एमसीसीमा कुरा मिलेन भने गठबन्धन भत्किन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीमा कुरा नमिले गठबन्धन भत्किने बताएका छन् ।

प्रतिनिधिसभाकाे बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै थापाले भने- ‘हाम्राबीचमा कुरा मिलेर हामी सँगै हिँड्न तयार भएर नै गठबन्धन बनेको हो । अब हाम्रो कुरा मिल्दैन, सँगै हिड्न सक्दैनौँ भने गठबन्धन पनि रहँदैन ।’

सत्तारुढ गठबन्धनका केही दलले कांग्रेससँग छलछामपूर्ण व्यवहार गरेको पनि थापाले आराेप लगाए । उनले भने- ‘एमसीसीको भारी कांग्रेसलाई बोकाउने प्रयास गठबन्धनभित्रै भएको छ । एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ । हामीलाई छलछाम गरौँला भन्ने कुरा गठबन्धनको पार्टी वा प्रतिपक्षले पनि नसोचे हुन्छ । अब एमसीसीको मुद्दाको छिनोफानो नगरी कांग्रेस बस्दैन ।’

उनले संसदसँग एमसीसी पारित गर्ने, फेल गर्ने वा खारेज गर्ने अधिकार रहेको भन्दै संसदबाट निकास दिन सबै दल तयार हुनुपर्ने पनि बताए ।

महामन्त्री थापाले गठबन्धनको विकल्प खोज्नेगरी प्रयत्न नभएपनि एमसीसीका नाममा लामो समय अलमल गर्ने अवस्थामा कांग्रेस नरहेको पनि जानकारी गराए ।

उनले संसद सुचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षीसँग पनि छलफल थालेको भन्दै फागुन ८ गतेको गठबन्धन बैठकसम्म निष्कर्ष निस्कने विश्वाससमेत व्यक्त गरे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१