काठमाडाैं । उत्तर कोरियाले साइबर हमलाबाट दशौँ लाख डलर बराबरका क्रिप्टोकरेन्सी चोरेको एक संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले जनाएको छ ।
आफ्नो क्षेप्यास्त्र कार्यक्रमको खर्च जुटाउनका लागि सन् २०२० र सन् २०२१ को मध्यसम्ममा साइबर हमलाबाट उत्तर कोरियाले पाँच करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरेको अनुसन्धानकर्ताले जनाएका छन् ।
प्रतिवेदनमा साइबर हमला प्योङ्याङको आणविक क्षेप्यास्त्र कार्यक्रमका लागि ‘महत्त्वपूर्ण आर्थिक स्रोत’ भएको उल्लेख छ ।
उक्त प्रतिवेदन शुक्रवार संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धसम्बन्धी समितिलाई बुझाइएको बताइएको बीबीसीले उल्लेख गरेकाे छ ।
साइबर हमलाका निशाना उत्तर अमेरिका, युरोप र एशियाका कम्तीमा तीन वटा क्रिप्टोकरेन्सी बजार रहेको बताइएको छ । याे अध्ययनले साइबर हमलाहरूबाट गत वर्ष मात्रै उत्तर कोरियाले ४० करोड डलरसम्म डिजिटल मुद्रा चोर्ने प्रयास भएको जनाएको छ ।
सन् २०१९ को संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले उत्तर कोरियाले दुई अर्ब अमेरिकी डलर साइबर हमलामार्फत आम विनाशकारी कार्यक्रमका लागि जम्मा पारेको अनुमान गरेको थियो ।