• २०८३ जेठ २२
  • 2026 June 05, Friday

बास्काेटाकाे ब्यंग्य : ‘जस्केलाबाट जन्मेको नक्कली पार्टीको फाइँफुइँ आजदेखि सकिन्छ’

काठमाडाैं । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमसीसी प्रकरणमा नेकपा एकीकृत समाजवादीको ‘फाइँफुइँ’ आइतबारदेखि सकिने भनी ब्यंग्य गरेका छन् ।

‘जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइॅंफुइॅं पनि आजबाट धुलीसात् हुने भएछ’, बास्कोटाले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्, ‘मन्त्रीहरूले भोट हाल्ने, नेताहरूले बहिष्कार गर्ने। समाजवादी कायदा !’

प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता टेबल गर्न दिन एकीकृत समाजवादी सहमत भएको छ । शनिबार बसेको उसको स्थायी कमिटी बैठकले जस्ताको तस्तै एमसीसी पारितमा आफ्नो सहमति नरहे पनि छलफलका लागि यो संसदमा पेस गर्न भने अवरोध नगर्ने निर्णय गरेको हो ।

यसैलाई कटाक्ष गरी पूर्वसञ्चारमन्त्रीसमेत रहेका एमाले नेता बाँस्कोटाले नाम नलिईकन एकीकृत समाजवादीलाई ‘जस्केलाबाट आएको नक्कली पार्टी’को उपमा दिँदै यसको ‘फाइँफुइँ’ आजबाट समाप्त हुने टिप्पणी गरेका हुन् ।

यसअघि एकीकृत समाजवादीले एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शनसमेत गरेको थियो ।