चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै राष्ट्रसंघीय कार्यालयलाई ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय एकता अभियानले चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै राष्ट्रसंघीय कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । एकता अभियानका अध्यक्ष विनय यादवले सोमबार काठमाडौंस्थित राष्ट्रसंघको कार्यालयमा पुगेर सूचना अधिकारी राजेन्द्रमान बेपानलीलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

नेपालमा चिनियाँ अतिक्रमण भएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उक्त ज्ञापनपत्र बुझाएको बताइएको छ । ज्ञापनपत्रमा भनिएको छ- एकता अभियानले नेपालको चिनियाँ अतिक्रमणविरुद्ध लगातार लोकतान्त्रिक र कानुनी तवरमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

ज्ञापनपत्रमा चीन अतिक्रमित भूमिबाट फिर्ता जानुपर्ने, अन्तर्राष्ट्रिय समुदायको निगरानीमा नेपाल र चीन सरकारले संयुक्त सीमा निरीक्षण गर्नुपर्ने र सबै सीमास्तम्भहरुको जीपीएस राख्दै यसको रेकर्ड दुबै सरकार र अन्तर्राष्ट्रिय समुदायले राख्नुपर्ने मागसमेत गरिएको छ ।

उक्त ज्ञापनपत्रमा काठमाडौंस्थित अमेरिकी दूतावास, नेपालस्थित युरोपियन युनियनका प्रतिनिधि, काठमाडौं रुसी दूतावास, चिनियाँ दूतावास र भारतीय दूतावासलाई यसको बोधार्थ पठाइएको छ । सरकारले यसअघि हुम्ला जिल्लामा नेपाल चीन सीमा क्षेत्रलाई लिएर गत वर्ष उत्पन्न भएको विवादबारे गृहमन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा अध्ययन गर्न समिति गठन गरेको थियो । उक्त समितिले अध्ययन प्रतिवेदन गृहमन्त्रालयलाई बुझाएको छ ।

उकत प्रतिवेदनमा चिनियाँ पक्षले सीमा अतिक्रमण गरेको उल्लेख गर्दै दुबै पक्ष मिलेर समाधान गर्नुपर्ने सुझाइएको थियो । उक्त प्रतिवेदन अहिले परराष्ट्र मन्त्रालयलमा थन्काइएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१