माओवादी केन्द्रीय समितिको बैठक प्रज्ञा प्रतिष्ठानमा बस्ने

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ ।

माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

बैठक बिहान ११ बजेदेखि सुरु हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवशेन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो । बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । महाधिवेशन सम्पन्न भएपछि बसेको पहिलो बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको थियो ।

पार्टी पदाधिकारीको टुङ्गो लगाउन भन्दै गत पुस २५ गते बैठक बोलाइएको भए पनि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी र केन्द्रीय नेतामा कोरोना सङ्क्रमण देखिएपछि बैठक स्थगन भएको थियो ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७