बानेश्वरमा चार घण्टा जे देखियाे… (ब्लग)

मंगलबार बसेकाे नेपाली कांग्रेसकाे संसदीय दलकाे बैठकले बुधबार एमसीसी सदनमा पेश गर्ने निर्णय गरेकाे समाचार सञ्चारमाध्यममा पढेकाे थिएँ । मंगलबार अफिसबाट घर फर्कने बेलामा साँझ नेकपा माओवादीका भ्रातृ संगठनलगायतले एमसीसीकाे विराेधमा नेपाल बन्दकाे आयाेजना गरेकाे समाचार पनि पढेकाे थिएँ ।

बुधबार बिहान बानेश्वरमा संसद भवन घेराउ गर्ने माओवादीका भ्रातृ संगठनकाे अर्काे सूचना पाएकाे थिएँ । बिहानैदेखि नेपाल बन्दकाे प्रभाव खासै देखिएकाे थिएन । बन्दबारेकाे समाचार हेरिरहेकाे थिएँ । सञ्चारमाध्यममा पनि बन्दकाे खास प्रभाव नपरेकाे खबर आइरहेका थिए ।

राजेश शर्मा

बिहान १० बजे खाना खाएर सामाखुशीबाट बानेश्वर अफिसका लागि निस्किएँ । अफिस पुग्नासाथ एकछिनमा एकजना साथी (हिमाल शर्मा) लाई लिएर बानेश्वर चाेकतिर लागेँ । माओवादीकाे भ्रातृ संगठनहरुकाे विराेध प्रदर्शन सुरु भइसकेकाे थियाे । क्यामेरा निकालेर तस्बिर तथा दृश्य कैद गरिरहेकाे थिएँ । एकैछिनमा भीड एकदमै बढी भयाे ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजिरहेका थिए । प्रदर्शनकारीहरुकाे उग्र रुप लिएपछि एकैछिनमा झडपकाे स्थिति सिर्जना भयाे । प्रहरीकाे सहयाेगमा निरन्तर भिडियाे तथा फाेटाे खिचिरहेकाे थिएँ । झडपका क्रममा प्रहरीले पानीका फाेहाेरा हान्न थाल्याे । पानीकाे फाेहाेरा हान्न थालेपछि प्रदर्शनकारीहरु तितरवितर भए । प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि ढुंगा तथा इट्टाका टुक्राहरु बर्षाइरहेका थिए ।

यही क्रममा केही प्रदर्शनकारीहरु घाइते भए । केही प्रदर्शनकारीहरुलाई प्रहरी पक्राउ पनि गर्‍यो । हामी निरन्तर अपडेटमा थियाैँ । एकैछिनमा प्रदर्शन केही मथ्थर भएकाे थियाे । प्रदर्शनकारीका तर्फबाट केही वक्ताहरु बाेलिरहेका थिए । केही भने एमसीसीकाे विराेधमा चर्काे नाराबाजी पनि गरिरहेका थिए ।

प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरिरहेकाे थियाे । यही क्रममा मेराे साथी हिमाल शर्मा पनि समातिन पुगे । पत्रकार भएकाे जानकारी गराइरहँदा पनि प्रहरीले भ्यानमा हाल्न लागिरहेकाे थियाे । पत्रकार भएकाे जानकारी र परिचयपत्र हेरेपछि साथीलाई प्रहरीले छाेडिदिए ।

संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ दल र माओवादीका भ्रातृ संगठनले प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको थियो । झडपका केही प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएकाे दृश्य आफ्नै क्यामेरामा पनि कैद भएकाे थियाे । दर्जनाैँ प्रदर्शनकारी पक्राउ परेका थिए ।

बिहान ११ बजेदेखि सुरु भएको एमसीसी विरुद्धको प्रदर्शनका कारण अशान्त रहेको बानेश्वर क्षेत्र करिब ४ घण्टापछि अहिले भने शान्त भएकाे छ ।

हेर्नुहाेस् तस्बिर/भिडियाे :

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७