गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पौडेलले अहिलेकै गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्ने दाबी गरेका छन् । उनले स्थानीय तहको निर्वाचनमा सरकारमा आवद्ध दलहरुबीच चुनावी गठबन्धन हुने जानकारी दिए । त्यस्तै उनले पार्टीको पदाधिकारी चयन छिटै हुने बताए । मन्त्री पौडेलले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे सबै दलमा एकमतको धारणा नभएको उल्लेख गरे । एमसीसीबारे राष्ट्रिय सहमति बनाउनुपर्ने उनको भनाई छ ।

मन्त्री पौडेलले सरकारले सार्वनिक शिक्षालाई सबैले ग्रहण गर्ने लक्ष्य लिएर सोहीअनुसार काम गरेको बताए । शिक्षक सेवा आयोगलाई क्रियाशिल बनाईएको र विभिन्न तहको लागि १८ हजार शिक्षकको नयाँ दरबन्दी सिर्जना गरेर परीक्षा तालिका सार्वजनिक गरेको पनि उनले बताए । मन्त्री पौडेलले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन सदनको अवस्था सहज हुनेबित्तिकै छलफलको लागि पठाउने पनि जानकारी दिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१