• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पोखराका सडक असिनाले सेताम्मे, जनजीवन प्रभावित

कास्की । पोखरामा आइतबार दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेको छ ।

पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो । फागुनको पहिलो सातामै परेको असिनाले हिउँदे र बेमौसमी तरकारी तथा थन्काउने बेलाको आलुमा नोक्सानी पुगेपछि कृषक मर्कामा परेका छन् ।

पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, नयाँबजार, सिर्जनाचोक, रानीपौवालगायतका क्षेत्रका सडकमा बाक्लो असिनाका कारण यातायात सञ्चालनमा कठिनाइ भएपछि एक्साभेटरको सहायताले असिना हटाएर यातायात सहज बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सडकमा असिना जमेर गाडी गुड्न अप्ठ्यारो भएपछि प्रहरीले असिना हटाउन सुरु गरेको हो । असिना पानीले सडक अवरुद्ध हुँदा चालक र पैदलयात्रु सडकमै रोकिन बाध्य भएका थिए ।

असिनाका कारण हिउँदे बाली तथा काउली, बन्दा लगायतका तरकारी र कौसी खेतीमा क्षति पुर्‍याएको महानगर कृषि विकास महाशाखाले जनाएको छ । महानगरका वडा नं १८, २०, १६, २५, २२, १४ लगायत कृषि उत्पादन बढी हुने क्षेत्रका कृषक असिनाबाट पीडित बनेका छन् ।

पोखरामा अघिल्ला वर्षहरुमा पनि ग्रामीण क्षेत्रमा बाक्लो असिना पर्ने गरेको थियो । बजार क्षेत्रमा भने वर्षौँपछि बाक्लो असिना परेको बताइएकाे छ । रासस