बतासको पक्षमा अदालतको अल्पकालीन आदेश, पशुपतिका धर्मशाला सञ्चालन नरोकिने

काठमाडौं । पशुपतिका धर्मशाला सञ्चालन नराेक्न सरकारलाई अदालतले अल्पकालीन आदेश दिएकाे छ ।

धर्मशाला सञ्चालन गर्न रोक लगाउने सरकारको निर्णयविरुद्ध बतास समूहले दायर गरेको रिटको सुनुवाइ गर्दै अदालतले सरकारलाई धर्मशाला संचालन नरोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएको हाे ।

उच्च अदालत पाटनले २०७६ वैशाख ३० मा भएको सम्झौता अनुसार धर्मशाला संचालनमा रोक नलगाउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि बतास समूहले संचालन गर्दै आएको होटल आनन्द प्रालिले गौशालाका धर्मशाला संचालन गर्ने सम्झौता गरेर चलाउँदै आएकोमा केही समयअघि पर्यटन मन्त्रालयले होटल आनन्द प्रालिसँगको सम्झौता रद्द गरेको थियो । त्यसविरुद्ध होटल सञ्चालकले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अदालतले बतास समूहले मागेको अन्तरिम आदेश दिन मिल्ने हो वा होइन बन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई फागुन ९ गते झिकाउन आदेश समेत दिएको छ ।

अदालतले विपक्षीहरुका नाममा आफैं उपस्थित भएर, आफ्ना कानुन व्यवसायीमार्फत वा सरकारी निकायको हकमा सरकारी वकिल कार्यालयमार्फत बाटोको म्यादबाहेक १५ दिनभित्र जवाफ पेश गर्न पनि आदेश दिएको छ ।

सम्झौताविपरीत सञ्चालन गरेको भन्दै पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा धर्मशालमा होटल सञ्चालन गर्न बतास समूहले पाएको इजाजत खारेज गरिएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१