एमसीसी टेबल गर्न प्रधानमन्त्रीकाे प्रस्ताव, प्रचण्ड–माधवद्वारा अस्वीकार

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच एमसीसी र स्थानीय चुनावका साथै संसद बैठकका बिषयमा छलफल भएको बताइएको छ ।

एमसीसीसम्बन्धी विषय जटिल भइरहेका बेला तीन नेताबीच छलफल भएको हो । कांग्रेसले एमसीसीलाई संसदमा छलफल गरेर अनुमोदन गर्नुपर्ने पक्षमा छ भने माओवादी र नेकपा समाजवादी एमसीसी संशोधन गरेर अघि बढाउनुपर्ने पक्षमा छ ।

बैठकमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेका थिए ।

तर, प्रचण्ड र नेपालले प्रधानमन्त्रीको सो प्रस्तावलाई अस्वीकार गरेकाे बालुवाटार स्राेतले जनाएकाे छ ।

स्राेतका अनुसार प्रचण्ड र नेपालले एमसीसी संसद्मा टेबल गर्न अघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने कुरा राखेका थिए । स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने उनीहरुको धारणा छ ।

एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा लैजान अमेरिकाले दबाब बढाएको छ । एमसीसीका बिषयमा विवाद हुँदा संसद बैठकसमेत फागुन २ गतेसम्मका लागि स्थगित भएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१