• २०८३ साउन १२
  • 2026 July 28, Tuesday

दक्षिण एसियाको इन्टरनेट पूर्वाधार सुदृढ गर्न APNIC र SANOG बीच साझेदारी

काठमाडौं । एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर APNIC र साउथ एसिया नेटवर्क अपरेटर्स ग्रुप SANOG बीच दक्षिण एसियाली क्षेत्रमा प्राविधिक क्षमता अभिवृद्धि गर्ने, सामुदायिक सहकार्यलाई प्रोत्साहन गर्ने र इन्टरनेटको विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा एक समझदारी MOU) भएको छ ।

समझदारीपत्रमा APNIC का डाइरेक्टर जनरल जिया रोङ लो र SANOG का अध्यक्ष रूपेश श्रेष्ठले हस्ताक्षर गरे । यो समझदारीले एउटा विश्वव्यापी, खुला, स्थिर र सुरक्षित इन्टरनेटको साझा अवधारणामा आधारित सहकार्यको ढाँचा तयार गरेको छ ।

समझदारीपत्रका सर्तअनुसार, APNIC र SANOG ले दक्षिण एसियाभरका नेटवर्क इन्जिनियर तथा अपरेटरहरूका लागि संयुक्त प्राविधिक तालिम र क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्न मिलेर काम गर्नेछन् । यी पहलहरूले क्षेत्रीय नेटवर्क सुरक्षा र सञ्चालन सहजतालाई मजबुत बनाउन आइपीभी६ (IPv6), रिसोर्स पब्लिक की इन्फ्रास्ट्रक्चर (RPKI) र रुट ओरिजिन भ्यालिडेसन (ROV) लगायतका महत्वपूर्ण पूर्वाधार प्रविधिहरूको प्रयोगलाई तीव्र बनाउनमा विशेष जोड दिनेछन् ।

ज्ञान आदानप्रदानलाई अझ प्रगाढ बनाउन यी संस्थाहरूले SANOG सम्मेलनहरूसँगै APNIC उप–क्षेत्रीय मञ्चहरू आयोजना गर्ने र प्रत्येक कार्यक्रममा पाँचवटासम्म निम्ता र दर्ता निःशुल्क गर्ने सुविधासहित आपसी सहयोग उपलब्ध गराउने योजना बनाएका छन् ।

यसका अतिरिक्त यो रणनीतिक सहकार्यले सक्रिय क्षेत्रीय सहभागितालाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । समझदारी अन्तर्गत SANOG ले APNIC को नीति निर्माण र सामुदायिक पहलहरूमा स्थानीय सहभागितालाई प्रोत्साहन गर्नेछ भने APNIC ले SANOG का कार्यशाला तथा कार्यक्रमहरूको स्तरवृद्धि गर्न दक्ष प्रशिक्षक र वक्ताहरू उपलब्ध गराउनेछ । दुवै संस्था लक्षित वर्ग, विषयवस्तु र क्षेत्रीय प्राथमिकताका हिसाबले समान उद्देश्यका साथ क्रियाशील छन् ।

यो औपचारिक समझदारीमार्फत दुवै संस्थाले क्षेत्रीय प्राविधिक समुदायहरूलाई जोड्ने, विश्वव्यापी इन्टरनेट गभर्नेन्समा दक्षिण एसियाली सहभागिता बढाउने र सबल डिजिटल पूर्वाधारको निरन्तर विकासमा सहयोग पुर्‍याउने लक्ष्य राखेका छन् ।

एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर ( APNIC ) अस्ट्रेलियाको ब्रिसबेनमा आधारित एक गैर–नाफामूलक संस्था हो । जसले एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय इन्टरनेट रजिस्ट्रीका रूपमा काम गर्छ । यसले आईपी एड्रेस बाँडफाँडको व्यवस्थापन गर्नुका साथै खुला, स्थिर र सुरक्षित इन्टरनेटलाई सहयोग पुर्‍याउन रजिस्ट्री सेवा, तालिम र शैक्षिक पहलहरू प्रदान गर्दछ ।

साउथ एसिया नेटवर्क अपरेटर्स ग्रुप काठमाडौंमा सचिवालय रहेको एउटा गैर–नाफामूलक क्षेत्रीय मञ्च हो । यसले प्राविधिक सहकार्य, ज्ञान आदानप्रदान र इन्टरनेट पूर्वाधारको विकासलाई प्रवर्द्धन गर्न दक्षिण एसियाभरका नेटवर्क अपरेटर, इन्जिनियर र उद्योग विज्ञहरूलाई एकै ठाउँमा ल्याउँछ ।