्न बालुवाटार पुगेका हुन् ।

गत असार २९ गते नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बनेका थिए । यही दिन नै ओलीले बालुवाटार छाडेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ ।

उनीहरुबीच अमेरिकी सहयोग परियोजना (एमसिसि), स्थानीय निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको बालुवाटारले जनाएको छ । यसअघि गत पुस २४ गते प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुगेका थिए । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री देउवा बालकोट पुगेको करिब एक महिनापछि एमाले अध्यक्ष ओली बालुवाटारमा छलफल गर्न तयार भएका हुन् । एमालेको अवरोधका कारण सङ्घीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१